‘एक थोपा पानी खाएर बाँचिन्छ, तर राष्ट्रिय स्वाभिमान बेचिन्न’

भक्तपुर, ५ मङ्सिर । विज्ञान तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले वर्तमान सङ्कटमा देशको राष्ट्रिय स्वाभिमान बेचिने गरी कुनै सम्झौता नहुने बताएका छन् । सिवर्ड इन्टरनेसनल कलेज, ठिमीले यहाँ आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा उनले राष्ट्र, राष्ट्रियता, देशको स्वाधीनता र सार्वभौमिकतामा आँच आउने कुनै पनि कुरामा सरकारले सम्झौता नगर्ने बताए । “हिमालबाट आएको एक थोपा पानी खाएर पनि बाँच्न चाहन्छौँ तर राष्ट्रिय स्वाधीनता बेच्न चाहदैनौँ र बेच्दैनौँ”–मन्त्री पासवानले भने, “राष्ट्रिय स्वाभिमानलाई कायम राख्दै हामी हाम्रो देशभित्रको समस्या समाधान गर्छौ, यसमा सरकार लागिरहेको छ ।”

अब सबै नेपालीले घर घरमा साइकल चलाउने र घरघरमा धुँवारहित चुलोको प्रयोग गर्ने अभियान चलाउनुपर्नेमा जोड दिँदै मन्त्री पासवानले घर घरमा सौर्यऊर्जाको व्यवस्था गरेर उज्यालोमैत्री शिक्षाको व्यवस्था गर्न सरकार लागिपरेको बताए । उनले आफ्नो मन्त्रालयले विज्ञान, प्रविधि र वातावरण शिक्षामा विद्यावारिधि गर्न विदेश जानेलाई निःशुल्क शिक्षाको व्यवस्था गर्न लागेको जानकारी पनि गराए ।

उनले आन्दोलनरत मधेसकेन्द्रित दललाई लक्ष्य गर्दै भने, “वार्तामा बसेर समस्याको समाधान खोजौँ, तर वार्तामा नबस्ने र सधैँ जनतालाई दुःख दिने काम अति भयो भने तपाईँहरुको मति बिगे्रको सावित हुनेछ, हाम्रो होइन ।” सो अवसरमा उत्कृष्ट विद्यार्थी दीपेन्द्र थापा, सन्जुपिला श्रेष्ठ, अन्य विद्यार्थी दीक्षा बाँस्कोटा, रीना महतो र कलेजका पूर्वविद्यार्थी जिना प्रजापति, मीरा प्रजापति, जिनु प्रजापति र अनामिका प्रजापति तथा गायक अविनाश घिसिङलाई सम्मान गरिएको थियो । रासस

You Might Also Like