स्मृति दिवसमा स्वर सम्राट नारायण गोपालको सम्झना

काठमाडौं, १९ मङ्सिर ।

‘आँखा छोपी नरोउ भनी भन्नु पर्‍या छ,
मुटुमाथि ढुङ्गा राखी हाँस्नुपर्‍या छ……।’
‘म त लालीगुराँस भएँछु …… वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु ……’

यी र यस्ता सयौँ गीतलाई कर्णप्रिय स्वरले सिङ्गारेका नारायण गोपाल गुरुवाचार्यको आज २५औँ स्मृति दिवस मनाइयो । विसं १९९६ मा काठमाडौँको किलागलमा बुबा आशा गोपाल र आमा रामदेवी गुरुवाचार्यको सन्तानका रुपमा जन्मनुभएका नारायण गोपालले आफ्नो जीवनभर करिब एक हजारभन्दा बढी गीतको रेकर्डिङ गराए । उनि सबैभन्दा सफल तथा ख्यातिप्राप्त नेपाली गायक हुन् ।

यस अवसरमा आज आयोजित कार्यक्रममा नारायणगोपाल सङ्गीत कोषले यस वर्ष वरिष्ठ सङ्गीतकारद्वय हरिप्रसाद रिमाल र शम्भुजित बाँस्कोटालाई जनही २५ हजार रुपैयाँ नगदसहित सम्मान गरेको थियो । वरिष्ठ सङ्गीतकार एवम् नारायण गोपालका साथी अम्बर गुरुङले उनिहरुलाई सम्मान गरेका छन् ।

नारायण गोपालले गाएका गीत नेपाली चलचित्र र नाटकमा पनि प्रयोग भएका छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित प्रसिद्ध मुनामदनको गीतिनाट्यमा पनि उनले स्वर भरेका छन् । उनलाई सङ्गीतका शिरोमणिभन्दा फरक पर्दैन ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजित बाँस्कोटाले नारायणगोपाललाई सम्झना गर्ने आफूसँग कुनै शब्द नै नभएको बताउछन् । उनि भन्छन् – “एउटा आकाशलाई कसरी हेरिन्छ, धर्तीलाई कसरी हेरिन्छ त्यसरी नै नेपाली सङ्गीत क्षेत्रमा उहाँलाई हेरिनुपर्छ, सङ्गीत क्षेत्रको पारखी र नेपालको सङ्गीत क्षेत्रलाई जिउँदो बनाउन उनको ठूलो योगदान छ ।”

गीत–सङ्गीतलाई साहित्यमा ढालेर क्रान्ति गर्नुपर्छ भन्ने मान्यता नारायण गोपालमा रहेको थियो । नारायणगोपालले गाएका गीत–सङ्गीत कालजयी छन् ।

गीतसंगीत समीक्षक प्रकाश सायमीले नारायण गोपालको युगलाई स्वर्णीम युगको सङ्ज्ञा दिए । नारायणगोपाल एक विशिष्ट आवाजका धनी भएकाले उहाँको आवाजलाई नयाँ पिँढीले अगाडि ल्याउनुपर्नेमा जोड दिए । नारायण गोपालको आवाज राष्ट्रिय क्षेत्रमा मात्र नभई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत गर्व गर्न सकिने बताए । नारायण गोपालकै कारण आफू नेपाली सङ्गीत क्षेत्रमा प्रवेश गरेको उनले उल्लेख गरे ।

मञ्चमा गीत गाउनुअघि नारायण गोपालले कमरेड पुष्पलाल श्रेष्ठको चुनावी अभियानमा ‘जनताको सरकार, हाम्रो नेता पुष्पलाल’ भन्ने गीत गाएका थिए । उनलाई नेपाल सङ्गीत आकाशका धु्रवताराका रुपमा पनि चिनिन्छ ।

नारायणगोपाल सङ्गीत कोषका उपाध्यक्ष पुष्प चित्रकारले सङ्गीत क्षेत्रमा परिवर्तन ल्याउनुपर्छ भन्ने सोच भएका व्यक्तिका रुपमा नारायण गोपाललाई चित्रित गर्छन्  । उनले भने – “नारायणगोपाल प्रतिभामा जेठो कान्छो हुँदैन भन्ने मान्यता राख्ने व्यक्ति थिए ।” चित्रकारले नारायण गोपालको शिक्षादीक्षा र क्षमता राम्रो रहेको बताए ।

नारायण गोपालले आफ्नै क्षमता र योग्यताले सांस्कृतिक संस्थानको महाप्रबन्धक तथा बागिना पत्रिकाको सम्पादकसमेत भएका थिए । पछिल्लो समयमा नारायणगोपालले सूचना तथा सञ्चार मन्त्रालयमा सल्लाहकार भएर पनि काम गर्नुभएको थियो । उनले रेडियो नेपालमा थुप्रै गीत रेकर्ड गराए ।

सङ्गीत कोषका महासचिव उषा शेरचनले आफ्नै स्वभाव र आफ्नै जीवनशैलीका कारण नारायण गोपाल प्रतिष्ठित व्यक्ति भएको उल्लेख गरे । हरेक वर्ष नारायणगोपाल कोषबाट गरिने सम्मानका लागि प्रभु बैंकले आर्थिक सहयोग गर्दै आइरहेको छ । यस वर्ष बैंकले रु ५१ हजार सहयोग प्रदान गरेको थियो । रासस

You Might Also Like