पाँच सय वर्ष पुरानो मूर्ति चोरी

 

भक्तपुर, ३ पुस । महानगरीय प्रहरी वृत्त थिमि नजिकै रहेको मध्यपुरथिमि नगरपालिका–११ दिगुटोलस्थित दिगु भैरव मन्दिरको ५०० वर्षभन्दा पुरानो भैरवको मूर्ति चोरी भएको छ ।

थिमिका बासिन्दाले कुल देवताका रुपमा पुज्दै आएको दिगु भैरव अर्थात् चन्द्र भैरव मन्दिरको सुनको जलप भएको ढलोटको करिब १.५ फि अग्लो र करिब ६ किलो तौल भएको मूर्ति गए राति चोरी भएको हो ।

मन्दिर अगाडिका बासिन्दा अर्जुन श्रेष्ठले मूर्ति चोरी भएको राति करिब ३ बजे थाहा भएलगत्तै प्रहरीलाई खबर गरिएको बताउनुभयो । फलामको दुई चेन गेटको ताला फोडेर चोरी भएको देखिएको छ ।

अक्षय तृतीयादेखि सिठी नखसम्म यहाँका बासिन्दाले पूजा गर्ने सो मन्दिरमा वैशाख १ गते पूजा गरेर साधना नगरी बालकुमारी जात्रासमेत सञ्चालन गर्न नपाइने प्रचलन छ ।

त्यसैगरी गए राति नै मध्यपुरथिमि–१४ स्थित गणेश मन्दिर पछाडि सञ्चालन भइरहेको नवाह ज्ञान महायज्ञमा सङ्कलित चन्दा बाकसको रकम समेत चोरी भएको छ । रासस

Loading...

You Might Also Like