म्याग्दी जिल्लाका २१ गाविसमा ताररहित इन्टरनेट सुविधा विस्तार

म्याग्दी (बेनी), ३ पुस । छवटा गाविसलाई समेटेर बेनी नगरपालिका घोषणा गर्नुअघि यहाँका ४१ गाविसमा इन्टरनेट सुविधा विस्तार भएको र बाँकी गाविसमा पनि यो प्रविधि विस्तारका लागि सर्वेक्षण सुरु गरिएको जिविसले जनाएको छ ।

इन्टरनेट जडान गरिएका ठाउँमा क्षमता विस्तार तथा मर्मत र नयाँ ठाउँमा विस्तारका लागि फ्रि वाइफाई जिल्ला योजना सञ्चालन गर्न लागिएको स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले बताउनुभयो ।

राम्चे, हिस्तान, शिख, घार, नारच्याङ, दाना, भुरुङ तातोपानी, दोवा, बेग, भगवती, भकिम्ली, पात्लेखेत, झीँ, पाखापानी, कुहूँ, निस्कोट, दरवाङ, चिमखोला र बिममा ताररहित प्रविधिको इन्टरनेट सुविधा विस्तार भइसकेको छ ।

हाल बेनी नगरपालिकामा समावेश गरिएका साविकको घतान र अर्थुङ्गेमा पनि ताररहित इन्टरनेट सुविधाको पहुँच पुगिसकेको जिविसले जनाएको छ ।

जिल्लाका सबै गाविसमा ताररहित इन्टरनेट सुविधा उपलब्ध गराउन भौगोलिक, प्राविधिक र लागत सर्वेक्षणको काम भइरहेको जिविसका आइसिटी स्वयंसेवक प्रवीण पौडेलले बताउनुभयो ।

ताररहित इन्टरनेट सुविधाका कारण ग्रामीण क्षेत्रका बासिन्दाको आधुनिक प्रविधिमा पहुँच बढेको छ भने उनीहरुले देश–विदेशमा सर्वसुलभरुपमा सञ्चार सम्बन्ध स्थापित गर्न पाएका छन् । रासस

You Might Also Like