राजनीतिक नेतृत्वमा त्याग र निष्ठाको खडेरी

काठमाडौँ, ६ पुुस । राजनीतिककर्मी र इतिहासकारले वर्तमान राजनीतिक नेतृत्वमा त्याग र निष्ठाको कमी रहेको औँल्याउनुभएको छ ।

नेपाली काँग्रेसका पूर्वसहमहामन्त्री एवम् मन्त्री रामनारायण मिश्रको ४९औँ स्मृति दिवसका अवसरमा बिपी सङ्ग्रहालय सुन्दरीजलले आज यहाँ आयोजना गरेको कार्यक्रममा वक्ताले वर्तमान राजनीतिक नेतृत्वमा त्याग र निष्ठाको कमी हँुदै गएकामा चिन्ता व्यक्त गर्नुभयो ।

काँग्रेसका केन्द्रीय सदस्य रामकृष्ण ताम्राकारले राजनीतिक नेतृत्वमा मुलक र जनतालाई भन्दा म र मेरो भन्ने भावनालाई केन्द्रमा राखी राजनीतिक गर्ने प्रवृत्ति पार्टीभित्र हाबी हुँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । स्व मिश्रको त्याग र निष्ठाको राजनीतिक एवम् सबैलाई समान व्यवहार गर्ने प्रेरणाले आफू राजनीतिमा होमिएको स्मरण गर्दै नेता ताम्राकारले अहिलेको राजनीतिक नेतृत्वले घरको समस्या सुल्झाउन नसक्दा र छिमेकीसँगको सम्बन्ध सुधार्न नसकेका कारण मुलुकले अहिलेको समस्या भोग्नुपरेको बताउनुभयो ।

 

पूर्वराज्यमन्त्री सुशीलमान शेरचनले पार्टीमा गुटगत प्रवृत्तिको हाबी हुँदै गएकामा चिन्ता व्यक्त गर्दै पैसाको बलमा टिकट किन्ने विकृतिको अन्त्य हुनुपर्ने बताउनुभयो ।

सङ्ग्रहालयका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतले प्रजातन्त्रका लागि अतुलनीय योगदान गर्नुभएका मिश्रको राजनीतिक योगदानको विस्तृत रुपमा चर्चा गर्नुभयो ।

सङ्ग्रहालयका सदस्यसमेत रहनुभएका राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष कुलचन्द्र वाग्लेले मिश्रको आदर्श, निष्ठा र त्यागको उच्च प्रशंसा गर्दै मुलुकको राष्ट्रिय एकता बलियो बनाउन उहाँले दिएको प्रेरणा सबैले आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सङ्ग्रहालयका अध्यक्ष परशुराम पोखरेल, पूर्वसहायकमन्त्री झलकनाथ वाग्ले र काँग्रेस नेता इन्द्रबहादुर गुरुङले वर्तमान राजनीतिक नेतृत्वमा आदर्श, निष्ठा र त्यागको खडेरी परेकामा चिन्ता व्यक्त गर्नुभयो ।

विसं २०१७ मा काँग्रेसका संस्थापक नेता एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालासँगै उहाँको नेतृत्वको सरकारका मन्त्री गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सूर्यप्रसाद उपाध्याय, मिश्र, जमानसिंह गुरुङ, दिवानसिंह राई, योगेन्द्रमान शेरचन र प्रेमराज आङ्देम्बेले सुन्दरीजल बन्दीगृहमा लामो समय बिताउनुभएको थियो । रासस

You Might Also Like