रु दुई करोडको मह उत्पादन

honey mahaम्याग्दी, १९ माघ । जिल्लामा मौरीपालन व्यवसाय विस्तार हुँदै गएपछि यसबाट कृषकले मनग्य आम्दानी गर्न थालेका छन् ।

गत वर्ष जिल्लामा करिब रु दुई करोड बराबरको मह उत्पादन भएको छ । आव २०७१÷७२ मा जिल्लामा २३ हजार १०० किलो मह उत्पादन भएको कृषि विकास कार्यालयका बागबानी विकास अधिकृत भोजबहादुर थापाले जानकारी दिनुभयो । घारमा उत्पादन हुने मह प्रतिकिलो रु ८०० देखि रु एकहजार सम्ममा बिक्री हुने गरेको छ ।

सेरना जातको मौरीपालन गर्दै आएका यहाँका कृषकले उत्पादित मह जिल्लाको भम्रणमा आएका पर्यटकले कोसेलीको रुपमा लैजाने गरेका छन् । जिल्लामा हाल कुल चार हजार ६२० वटा मौरीघारमा मौरिपालन हुँदै आएको छ । “परम्परागत मौरीपालन प्रविधिलाई आधुनिकीकरण गराउन प्रविधि प्रसार र उपकरण बर्सेनि सहयोग गर्दै आएका छौँ” थापाले भन्नुभयो । कार्यालयले गत आवमा २०० वटा आधुनिक मौरीघार अनुदानमा कृषकलाई उपलब्ध गराएको थियो ।

“थोरै लगानीले मनग्य आम्दानी हुने भएपछि कृषक मौरीपालनतर्फ आकर्षित भएका छन्” बागबानी विकास अधिकृत थापाले भन्नुभयो । जिल्लामा २५० बढी कृषक मौरीपालनमा आवद्ध छन् । ज्यामरुकोट, कुहुँ, बरङ्जा, भकिम्ली, पिप्ले, मौवाफाँट, भगवती, घतान, पात्लेखेत, डडुवा, पुलाचौर, चिमखोलालगायतका क्षेत्र मौरीपालनको लागि मुख्यक्षेत्र मानिन्छन् । रासस

You Might Also Like