गायनमा पबिता परियार

pabita pariyar

2nd_anni_usnepalonline_pabita0968परियारलाई बाल्यकालमा कहिलेदेखि गाउन थालेको भन्ने हेक्का छैन । विद्यालयस्तरमा अध्ययन गर्दागर्दै कक्षा ५ मा हुँदा पहिलोपटक स्टेज शो गरेको याद छ, तर गीतको बोल भने भुलिसकेको बताउँछिन् उनी । नेपालको उदयपुर जिल्लाको गाईघाटमा जन्मेकी पविता एसएलसीसम्मको अध्ययन पूरा गरेपछि संगीत पढ्नकै लागि काठमाडौं पुगेको अनुभव सुनाउँछिन् ।

पछिल्लो समय अमेरिकी डायस्पोराको गायन क्षेत्रमा उदाउँदै गरेकी गायिका परियार २०५७ सालतिर जमलमा रहेको डोरेमी संगीत पाठशालामा संगीतज्ञ गुरुदेव कामतसँग संगीत शिक्षा लिन आर्जन गरेको अनुभव सुनाउँछिन् । कामतसँग संगीत सिक्दै गर्दा नै पविताले गायन क्षेत्रमा व्यावसायिक पाइला बढाउन थालिसकेकी थिइन् । पछि बागबजारस्थित पीके क्याम्पसमा संगीतलाई मूल विषय बनाएर उच्च शिक्षा अध्ययनकै क्रममा उनी वैवाहिक जीवनमा प्रवेश गरिन् । गायिका पविता भन्छिन्– ‘मेरो मागी विवाह भएको हो ।’ पविताले विवाहपश्चात् भने गीत गाउने रहरलाई तिलाञ्जली दिनुपरेको बताइन् ।


पविताको श्रीमान् तथा उनको परिवारलाई गीत गाएको मन नपर्ने भएकाले मनले नमानेर पनि केही वर्ष गीत गाउन छाडेको स्मरण गर्दै उनले भनिन्– ‘गीतप्रतिको लगावकै कारण ९ वर्षअगाडि अमेरिका आएँ ।’ अमेरिका आएपछि भने पविताको सांगीतिक जीवनले नयाँ मोड लियो ।

अमेरिकामा रहँदा पविताले न्यूयोर्कको ज्याक्सन हाइटका नेपाली रेष्टुरेन्टमा गजल गाएर लामो समय बिताइन् । न्यूयोर्कका नेपाली रेष्टुरेन्टमा गजल गाएर गुजारा चलाउनु सम्भव नभएकै कारण उनलाई बेबी केयरको जागिर खानु बाध्यता थियो । एकातर्फ गायन, अर्कोतर्फ बेबीकेयरको जागिर । उनी न्यूयोर्कको व्यस्ततामा रमाउँदै अगाडि बढिन् । समयक्रमसँगै पविता अमेरिकाको ग्रीनकार्ड होल्डरसमेत बनिन् । न्यूयोर्क, ज्याक्सनहाइट्सका नेपाली रेष्टुरेन्टमा पविताको स्वरमा रमाउने गजलपारखीहरुको संख्या बढ्न थाल्यो । उनको व्यस्तता चुलिंदै गयो । अमेरिकाको विभिन्न राज्यमा आयोजना हुने सांगीतिक कार्यक्रममा सहभागिता जनाउन पवितालाई भ्याइनभ्याई हुन थाल्यो ।

हिजोआज पविता रेष्टुरेन्टमा गजल गाउन भ्याउँदिनन् । उनको गायनयात्राले कोल्टे फेरिसकेको छ । महिनाभरि नै पविता अमेरिकाका विभिन्न राज्यमा गीत गाउनकै लागि उडिरहेकी हुन्छि
न् । कहिले क्यालिफोर्निया, कहिले कोलोराडो, कहिले न्यूयोर्क त कहिले न्यूजर्सी, पविताको दैनिकी बनेको छ । यसै महिना पविताले पहिलो पल्ट अमेरिकाबाट आधुनिक गीतहरुको संग्रह रहेको गीतिएल्बम ‘दीप’लाई सार्वजनिक गरेर थप चर्चा बटुलिन् । गीता खत्रीको एकल रचना तथा पविताको एकल गायन रहेको एल्बम दीपमा हरि लम्साल, जयकुमार परियार र एस कुमारले संगीत भरेका छन् ।

नेपालमा रहेका हरि लम्साल, जयकुमार र एस कुमारसँग टेलिफोन वार्ताको भरमा गीतमा ट्युनिङ गरेको भरमा गीत रेकर्ड गरेर चार वर्षको लामो प्रयासपश्चात् गीति–एल्बम दीपलाई सार्वजनिक गर्न सकेको यथार्थ पविताले सुनाइन् । यसअघि अमेरिकामा पहिलोपटक तीजको गीतको एल्बम निकालिसकेकी पविताको एकल गायन रहेको आधुनिक गीति–एल्बम दीप नै पहिलो हो । अमेरिकामा रहेर पनि नेपालमा बनेका दुई नेपाली चलचित्र ‘बाटोमुनिको फूल–२’ र ‘आधी बाटो’का गीतमा पनि उनले आफ्नो कर्णप्रिय स्वर दिएकी छन् । यी दुई चलचित्रका गीतले पविताको गीत गायनको करियरमा थप उचाइँ प्रदान गरेको छ ।

अमेरिका आएपछि नेपालबाट श्रीमान्लाई पनि झिकाएर अमेरिकामा स्थापित गराउने कार्यमा पनि पविताले ठूलै योगदान दिएकी थिइन् । यद्यपि, नेपालमा रहँदाको समयमा जस्तै अमेरिकामा पनि श्रीमान्सँग गायनकै विषयमा कुरा नमिलेपछि अलग हुनुपर्ने बाध्यता आइपरेको उनले बताइन् । संगीतका लागि नै आफू सिंगल बनेको खुलासा पनि पविताले गरेकी छन् । यस कुराले सधैं मनमा बिझाउने भए तापनि आफूले सही निर्णय लिएको पविताले भनेकी छन् । बाँचुञ्जेल गीत गाउने र गीत गाएरै मर्ने पविताको चाहना रहेको छ ।

You Might Also Like