भेरी नदीमा तुइनको सहयोगबाट यातायातका साधन वारपार

Screenshot_2016-05-22-11-54-10_1

जेष्ठ ९,- जाजरकोट डोल्पा सडकको तल्लुबगर स्थित भेरी नदीमा तुइनको सहयोगबाट यातायातका साधन वारपार गराउन थालिएको छ । जाजरकोटको तल्लुबगर र रुकुमको छहरीबगर विचको भेरी नदीमा तुइनको सहायताले जीप, ट्याक्टर लगायतका सवारी साधन वारपार गराइएको छ ।

सेनाको जाजरकोट-डोल्पा सडक निर्माण कार्य दल र रुकुम गोतामकोटका स्थानीयको संयुक्त सक्रियतामा तुइन निर्माण भएको हो । गोतामकोटका कमल थापा, यज्ञ खड्का, प्रकाश खड्का, दरीमान बस्नेत, यज्ञ जिएम लगाएत १३ जनाले गरेको १८ लाखको लगानीमा तुइन निर्माण भएको हो ।
भेरी नदीको वल्लो र पल्लो किनारमा बनाएको पिलरमा लठ्ठा झुण्ड्याएर घिर्नीको सहायताले एक पटकमा १ गाडी तारेको थापाले बताए । भेरी नदीमा पुल नहुँदा संयुक्त लगानीमा तुईन निर्माण गरेर गाडी तारेको उनले बताए ।
उक्त तुइन निर्माणमा नेपाली सेनाको विशेष सहयोग रहेको उनले भने । तुईनबाट जीप तारेको ६० हजार र ट्याक्टरको ८० हजार लिने गरेको थापाले बताए । ‘भेरीमा पुल निर्माण त के सर्भे डिजाईनको कुरा समेत आएको छैन,’ उनले भने । सेनाको कार्य दलले जाजरकोट र रुकुम खण्डमा सडक निर्माण पुरा गरे पनि भेरी नदी लगायतका अन्य खोलामा पुल नहुदा यातायात संचालन गर्न समस्या भएको थापाले बताए ।
भेरीमा पुल बन्ने अनिश्चित भएको र स्थानीयलाई आवजावत सास्ती हुने देखेरै केही समयका लागि अस्थायी तुइन निर्माण गरेको उनले बताए । घोडा खच्चड र स्थानीयलाई नदी वारपार गर्नको लागि ४० बर्ष पुरानो जीर्ण झुलुङ्गे पुल मात्र छ ।

सेनाले निर्माण गरेको छहरबिगर देखि मनकाबगर सम्मको १६ किलोमीटर सडकमा तत्काल यातायातका साधन सुचारु गरेर डोल्पा, जाजरकोट र रुकुमका बासिन्दाको सास्ती हटाउन गाडी तार्ने तुईनको निर्माण गरेको उनले बताए ।
तुईनबाट जाजरकोटको तल्लुबगरमा रहेका ३ जीप र ३ ट्याक्टर तारीएको छ । यस अघि रुकुमको राडीजिउला र जाजरकोटको मनमई बगर स्थित भेरी नदीमा पनि अस्थायी तुईनको निर्माण गरेर यातायातका साधन तारीएको थियो । उक्त तुईनबाट साधन तारेपछि मनमई देखि तल्लुबगरसम्म यातायात संचालनमा आएको थियो ।

You Might Also Like