डोटीमा अझै विद्यार्थीले पुस्तक नपाएको

डोटी,१७ जेठ ।

नयाँ शैक्षिकसत्र सञ्चालन भएको डेढ महिना बितिसक्दा पनि डोटीमा विद्यार्थीले अझै पुस्तक पाउन सकेका छ्रैनन् । निजी तथा सरकारी विद्यालयका विद्यार्थीले पाठ्यपुस्तक पाउन नसकेपछि चिन्तित बनेका छन् ।

सामुदायिक विद्यालयको कक्षा ६ र ७ का पुस्तक विद्यार्थीका हातमा पुग्न नसकेको शिक्षक बताउँछन् । खत्याडी उच्च माध्यमिक विद्यालय, चवराचौताराका प्रधानाध्यापक मन्धिरसिंह ठगुन्नाका अनुसार नयाँ शैक्षिकसत्र सञ्चालन भएको एक महिनाभन्दा बढी समय हुँदासमेत विद्यार्थीको हातमा पुस्तक पुगेको छैन ।

सामुदायिक विद्यालयतर्फका कक्षा ६ र ७ का धेरैजसो पुस्तक अभाव छ भने कक्षा ९ र १० को ऐच्छिक विषयको पाठ्ययपुस्तकसमेत विद्यार्थीले पाउन नसकेको प्रअ ठगुन्नाले बताउनुभयो ।

कक्षा ९ र १० को ऐच्छिक विषय, गणित, अङ्गे्रजी, शिक्षालगायतका विषयको पुस्तक अभाव रहेको हो । तर जिल्ला शिक्षा कार्यालय, डोटीका जिल्ला शिक्षा अधिकारी वसन्तकुमार खत्रीले भने डोटीका सबै विद्यालयमा पुस्तक पुगेको दाबी गर्नु भयो । यद्यपि उहाँले डोटीमा कति प्रतिशत पुस्तक नपुगेको हो भन्ने तथ्याङक नभएको स्विकार्नु भयो ।
कुनै कुनै विषयको कमी भए तापनि पाठ्यक्रम परिवर्तन नभएका कारण विद्यार्थीले पुराना किताब पढ्न सकिने खत्रीको भनाइ छ ।
शिवजी मावि मान्नाकापडीका प्राचार्य प्रकाश चन्दले ६ कक्षाका धेरै विद्यार्थीले पुस्तक नपाएको गुनासो गर्नुभयो । साथै उहाँले अघिल्लो वर्षको तुलनामा विद्यार्थी दर केही बढी भएकाले पुराना पुस्तक समेत विद्यार्थीले नपाएको बताउनुभयो ।

  • रासस

You Might Also Like