पहिरोको उच्च जोखिममा बैतडीका ४५ परिवार

बैतडी, १२ साउन । बैतडीको गोकुलेश्वर ३५ र सित्तडमा १० गरी ४५ परिवार पहिरोको उच्च जोखिममा परेका छन् । गोकुलेश्वर वडा नं ४, ६ र ९ का ३५ परिवार पहिरोको जोखिममा रहेको स्थानीयवासी राम नाथले जानकारी दिनुभयो ।

ahir

उहाँले भन्नुभयो, “२०४५ सालदेखि सो ठाउँमा पहिरो सुरु भएको र पहिरोले जमिन भास्ने क्रम बढ्दै गएको छ ।” पहिरोका कारण गाउँमा रहेको केदार निमाविलाई स्थानान्तरण गरिएको र विद्यालय भवन नै जोखिममा पारेपछि विद्यालय सार्नुपरेको नाथले बताउनुभयो ।

पहिरोका कारण धेरै जमिन नष्ट भइसकेको छ भने अझै पनि जमिन पहिरोको जोखिममै रहेको छ । यस्तै सो ठाउँका बासिन्दा पहिरोको उच्च जोखिममा रहेको उहाँले बताउनुभयो ।

सित्तड गाविस–५ डोलबस्ती पहिरोको उच्च जोखिममा रहेको छ । लगातार भएको वर्षाका कारण वस्ती नै पहिरोको जोखिममा परेको सित्तड स्वास्थ्य चौकीका प्रमुख नैन सिंह गोयलाले राससलाई जानकारी दिनुभयो । पहिलादेखि पहिरोको जोखिममा रहेको वस्ती वर्षाका कारण झन प्रभावित भएको छ उहाँले भन्नुभयो, “वस्तीमा रहेका सबै घर पहिरोको जोखिममा छन् ।”

दस घरपरिवार बस्दै आएकोमा डोलवस्तीको भित्रपट्टी कमेरोयुक्त माटो भएकाले जमिन भासिँदै गएको उहाँले बताउनुभयो । सो ठाउँका १५ परिवारले बसाइसराई गरिसकेको भए पनि कमजोर आर्थिक अवस्था भएका जोखिम मोलेर बस्न बाध्य भएको स्वास्थ्य चौकी प्रमुख गोयलाले जानकारी दिनुभयो ।

मङ्गलबारको वर्षाले बैतडी रौलेश्वर गाविस–६ मडमा घरमाथिबाट पहिरो खस्दा स्थानीय विष्णुदत्त भट्टको घरमा आंशिक क्षति पुगेको छ । पहिरोले भँैसीलाई चोट लागेको छ भने भट्ट श्रीमती पार्वती भट्टलाई पनि चोट लागेको छ । घर अझै पनि पहिरोको जोखिममा रहेको जनाइएको छ । यस्तै शिखरपुर गाविस–४ सेलामा रमेश साउदको पसल तलतिर पहिरो जाँदा पसल पहिरोको जोखिममा रहेको छ । गाउँमा आवतजावत गर्ने बाटो अवरुद्ध भएको छ ।

लगातारको वर्षाले बैतडीको रुद्रेश्वर गाविस–९ मा रहेको लटिनाथ प्रावी गिरेबगडको भवन भत्किएको छ । विद्यालयको चार कोठे भवन भत्किँदा विद्यालयका सबै सामग्री नष्ट भएको प्रधानाध्यापक नरेशराम कोलीले जानकारी दिनुभयो ।

विसं २०६५ मा गाविसको रु दुई लाखको लागतमा निर्मित भवन भत्किएपछि विद्यालयलाई समस्या भएको छ । प्रधानाध्यापक कोलीले भन्नुभयो, “भवनको पूरै छाना खसेपछि कोठाभित्र रहेका कागजपत्र, दराज, कुर्सी, बेञ्च सबै नष्ट भएको छ ।” कक्षा ५ सम्मको पढाइ हुने सो विद्यालयको भवन भत्किएपछि पठनपाठनमा समेत समस्या भएको उहाँले बताउनुभयो । रासस

You Might Also Like