विश्व बाघ दिवस – बाघका लागि उपयुक्त वासस्थान बन्दै चितवन राष्ट्रिय निकुञ्ज

चितवन, १४ साउन । नेपालले अन्तर्राष्ट्रिय रुपमा प्रतिबद्धता जनाएअनुरुप चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि भइरहेको छ । यहाँको उपयुक्त वासस्थान र चोरी सिकारी नियन्त्रण अभियान प्रभावकारी भएसँगै बाघको सङ्ख्यामा वृद्धि हुँदै गएको विज्ञहरुको भनाइ छ ।

tiger

सन् २०१० मा रसियाको सेन्ट पिटर्सवर्गमा भएको अन्तर्राष्ट्रिय बाघ सम्मेलनमा सन् २०२२ सम्ममा विश्वमा बाघको सङ्ख्या दोब्बर बनाउने बाघ पाइने राष्ट्रहरुले प्रतिबद्धता जनाएका थिए । त्यसैअनुरुप नेपालले पनि बाघको सङ्ख्या दोब्बर पार्ने प्रतिबद्धता जनाएको थियो ।

 

नेपालमा त्यतिबेलासम्मको तथ्याङ्कअनुसार १२५ को हाराहारीमा बाघ रहेको थियो । विश्वमा ७० वर्षअघि एक लाखको हाराहारीमा रहेको बाघ सन् २०१० सम्म आइपुग्दा तीन हजारमा झरेपछि दोब्बर बनाउन पहल थालिएको हो ।

 

बाघको सङ्ख्या नेपालमा सन् २०१३ मा आइपुग्दा १९८ पुगेको थियो । जसमध्ये सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा १२०, बर्दिया राष्ट्रिय निकुञ्जमा ५०, बाँके राष्ट्रिय निकुञ्जमा चार, पर्सा वन्यजन्तु आरक्षमा सात र शुक्लाफाँटा वन्यजन्तु आरक्षमा १७ बाघ रहेका थिए । त्यसपछिको तीन वर्षमा निकुञ्जले गरेका अनुगमनका क्रममा बाघको सङ्ख्या बढेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेल बताउनुहुन्छ ।

 

चितवन राष्ट्रिय निकुञ्जलाई विशिष्ट वासस्थानका रुपमा लिइन्छ । कँडेलले भन्नुभयो – “सबैखालको वातावरण भएको भू–भाग निकुञ्जमा छ । बाघका आहारा मुख्य रुपमा ठूला जनावर चित्तल, जरायो, गौरीगाई, नीलगाईलगायत हुन् ।” कँडेलका अनुसार भोकाएको बाघले करिब २२ पटकसम्म सिकारको प्रयासपछि जनावरको सिकार गर्ने गर्दछ । जसका कारण सानो जनावरले बाघलाई आहार पुग्दैन ।

 

कँडेलले भन्नुभयो – “८८ किलोसम्म बाघले एकै पटक खान्छ र सातदेखि १० दिनसम्म आराम गर्दछ ।” जसका लागि निकुञ्जमा प्रशस्त ठूला जनावर रहेका छन् । ३० हजार हाराहारी चित्तल, १० हजार हाराहारी जरायो, ३६८ वटा गौरीगाई, एक सय हाराहारी नीलगाई रहेको बताउँदै कँडेलले बाघका लागि पर्याप्त आहार निकुञ्जमा रहेको बताउनुभयो ।

 

निकुञ्जमा रहेका प्रशस्त पानीका स्रोत बाघ र उसको आहारका लागि उपयुक्त छ । निकुञ्ज हुँदै बग्ने नदी, खोला, तालतलैया, सिमसार क्षेत्रसँगै १० हजार हेक्टर घाँसे मैदान बाघ र बाघका आहाराका लागि उपयुक्त बन्दै गएको उहाँले बताउनुभयो ।

 

नदीतटीय वन जहाँ बाघले गर्मीमा शीतलता पाउँछ भने जाडोमा न्यानोका लागि निकुञ्जका प्रशस्त झाडी बाघले उपयोग गर्छ । चुरे पहाडदेखि समथर तराई हुँदै नदीका तटीय क्षेत्र बाघका लागि उपयुक्त वासस्थान हुन् ।

 

चितवन राष्ट्रिय निकुञ्जमा प्रशस्त पानीसँगै पहारिलो घाम लाग्ने घाँसे मैदान छन् । एउटा भाले बाघका लागि १० देखि १२ वर्गकिलोमिटर क्षेत्रफल चाहिन्छ । एक क्षेत्रमा एउटा मात्रै भाले बाघ बस्ने गर्छ । चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रफल ९३२ वर्गकिलोमिटर रहेको छ भने आसपासका मध्यवर्ती क्षेत्रको क्षेत्रफल ७५० वर्गकिलोमिटर रहेको छ । निकुञ्जमा मात्रै ७७ वटाभन्दा बढी भाले बाघ बस्न पुग्ने वासस्थान छ ।

 

चितवन राष्ट्रिय निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत शिवराज भट्ट चितवन राष्ट्रिय निकुञ्ज बाघका लागि उपयुक्त वासस्थान भएको बताउनुहुन्छ । निकुञ्जसँगै जोडिएका भारतको वाल्मीकि टाइगर रिजर्भ सेन्टर र पर्सा वन्यजन्तु आरक्ष पनि बाघका लागि निकै उर्वर भूम भएकाले यसको बीचमा रहेको चितवन राष्ट्रिय निकुञ्जले बाघको सङ्ख्या बढाउन र संरक्षणमा नयाँ रणनीतिका साथ जुट्नुपर्ने उहाँको सुझाव छ ।

 

चोरी सिकारी नियन्त्रण अभियानलाई निरन्तरता दिँदै मानव र बाघबीचको द्वन्द्व घटाउन सके बाघको सङ्ख्या अरु बढेर जाने भट्टको भनाइ छ ।

 

बाघको वासस्थान सङ्कुचन, वनको खण्डीकरण, चोरी सिकार, अवैध व्यापार, संस्थागत संरचनाको कमी, दक्ष जनशक्तिको अभाव, वैज्ञानिक खोज र अनुसन्धानको कमी, प्रभावकारी अनुगमनको कमी र अन्तरसीमासम्बन्धी समस्या पछिल्लो समय बाघ संरक्षणका चुनौतीका रुपमा देखिएका छन् ।

 

नेपालले सन् २०२२ सम्ममा २५० बाघ पु-¥याउने प्रतिबद्धतासँगै लक्ष्य लिएको छ । जसका लागि चितवन राष्ट्रिय निकुञ्जमा १४० बाघ पु-याउन सक्नुपर्ने र अन्य थोरै सङ्ख्या रहेका निकुञ्ज तथा आरक्षमा सङ्ख्या बढाउन सके लक्ष्यअनुरुप बाघको सङ्ख्या पु-याउन कठिन नहुने विश्व वन्यजन्तु कोषमा कार्यरत पूर्वप्रमुख संरक्षण अधिकृत भट्टको भनाइ छ ।

 

चितवन राष्ट्रिय निकुञ्जसँगै मध्यवर्ती क्षेत्रमा रहेका सामुदायिक वनमा पछिल्लो समय गरिएको संरक्षणका कारण पनि बाघको सङ्ख्या वृद्धिमा सहयोग पुगेको विज्ञहरुको भनाइ छ । बाघका लागि देशकै नमुना निकुञ्जका रुपमा विकास हुँदै गएको चितवन राष्ट्रिय निकुञ्जलाई मध्यवर्ती क्षेत्रका बासिन्दाको सहयोग निरन्तर रहेमा बाघको सङ्ख्या बढाउन कुनै कठिनाइ नपर्ने देखिन्छ ।

 

यस निकुञ्जमा गैँडा, पाटेबाघ, सोंस, गौरीगाई, काठे भालु, चितुवा, रतुवा, चित्तल, लगुना, जरायो, चौसिंगे, बाँदर र लङ्गुरलगायत ६० भन्दा बढी किसिमका स्तनधारी जङ्गली जनावर पाइन्छन् । यसैगरी घडियाल गोही, मगर गोही, अजिङ्गरलगायत सरिसृप तथा उभयचर, बसाइ सरी आएका र रैथाने गरी ५४६ भन्दा बढी जातका चराचुरुङ्गी र विभिन्न किसिमका किरा फट्याङ्ग्राहरू रहेका छन् ।

 

विसं २०३० मा यो निकुञ्ज स्थापना हुँदा नेपालमा वन क्षेत्र घटेर ३० प्रतिशतमा झरेको थियो । त्यसपछि क्रमशः वन क्षेत्र विस्तार अभियान सुरु भएपछि पुनः क्रमशः वन क्षेत्र बढ्दै गएको छ । रासस

Loading...
dupteswor

You Might Also Like