पहिरोले बझाङमा पाँच घर पुरिए, ८ घर जोखिममा

बैतडी, १५ साउन । लगातारको पानीसँगै पहिरो जाँदा बझाङमा शुक्रबार पाँच घर पुरिएका छन् भने आठ घर उच्च जोखिममा रहेका छन् ।
bs
जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार काँडा गाविस–४ चुकझाडमा पहिरो जाँदा स्थानीय बमबहादुर बोहरा, गोरे बोहरा, लालबहादुर बोहरा, मोहनबहादुर बोहरा र मीनबहादुर बोहराको घर पुरिएकोे बताउनुभयो ।

यस्तै पहिरोका कारण सोही ठाउँका राम बोहरा, जोगमल बोहरा, दलभान कामी, फुगे बोहरा, गिरी बोहरा, धुर्पु बोहरा र गिरी बोहराका घर उच्च जोखिममा परेको बताइएको छ ।

पहिरोबाट मानवीय क्षति भने नभएको खबर आएको प्रहरी नायब उपरीक्षक चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, “टेलिफोन सम्पर्क टुटेकाले घटनाबारे पछिल्लो जानकारी लिन सकिएको छैन ।”

चुकझाड गाउँमा १०५ परिवार बसोबास गर्दै आएका छन् । लगातार परेको वर्षाका कारण पहिरो जाने क्रम नरोकिएकाले गाउँ नै जोखिममा रहेको स्थानीय बासिन्दाले बताएका छन् ।

घटनाबारे थप बुझ्नका लागि प्रहरीको टोली घटनास्थलतर्फ गएको र त्यसपछि मात्रै विस्तृत विवरण आउने प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिनुभयो । घटनास्थल सदरमुकाम चैनपुरबाट तीन दिनको पैदल दूरीमा पर्छ ।

You Might Also Like