भारत पुगेर परराष्ट्रमन्त्री महतले भने, विगतको असमझदारीलाई भुलेर अघि बढौँ

भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रकाशशरण महतले विश्वासको वातावरण सहित नेपाल र भारतको सम्बन्धलाई अगाडि बढाउन चाहेको बताएका छन्।

आइतबार दिल्ली पुगे लगत्तै उनको सम्मानमा आयोजना गरेको रात्रीभोजमा बोल्दै महतले नेपालले विगतमा दुई देशबीच देखिएको असमझदारीलाई बिर्सेर विश्वासमा आधारित सम्बन्धको विकास गर्न चाहेको बताएका हुन्।

उनले नेपाल र भारतले बेलाबेला सम्बन्धमा देखा पर्ने बाधा, व्यवधान र चुनौतीलाई चिरेर अगाडि बढ्न आवश्यक रहेको बताए।

उनले आफू प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमणको तयारीको लागि दिल्ली आएको र भेटघाटको अवधीमा विविध विषयमा कुराकानी हुने बताए। उनले सम्बन्धलाई सुमधुर बनाउनको लागि उच्चस्तरको भेटघाट एउटा सुरुवात हुने भन्दै निरन्तर रुपमा वार्ता र कम्युनिकेसनको आवश्यकता रहेको बताए।

’हामी निरन्तर रुपमा संवाद र सञ्चारको माध्यमले विश्वास सहितको सम्बन्धको विकास गर्न सक्छौ,’ महतले भने। उनले अन्य देशको तुलनामा नेपालको संविधान निकै समावेशी रहेको समेत बताए। परराष्ट्रमन्त्री महतले केही असन्तुष्टीहरुलाई भने सम्बोधन गर्न नयाँ सरकार तयार रहेको बताए। जनता दल युनाइटेडका महासचिव केसी त्यागी भारतले नेपालको सन्दर्भमा विग ब्रदरको धारणालाई परिवर्तन गर्नुपर्ने बताए। उनले भारतले नेपालको सार्वभौमिकसत्ताको सधै सम्मान गर्नुपर्ने बताए।

You Might Also Like