पूर्व विशिष्ट पदाधिकारीलाई जथाभावी उपचार खर्च नबाँड्न अर्थ समितिको निर्देशन

काठमाडौँ, २९ भदौ : पूर्व विशिष्ट पदाधिकारीहरुलाई जथाभावी स्वास्थ्य उपचार खर्च नबाँड्न व्यवस्थापिका संसद अन्तर्गतको अर्थ समितिले सरकारलाई निर्देशन दिएको छ।

समितिको सिंहदरबारमा बुधबार बसेको बैठकले विशिष्ट व्यक्तिहरु जसले सार्वजनिक रुपमा म उपचार गराउनँ सक्दिनँ, भनेर भन्छ उनलाई मात्रै उपचार खर्च दिन निर्देशन दिएको हो।

यसैगरी समितिले सरकारले चालु आर्थिक वर्षमा ३ जिल्लामा नमूनाका रूपमा सञ्चालित स्वास्थ्य बिमा कार्यक्रमलाई राष्ट्रिय स्वरूप दिन निर्देशन दिएको छ। समितिले हरेक नागरिकको स्वास्थ्य बिमा गर्न पनि सरकारलाई निर्देशन दिएको छ। नमूनाको रुपमा तीन जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागू गरेपनि यो आर्थिक वर्षमा सरकारले २५ जिल्लामा योजना विस्तार गरेको छ। त्यसका लागि सरकारे २ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छ।

यसैगरी समिति सदस्यहरुले सबै सांसदहरुलाई सरकारी अस्पतालमै उपचार गर्न आग्रह गरेका छन्। यसैगरी समितिले सरकारलाई विशिष्ट व्यक्तिहरुलाई रकम दिँदा एकद्वार प्रणालीबाट मात्रै दिन निर्देशन दिएको छ। अहिले विभिन्न मन्त्रालयले आफू खुशी उपचार खर्च दिँदै आएकोमा अबदेखि स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयको रायमा मन्त्रिपरिषद्बाट निर्णय गराउन निर्देशन दिएको छ।

समिति सदस्यहरुले विशिष्ट व्यक्तिहरुले दोहोरो उपचार खर्च नलिन पनि आग्रह गरेको छ। विपन्न नागरिक औपधि उपचार निर्देशिका २०७१ ले तोके अनुसार मात्रै उपचार खर्च लिन समितिले आग्रह गरेको छ।

You Might Also Like