पुष्प व्यापारमा हौसिँदै महिला

sayapatri-flower

चितवनको भरतपुरमा उत्पादन गरेको सयपत्री फूल तिहारका लागि टिप्दै महिला । तस्वीर : नारायण ढुंगाना, रत्ननगर(चितवन), रासस

नारायण ढुंगाना

रत्ननगर चितवन, १४ कात्तिक ।

तिहारका लागि मलाई फूल चाहिया’थ्यो ।
कति चाहिएको नी रु
मलाई पाँचवटा माला र केही फूल ।
ए भैहाल्छ नी, आउनु न ।
थुङ्गाको कति पर्छ रु
अब थुङ्गा चाहीँ बेचेको छैन । माला एक सय पर्छ ।
हस्, म भोलि ४ बजे आउँछु है ।
हुन्छ ।

भरतपुरकी माला उत्पादक महिला गंगादेवी सापकोटासँग उपभोक्ता अम्बिका सापकोटाले गरेको वार्तालाप हो यो ।

भरतपुर–९ शरदपुर वेंडिचोकमा गंगा सापकोटाको सयपत्री फूलको खेती छ । एक हजार तीन सय विरुवा लगेर एक कट्ठा क्षेत्रफलमा उहाँले सयपत्री लगाउनुभयो । अहिले सहयत्री यहाँ लहलह भएका छन् । भारतीय सयपत्री फूललाई माथ गर्ने उत्पादन छ । थुङ्गा पनि असाध्यै राम्रा र आकर्षक छन् । उहाँले पोहोर लगाएको भन्दा दोब्बर फूल खेती गर्नुभएको छ ।

यतिखेर माला उनेर बिक्री गर्नमा उहाँ व्यस्त हुनुहुन्छ । परिवार नै यसमा लागेका छन् । ‘अहिले एउटा मालाको मूल्य एक सय छ,’ गंगाले भन्नुभयो – एकसय जति माला बेचिसकें । अझै बिक्री हुने क्रम जारी छ ।’ एक कठ्ठामा लगाएको मालाबाट यो तिहारमा ३०र४० हजार रुपैयाँ कमाउने योजना उहाँको छ ।

भरतपुरमा रहेको प्रभात दिदीबहिनी सहकारीबाट यसपालि मालाको विरुवा निःशुल्क पाएपछि उहाँको लागत पनि घटेको छ । उहाँजस्तै राधा भूसाल, विमला विक, मेनका पण्डितले पनि एक कठ्ठा जमिनमा नै सयपत्री फूलको खेती गर्नुभएको छ । उहाँहरुलाई पनि विरुवा निःशुल्क उपलब्ध भएको थियो ।

विगतमा तत्कालीन दिदिबहिनी सहकारीले न्यून मूल्यमा सयपत्री दिन्थ्यो । अहिले फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल चितवन समन्वय समितिले निःशुल्क बिरुवा दिएको हो । सयपत्री उत्पादन गर्नुभएकी राधा भूसाल पनि अहिले फूल टिप्न मै व्यस्त हुनुहुन्छ ।

भाँचिने डरले उहाँले अरुलाई फूल टिप्न दिनुहुन्न । ‘एक थुङ्गा फूलको ३ रुपैयाँ पर्छ,’ राधाले भन्नुभयो – ‘चार हजार रुपैयाँभन्दा बढीको बिक्री भैसक्यो, माग आइरा’छ ।’

राम्ररी लगाउन सकिए फूलखेती राम्रो हुने देखिएको राधा बताउनुहुन्छ । बजार राम्रो पाए फूल खेतीबाट दिदीबहिनीले राम्रो कमाउन सक्छन् भन्ने यहाँ देखिएको सहकारीकी उपाध्यक्ष नीता वाग्ले बताउनुहुन्छ ।

‘विस्तारै महिलाहरु व्यावसायिक खेतीमा लाग्न थालेका छन्,’ वाग्लेले भन्नुभयो – ‘यो पटकको बजार हेरेर अर्को वर्ष सहकारीमार्फत नै फूल खेतीलाई व्यावसायिक बनाउने योजना छ ।’

चितवनमा यसपालि सयपत्री फूलको उत्पादन राम्रो छ । फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल चितवन समन्वय समितिका अनुसार जिल्लामा करिव एक सय भन्दा बढी किसानले सयपत्री फूलको खेती गरेका छन् ।

त्यसमा अधिकाँश महिला छन् । चालीस हजार विरुवा जिल्लामा लगाइएको छ । ‘राम्रो उत्पादन भए सयपत्री फूलले जिल्लाको माग धान्छ,’ समितिका अध्यक्ष प्रकाश पन्तले भन्नुभयो । यसअघि जिल्लामा व्यावसायिक खेती कमै भएपनि यस पटक राम्रो रहेको उहाँ बताउनुहुन्छ ।

जिल्लाका करिव १५ हेक्टर जमिनमा फूल खेती हुन्छ । सयपत्रीको मात्रै फूल खेती करिव ३ हेक्टर जमिनमा भएको अनुमान छ । जिल्लामा माला उत्पादन नहुँदा अधिकांश माला भारतबाट आउँछ ।

आज लक्ष्मी पूजाको दिनदेखि नारायणगढको सब्जीमण्डीमा रहेको फूल बिक्री केन्द्रमा तिहारको माला बिक्री सुरु भएको छ । आजैदेखि भारतीय माला समेत आउँछन् । भारतबाट माला आउन नदिनेतर्फ कसैको ध्यान पुगेको छैन । जिल्लाको बजार क्षेत्रमा ४० देखि ५० हजार सम्म मालाको माग हुन्छ । यही उत्पादन गर्न सकिने देखिएपनि उपभोक्ताको ध्यान भारतीय मालामै बढी गएको देखिन्छ ।

जिल्लामै उत्पादन गर्न सके भारतीय माला विस्थापित गर्न हुनसक्ने फ्लोरिकल्चर एसोसिएसनको दाबी छ । यसका लागि पहिलो पूर्वाधार बजारको व्यवस्थापन हो ।

यो वर्ष पहिलो पटक भरतपुर ११ की मेनका पण्डितले ७०० सयपत्रीका बिरुवा लगेर रोप्नुभयो । अहिले उहाँले नसोचेको उत्पादन भएको छ । बजार उहाँलाई थाहा छैन । सौखमा फूल लगाउनुभएकी पण्डित भन्नुहुन्छ – ‘धेरै ठाउँबाट माग आउन थालेको छ । यो पटक राम्रो व्यापार भयो भने अर्को वर्ष २÷३ कट्ठामै लगाउने सोच बनाएकी छु ।’ खेर गएको जमिनमा यहाँका महिलाले फूलखेती गरेका छन् ।

जिल्ल्लामा करिव ४ मेट्रिक टन फूल उत्पादन हुने गर्छ । यसमा सयपत्री न्यून छ । कृषि विकास कार्यालय चितवनका बागवानी विकास अधिकृत तथा पुष्प खेती हेर्ने विज्ञ धनबहादुर थापा चितवनमा गर्न सके फूलखेती राम्रो हुने बताउनुहुन्छ । यस जिल्लामा अन्य फूलको समेत उत्पादन राम्रो छ ।

एक÷एक जनाले व्यक्तिगत रुपमा लगाउँदा बजारमा समस्या हुनसक्छ । त्यसैले अहिले सहकारीकै अगुवाइमा विभिन्न उत्पादनमूलक कार्यक्रम सुरु गरिएका छन् । त्यसमध्येको एक हो फूलखेती ।

‘बजार खोज्नदेखि लगाउनसम्म सहकारीले सहयोग गर्छ,’ प्रभात दिदीबहिनी सहकारीका सल्लाहकार डा कलयाणी मिश्र भन्नुहुन्छ । महिलाको आत्मविश्वास समेत बढाउन सहयोग गर्ने भएकाले आम महिलाको छहारी सहकारी भएको उहाँ बताउनुहून्छ ।

नेपालमै महिलाद्वारा सञ्चालित प्रभात दिदीबहिनी बचत तथा ऋण सहकारीले उत्कृष्ट ठहरिएर पुरस्कार समेत पाइसकेको छ । यसमा तीन हजार दुई सयभन्दा बढी महिना सदस्य भैसकेका छन् र पुँजी झण्डै रु १५ करोड पुगिसकेको छ ।

बजार व्यवस्थापन राम्रो भए आगामी दिनमा फूलखेतीमा समेत दिदीबहिनीहरुलाई लगाउने अगुवा शान्ति अधिकारी बताउनुहुन्छ । रासस

You Might Also Like