सिउँदो त पखालियो नै, श्रीमानको लास सम्म ल्याउन नसक्दा ब्याकुल बनिन् मधु

/f]huf/Lsf nflu ef/tsf] s]/nf uPsf 3f]8fufpF % /f]Nkfsf dw' s]=;Lsf] d[To'sf] va/ cfPkl5 sfhlsl/ofdf ;+nUg dw'sf dftflktf / @% jlif{of >LdtL . t:jL/ sljtf pkfWofo lnafª -/f]Nkf_

लिबाङ (रोल्पा), १० मङ्सिर । सुखी जीवन बिताउने सपना देखाएर विदेश गएका श्रीमानको लास पनि नपाउँदा घोडागाउँ–५ रोल्पाकी २५ वर्षीया मधु केसीलाई ठूलो बज्रपात परेको छ ।

/f]huf/Lsf nflu ef/tsf] s]/nf uPsf 3f]8fufpF % /f]Nkfsf dw' s]=;Lsf] d[To'sf] va/ cfPkl5 sfhlsl/ofdf ;+nUg dw'sf dftflktf / @% jlif{of >LdtL . t:jL/ sljtf pkfWofo lnafª -/f]Nkf_
वैदेशिक रोजगारीका लागि भारतको केरला पुगेका श्रीमान् गाडी दुर्घटनामा परी मङ्सिर १ गते मृत्यु भएको खबर सुनेसँगै बिहे गर्ने उमेरकी मधुका हातका चुरा फोरिएका छन्, निधारको टीका पुछिएको छ, शिरको सिन्दूर पखालिएको छ र गलाको पोते छिनिएको छ ।

आशौचबारेकी केसीलाई अझै पनि श्रीमान् मरेको भन्ने कुरामा विश्वास छैन । मर्नुभन्दा तीन दिनअघिमात्र श्रीमान्संग भएका भावी जीवनका मिठा फोन वार्ता अब मधुका लागि दिवास्वप्न मात्र बनेका छन् । “यही मङ्सिर १५ गते उहाँ घर आउने कुरा थियो मङ्सिर लागेकै दिन उहाँको मृत्यु भयो,” डाँको छोड्दै मधुले भनिन् ।

संयोग पनि अचम्मको १ मधुका श्रीमान्को नाम पनि मधु नै हो । आजभन्दा सात वर्ष पहिले खुंग्री–३ रोल्पाकी मधु विष्टले घोडागाउँ–५ रोल्पाका मधु केसीसँग प्रेम विवाह गर्नुभएको थियो । पारिवारिक रुपमा सामान्य नाता रहे पनि दुवैको इच्छाअनुरुप उहाँहरुको प्रेम विवाह सफल भयो । वैवाहिक सम्बन्ध पनि राम्रै चलेको थियो तर आर्थिक अभावका कारण नचाहेर पनि वृद्ध बाबुआमा र जवान श्रीमती घरमै छोडेर श्रीमान् मधु रोजगारीका लागि दुबई र भारत पुग्नुभएको देखिन्छ ।

विवाह बन्धनमा बाँधिएको करिब सात वर्ष बितिसकेको भए पनि श्रीमान्–श्रीमती दुई वर्षजतिमात्र सँगै बसेको स्मरण गर्दै मधुले भन्नुभयो – “दसैँमा घर आउँछु भन्नुहुन्थ्यो मैले नआउन भनेँ । दसैँभन्दा तिहारमा साथीभाइ देउसी भैलोको रमझम हुनेहुँदा तिहारमा आउने सल्लाह भयो । तिहारमा पनि कम्पनीले बिदा दिएन, मङ्सिरमा आउने बाचा थियो, दैवले टुटायो । यस्तो हुन्छ भन्ने थाहा पाएको भए बरु एकै छाक खाएर जीवन बिताउने थिएँ । घरबाट कहीँ निस्कन दिने थिइनँ ।” उहाँ पटक पटक भक्कानिनुभयो । रहेको गर्भ पनि फागुन महिनामा पतन भएपछि चिन्तित बनेकी मधुको जीवनमा फेरि अर्को ठूलो पीडा थपिएको छ । यतिबेला उहाँको काखमा न सन्तान छ न श्रीमान् नै ।

घोडागाउँ–१ रोल्पाका पूर्व शिक्षक खेमराज शर्माका अनुसार टेन्ट हाउसमा फलामसम्बन्धी काम गर्दै आएका मधु चढेको गाडीलाई कामबाट फर्कंदै गर्दा मालबाहक ट्रकले धक्का दिएपछि मङ्सिर १ गते गाडी नदीमा खसेको थियो । मङ्सिर ४ गते मात्र शव फेला प¥यो अनि गाउँबाट रोजगारीका लागि सँगै भारत निस्किएका मधुका साथीहरुले पैसा उठाएर ४ गते उनको दाहसंस्कार सम्पन्न गरेका छन् ।

अर्थाभावका कारण न त उहाँको परिवार लास लिन भारत पुग्न सक्यो न लास नेपाल ल्याउन नै । “योभन्दा ठूलो पीडा जीवनमा कसैलाई भोग्नु नपरोस्,” शर्माले भाबुक बन्दै भन्नुभयो । उहाँका अनुसार आश्रय लिएको छोरा मरेपछि केसी परिवारको बेहाल भएको छ । घरमा मृतककी ६० वर्षकी वृद्ध आमा र ६५ वर्षका वृद्ध बुबा हुनुहुन्छ ।
यस्तै, श्रीमती मधुका अनुसार श्रीमान् वैदेशिक रोजगारीका लागि यसअघि दुबई जाँदा लिएको ऋण अझै तिर्न बाँकी छ । कमाउने मान्छेको मृत्यु भएपछि परिवारलाई त्यो ऋण कसरी तिर्ने भन्ने बारेमा थप चिन्ता बढेको छ भने बाबुआमालाई पनि छोराको लास देख्न नपाएकामा विस्मात् छ । तीन भाइ छोरा जन्माएका मधुका बुबाआमा माइलो छोरा मृतक मधुसँगै बस्दै आउनुभएको थियो भने जेठो र कान्छो छोरा यसअघि नै छुट्टिएर भिन्न भइसक्नुभएको छ ।

जाने बेलामा श्रीमान्ले भनेका शब्दले आफूलाई सपनामा पनि झस्काउने गरेको विधवा मधु बताउनुहुन्छ । “राम्ररी घर व्यवहार चलाउनू, म बेलाबेलामा पैसा पठाउँदै गरुँला, बुबाआमाको ख्याल गर्नु केही वर्ष दुःख गरेर फर्किएँ भने जीवनभरि सुखले रमाउला” भनेर घरबाट हिँडेका श्रीमान् आउन करिब १५ दिन बाँकी रहेकै बेला मृत्युको खबर आयो ।
मृतक मधु केसी जस्तै रोल्पा जिल्लाबाट रोजगारीका लागि बाहिरिने ठूलो सङ्ख्याका रोल्पालीहरु कहाँ छन्, के काम गर्छन् त्यसको आधिकारिक तथ्याङ्क जिल्लामा कहीँ कतै फेला पर्न सकेको छैन । पखेटा उम्रेको चरीले गुँड छोडे झैँ जब आत्मनिर्भर बन्छन् तब सयौँको सङ्ख्याका रोल्पाली युवा रोजगारीका लागि देश छोड्न बाध्य छन् । गाउँ गाउँमा पुगेर हेर्ने हो भने धेरैजसो घरमा बालबालिका र वृद्धवृद्धा मात्र भेटिन्छन् । युवा जति सबै रोजगारीका लागि देश बाहिर भौँतारिरहेको अवस्था छ ।

जिल्ला प्रशासन कार्यालय रोल्पाको तथ्याङ्क हेर्दा यस आर्थिक वर्षको साउन महिनादेखि अहिलेसम्म एक हजार ५०० भन्दा बढी युवाले देश बाहिर जान भन्दै राहदानी बनाएका छन् । गएको एक वर्षमा छ हजार ८५७ जनाले राहदानी बनाएको राहदानी फाँटका खरिदार रमेशकुमार यादवले जानकारी दिनुभयो । उहाँका अनुसार विशेष गरी १६ देखि ४५ वर्ष उमेर समूहले राहदानी बनाउने गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माका अनुसार विधिवत् रुपमा विदेश गएको वैदेशिक रोजगार विभागमा अभिलेख राखिएको हुन्छ । तर आफूखुसी व्यक्तिगत रुपमा जानेको कुनै कतै अभिलेख हुँदैन । अझ भारत जान त खुल्ला सीमा छ, उनीहरु यता आएको तथा नेपालीहरु उता गएको कुनै अभिलेख राख्ने गरिँदैन । प्रजिअ शर्मा भन्नुहुन्छ – “युवा आफ्नै देशमा रोजगारी सिर्जना गरेर बस्नुपर्ने हो तर त्यसो हुन सकिरहेको छैन । युवामा देशमा केही गर्ने सोच छैन । दिनप्रतिदिन बाहिरिनेको लर्को छ । यो रोल्पाको मात्र नभई देशकै चिन्ताको विषय हो ।”

जिल्ला शिक्षा अधिकारी चिरञ्जीवी पौडेलका अनुसार युवाहरु वैदेशिक रोजगारीमा जाँदा उनीहरु कुन कामका लागि किन बाहिर जाँदैछु भन्ने कुरा नबुझी लहलहैमा लागेर बाहिरिने गरेका छन् । दोस्रो नेपालबाट बाहिरिने युवाले जतिसुकै दुःख पाए पनि नेपाल फर्केर दुःखको कुरा सुनाउँदैनन् केवल सुखका कुरा मात्र गर्ने भएको हुँदा यसले युवालाई बाहिर जान प्रेरित गरिराखेको छ । नेपालको शिक्षाले वैदेशिक रोजगारीभन्दा नेपालमै केही गर्न सकिन्छ भन्ने सन्देश दिन पनि सकिराखेको छैन ।

विसं २०६८ को तथ्याङ्कअनुसार जिल्लामा २३ हजार ३०० भन्दा बढी युवा अनुपस्थित रहेको देखिन्छ । पछिल्ला दिनमा रोजगारीका लागि जिल्लाबाट ९० प्रतिशतभन्दा बढी युवा मलेसिया, साउदी अरब, दुबई, भारतलगायतका देशमा जाने गरेका छन् ।
विद्यार्थी नेता निर्मल सुवेदीका अनुसार करिब २० वर्षदेखि देश सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ । देशको अस्थिर राजनीति पनि युवा विदेश पलायन हुनुको एउटा मुख्य कारण रहेको बताउनुहुन्छ ।

यसरी गरिबी र बेरोजगारीको समस्या समाधान गर्न राष्ट्र निर्माणको मूल खम्बा मानिएका ठूलो सङ्ख्याका युवा विदेश पलायन भइरहँदा पनि राज्य बेखबर बनिरहेको छ । युवाका लागि देशमै रोजगारी सिर्जना गर्न सकिए पक्कै पनि एउटा निर्दोष नेपालीले विदेशी भूमिमा मृत्युवरण गर्नुपर्ने थिएन । रासस

You Might Also Like