तराई , मधेशका विभिन्न जिल्ला बन्द, जनजीवन प्रभावित

 

सप्तरी, ११ फागुन । स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज मधेस बन्द गरी प्रदर्शन समेत गरेको छ ।

मोर्चाका कार्याकर्ताले राजविराज नगरपालिकाको भवनमा तोडफोड गरेका थिए ।

आज बिहानबाट प्रदर्शनमा उत्रिएका मोर्चाको नेता तथा कार्यकर्ताले बन्दको अवज्ञ गरेको भन्दै राजविराज नगरपालिकामा तोडफोड गर्नाका साथै ढुङ्गामुढा गरी कार्यकारी अधिकृत कोठाको झ्यालको सिसा फुटाएका छन् ।

सप्तरीको सदरमुकाम राजविराजबाट चल्ने लामो तथा छोटो दुरीको सवारी साधन आज बिहानदेखि चल्न दिएको छैन भने शिक्षण संस्था, कलकारखाना, उद्योग, बजार, पसलसमेत बन्द रहेको प्रहरीले जनाएको छ ।

स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको विरोध गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज एक दिन मधेस बन्द गरेका हुन् ।
जनकपुर
मधेसी मोर्चाको कार्यकर्ताले जनकपुरस्थित एमालेका नेता रघुवीर महासेठको घरमा ढुङ्गामुढा गरी तोडफोड गरेका छन् ।
आन्दोलनरत मोर्चाका कार्यकर्ताले गरेको ढुङ्गामुढाबाट महासेठको घरको दुईवटा झ्यालको सिसा फुटेको छ ।

नेता महासेठको घरमा तोडफोड भएपछि एमालेका कार्यकर्ताले प्रतिकार गर्दा भएको झडपमा परी मोर्चाका दुई कार्यकर्ता घाइते भएका छन् ।

घाइते हुनेमा सद्भावा पार्टीका राजु साह र कुलदिप साह रहेको र उनीहरुको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको जनाइएको छ ।

महासेठको घरमा तोडफोडलगत्तै व्यापक रुपमा प्रहरी परिचालन स्थितिलाई नियन्त्रणमा लिइएको छ ।


मधेस बन्दको क्रममा जनकपुरमा बिहानैदेखि मोर्चाका नेता कार्यकर्ताले मोटरसाइकलमा ¥याली प्रदर्शन गर्दै पसल, बजार, शैक्षिक संस्थान र यातायात ठप्प बनाएका थिए ।

यसैबीच मधेसी दल निकट विद्यार्थी मोर्चाले जनकपुरका क्याम्पसमा तालाबन्दी गर्दै स्ववियु चुनाव हुन नदिने घोषणा गरेको छ ।
सिराहा
लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको बन्दका कारण आज बिहानैदेखि सिरहाको जनजीवन प्रभावित भएको छ ।
बन्दका कारण बिहानैदेखि सवारी साधन पूर्ण रुपमा ठप्प हुनुका साथै पूर्व– पश्चिम राजमार्ग पनि सुनसान देखिएको छ । बन्दका कारण उद्योग कलकारखाना र पसल समेत बन्द रहेका छन् भने यातायातका साधन सडकमा नचल्दा यात्रु मर्कामा परेका छन् ।

जिल्लाको लहान, गोलबजार र मिर्चैयालगायतका राजमार्ग क्षेत्रमा मोर्चाका कार्यकर्ता बिहानैदेखि सडकमा उत्रिएका थिए । संविधान संशोधन नगरी निर्वाचनको मिति घोषणा गरेर सरकारले आफूहलाई धोका दिएको भन्दै मोर्चाले मधेस बन्दको आह्वान गरेको हो ।

पर्सा
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको एक दिने मधेस बन्दको कारण पर्साको जनजीवन प्रभावित भएको छ । बन्दकर्ताले बिहानैदेखि जिल्लामा रहेका उद्योग, व्यपार, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था, यातायातका साधन समेत बन्द गराएपछि जनजीवन प्रभावित भएको हो ।

बन्द आह्वानकर्ता बिहानैदेखि वीरगन्जको विभिन्न चोकमा टायरबाली लामो तथा छोटो दुरीका सवारीसाधन सञ्चालनमा रोक लगाएपछि वीरगन्जको बस पार्कमा सयौँ यात्रु अल्पत्र परेका छन् ।

बन्दका कारण जिल्लामा रहको शैक्षिक संस्था बन्द भएपनि प्रेस, एम्बुलेस, बारुणयन्त्र, पर्यटक सवार सवारी साधन, रिक्सा, टेम्पु, ठेला, मोटरसाइकल भने निर्वाद रुपमा सञ्चालन भएका थिए ।

बन्दका क्रममा सम्भावित तोडफोड तथा आगजनीजस्ता घटनालाई नियन्त्रण गर्न वीरगन्जमा उल्लेख्य सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । नगरको प्रत्येक चोकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीलाई परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रासस

You Might Also Like