यसरी नेपाल आइडलका प्रतिस्पर्धीसँग टुँडिखेलमा झुमे दर्शक (फोटो फिचर)

काठमाडौं । नेपाल आइडलको फाइनलमा पुगेका तीन जना प्रतिस्पर्धीले शनिबार काठमाडौंका दर्शकलाई नचाएका छन्। काठमाडौंको टुँडिखेलमा आयोजित ‘पर्फमिङ लाइभ’ कन्सर्टमा बुद्ध लामा, प्रताप दास र निशान भट्टराईको प्रस्तुतिमा दर्शक झुमेका थिए।


टुँडिखेलमा आफूलाई मन पर्ने प्रतिष्पर्धीलाई जिताउँ लेखिएका ब्यानरसहित प्रशंसक हुटिङ गरिरहेका थिए। विभिन्न कार्यक्रमहरुका बिच अन्तिममा नेपाल आइडलका फाइनलिस्टको प्रस्तुति थियो।

साधना कला केन्द्र, म्युजिक एशोसियसन अफ् नेपाल र वेल डान्स स्कुलको संयुक्त आयोजनामा भएको कन्सर्टमा पहिलो प्रस्तुति दिएका थिए प्रताप दासले। प्रतापले ‘यस्तो पो हुनुपर्छ मेरी गर्लफ्रेन्ड’, ‘मोटरसाइकलमा’, ‘बाँझो खेतमा’ प्रस्तुति दिँदा उनलाई नाचेर हौसला बढाइरहेका थिए।

त्यस्तै अर्का प्रतिस्पर्धी निशान भट्टराईले ‘तुलसी आँगनमा रोपौँला’, ‘जसो गर, जे गर जता सुकै लैजाउ मलाई’ गीत गाइरहँदा दर्शक त नाचेकै थिए। मञ्चमा रहेका अन्य दुई प्रतिस्पर्धी बुद्ध लामा र प्रताप दास पनि नाचेका थिए। निशानले गीत गाइरहँदा बुद्ध र प्रताप मञ्चको चारैतर्फ घुमेर दर्शकलाई नचाइरहेका थिए। घरिघरी तीनै जना प्रतिस्पर्धी सेल्फी खिचिरहेका थिए।

त्यसो त मञ्चभन्दा अगाडि रहेका नेपाल आइडलका फाइललिस्टहरुको पोस्टरसँग सेल्फी खिचाउनेहरुको पनि घुइँचो थियो। आफूलाई मन पर्ने प्रतिस्पर्धीको पोस्टरसँग दर्शकले तस्बिर खिचिरहेका थिए।

निशान र प्रतापको प्रस्तुति सकिएपछि दर्शकलाई नचाउने पालो बाँकी थियो बुद्ध लामाको। कार्यक्रमकी उद्घोषिकाले बोलाउनुभन्दा पहिले नै दर्शकले बुद्धलाई बोलाएका थिए। बुद्ध लामाले ‘अरे क्यानाम, कान्छीलाई फकाउनै गाह्रो भो’, र ‘बिर्सेका छैनौँ हामी हाम्रो संस्कृति’ गाइरहँदा निशान र प्रतापले हौसला बढाइरहेका थिए। बुद्धले गीत गाइरहँदा प्रताप र निशानले दर्शकलाई नचाइरहेका थिए।

विभिन्न चरणहरु पार गर्दैै नेपाल आइडलको फाइनलमा पुगेका बुद्ध, निशान र प्रतापमध्ये एकले नेपाल आइडलको उपाधि हात पारे पनि तीनै जना प्रतिस्पर्धीले दर्शकको माया उत्तिकै पाएका छन्। तस्वीर : सुलभ श्रेष्ठ /अन्नपूर्ण पोस्ट 

You Might Also Like