यहाँ पानीभन्दा पनि सस्तो छ पेट्रोल, तर जनता छन् भोकै

काठमाडौं । ल्याटिन अमेरिकी देश भेनेजुएलामा करीब एक वर्षदेखि आर्थिक मन्दी चलिरहेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य खस्केकाले देशमा आर्थिक संकट आएको हो।

भेनेजुएला संसारको सबभन्दा ठूलो तेल उत्पादक हो र यहाँ तेल पानीभन्दा सस्तो छ। ग्लोबल पेट्रोल प्राइज डट्कमका अनुसार, यतिखेर त्यहाँ तेलको मूल्य प्रतिलिटर एक रुपैयाँ छ। पानी चाहिँ यहाँ ५६ रुपैयाँ प्रतिलिटरमा पाइन्छ।

आर्थिक मन्दीका कारण भेनेजुएलाको राजधानी काराकासमा मानिसहरू भोकभोकै पर्न थालेका छन्। यो माथिको फोटो एड्रियाना नामक महिलाको हो । उनी फोहोरको डंगुरमा खाना खोजिरहेकी छन्। एड्रियानाका अनुसार, उनीसँग आफ्नो र आफ्नी दुई वर्षीया छोरीको पेट भर्ने पैसा छैन। एड्रियाना बच्चीसँग यसैगरी अर्काको घरबाहिर फ्याँकिएको फोहरबाट खाना निकाल्छिन्। धेरै मानिसको हालत एड्रियानाको जस्तै छ।

काराकासमा नालीबाट मानिसहरू धातुका चीज बटुलिरहेका पनि भेटिन्छन् । ती चीज बेचेर उनीहरू केही पैसा कमाउन चाहन्छन् । यसका लागि उनीहरू दिनभरि फोहरमा समय बिताउँछन्। त्यसैले गर्दा धेरै मानिसलाई मलेरिया र डेंगु जस्ता गम्भीर रोग लागेका छन् । देशभरिका अस्पतालमा बिरामीको संख्या बढेको छ र औषधिको अभाव छ।

देशका राष्ट्रपति निकोलस मादुरो सत्तामा आएको लगभग चार वर्ष भएको छ । तर उनले अर्थव्यवस्थालाई सुदृढ बनाउन सकेका छैनन् । मादुरोको तानाशाही व्यवहारका कारण भेनेजुएलामा राजनीतिक संकट छ। विपक्षीहरू मादुरोलाई कुर्सी खाली गराउन माग गरिरहेका छन् र उनलाई नै आर्थिक समस्याको जिम्मेवार ठान्छन् । अधिकारहरूको उनले दुरुपयोग गरेको उनीहरूको आरोप छ।

यसै वर्ष अप्रिलमा मादुरोले विपक्षी नेता हेनरिक क्याप्रिलेसलाई चुप लगाउन १५ वर्षका लागि कुनै पनि सरकारी पदका लागि अयोग्य घोषित गराएका थिए । यसले गर्दा अमेरिकाले भेनेजुएलामाथि आर्थिक प्रतिबन्ध लगायो । अनि देशको हालत झनै खराब भइरहेको छ। मादुरोले संविधानसभाको चुनाव गरेको भएपनि विपक्षीहरूले त्यसलाई बहिष्कार गरेका थिए। एजेन्सी

You Might Also Like