यी हुन् स्ट्रोक हुने कारण, लक्षण र उपचार

डा प्रवीण श्रेष्ठ

मानव शरीरका महत्वपूर्ण अंगहरूमध्ये गिदी वा मगज पनि एक हो । मगजलाई गाडीको इन्जिनसँग दाँजेर हेर्न सकिन्छ । यसमा हरेक पल प्रयाप्त मात्रामा रगत र अक्सिजन सञ्चार हुनुपर्छ । क्षणभरको लागि मात्र मगजमा रगत र अक्सिजन कमी भएमा यसका कोषहरू क्रमशः सुक्दै जान्छन् र अन्त्यमा तन्तुको मृत्यु हुन्छ ।

तन्तु मर्दै जाँदा यसका विभिन्न भागले काम गर्न छोड्दै जान्छ र पक्षघातको अवस्थामा पुग्छ । पक्षघातको अवस्थामा पुग्दा शरीरको एकभाग दायाँ वा बायाँ नचल्ने, मुख बाँगिने, एकापट्टिको हात गोडा नचल्ने हुनसक्छ । यस्तो समस्या वा रोगलाई स्ट्रोक वा पक्षघात भनिन्छ । यो सुरु हुँदा गिदीको सानो भागबाट शुरु हुन्छ र विस्तारै बढ्दै जान्छ । यदि समयमै उपचार गरिएन भने खराबी बढ्दै गएर एक भागको सिंगै गिदीमा असर पर्न सक्छ ।

स्ट्रोकका कारण

स्ट्रोकको प्रमुख कारण मस्तिष्कमा आवश्यक रगत र अक्सिजन सञ्चारमा कमी हुनु हो । रक्तनली साँघुरो भएर रगत बग्ने बाटो बन्द हुँदा रक्तसञ्चार कमी हुन्छ । मस्तिष्कमा रक्तसञ्चार नपुगेमा मस्तिष्क पनि सुकेर जान्छ । रक्तनली जाम हुनुका कारण नली खुम्चिएर साँगुरो हुनु अथवा कणले रक्तनली बन्द हुनु हो । जुनसुकै कारणले रक्तनली जाम भएपनि मस्तिष्कमा रक्तसञ्चार कम भई स्ट्रोक हुनसक्छ ।

ब्रेन हेमरेज

ब्रेन हेमरेज भनेको मस्तिष्कमा रक्तश्राव अथवा रगत जम्नु हो । यो स्ट्रोकको ठिक उल्टो अवस्था हो । यसमा रक्तसञ्चार अत्याधिक भएर रगत जम्दछ । ब्रेन हेमरेजले पनि मस्तिष्कलाइृ क्षति पुर्‍याएर पक्षघातको समस्या निम्त्याउन सक्छ ।

स्ट्रोकका अन्य लक्षणहरू

स्ट्रोक हुँदा बिरामी अचानक बेहोस हुने अथवा अर्धचेत अवस्थामा पुग्ने, टाउको दुख्ने, आँखा धमिलो हुने, एक पाटो हात/गोडा लुलो भई प्यारालाइसिस अथवा पक्षघात हुने, क्षारेरोग वा शरीरमा कम्पन हुन हुनसक्छ । माथि उल्लेखित लक्षणहरू मस्तिष्कको कत्रो र कुन भागमा असर परेको छ त्यसमा निर्भर हुन्छ । स्ट्रोक भएको केही दिनदेखि १/२ सातासम्म असर परेको मस्तिष्कको भाग वरिपरि सुनिएर आउँछ र त्यसले दिमागको प्रेसर ( क्ष्ऋए ) लाई बढाएर मस्तिष्कलाई थप क्षति पुर्‍याउँदछ । त्यसैले स्ट्रोक भएको बिरामी पहिलो केही दिनदेखी केही साता झन्–झन नाजुक हुँदै जान्छ र अन्तिममा मृत्यु पनि हुनसक्छ । यदि यस्तो बिरामीलाई बचाउँन सकियो भने केही सातापछि स्ट्रोक शान्त (क्रोनिक) अवस्थामा जान्छ र विस्तारै लक्षणमा सुधार आउन थाल्दछ ।

स्ट्रोकको उपचार

स्ट्रोक भइसकेपछि सकेसम्म चाँडै उपचार सुरु गर्नुपर्छ । केही घण्टाभित्रै उपचार थाल्न सकियो भने बन्द भएका नशा खुली मस्तिष्कमा स्थायी असर पर्नबाट जोगाउन वा न्युन गर्न सकिन्छ । यसको उपचार मुलभूतरूपमा औषधी प्रयोग नै हो । औषधि प्रयोग गरी प्रयाप्त मात्रमा मस्तिष्कमा रक्तसंचार, अक्सिजन संचार गराउने र मस्तिष्कको थप क्षती हुन कम गर्न सकिन्छ । उपचारबाट क्षति कम गरि मुटुको अवस्था स्थिर बनाई राख्न सकेमा क्रमैसँग जीवन बच्न सक्छ ।

कहिलेकाँही मस्तिष्कको पे्रसर अत्यधिक बढ्न गएमा शल्यक्रिया आवश्यक पर्न सक्दछ । यी सबै उपचार गर्दागर्दै पनि कहिले काँही समस्या नियन्त्रण गर्न नसकी बिरामीको अवस्था झनै नाजुक हुनसक्छ । त्यस्तो अवस्थामा बिरामीलाई भेन्टिलेटर (कृतिम श्वासप्रश्वास) मा राख्नुपर्ने हुनसक्छ । त्यसको बाबजुत पनि बिरामीको अवस्थामा सुधार नआई मृत्यु पनि हुनसक्छ । संसारमा मानिसको ज्यान जाने प्रमुख कारणमध्ये स्ट्रोक पनि पर्दछ । बिरामीको अवस्थामा सुधार भएमा १/२ महिनापछि बन्द भएको नशा खोल्ने शल्यकृया गर्नुपर्ने पनि हुनसक्छ ।

संभावित अन्य समस्या

स्ट्रोक भएको मानिस सुरुको केही सातासम्म ओछ्यानमा परी राख्ने, हलचल गर्न नसक्ने अवस्थामा हुन्छ । त्यसले थप नयाँ शारीरिक समस्याहरू आउन सक्छन् । यस्तो अवस्थामा धेरैलाई छातिको संक्रमणको संभावना अधिक हुन्छ । धेरै दिन उही आसनमा सुत्नुपर्दा कफ जमी छातीको अवस्था बिग्रदै जान सक्छ । यस्तो हुँदा एण्टीबायोटिकको उपचारबाहेक भेण्टीलेटर पनि आवश्यक पर्नसक्छ । यदि ५/७ दिनभन्दा लामो समय भेन्टिलेटरमा राख्नु प¥यो भने छाती झन खराब हुनसक्छ । त्यसैले छातीबाट थप कफ निकाल्न र श्वास प्रश्वास सजिलो बनाउन घाँटीको सानो शल्यकृया गर्नुपर्ने हुनसक्छ । यस्तो शल्यक्रियामा श्वास नलीमा सानो प्वाल (छेदन) बनाई श्वास फेर्ने पाइप राखिन्छ, जसको माध्यमबाट छातीमा भएको कफ निकालिन्छ ।

अर्को सम्भावित समस्या हात गोडाकोे रक्तनली जाम हुनु हो । यस्तो भएमा पछि छाती र मुटुमा समस्या भई झन जटिल हुनसक्ने सम्भावना हुन्छ । शरीरलाई आवश्यक पौष्टिक तत्व, प्रोटिन आदि कमी हुनु अर्को समस्यो हो । यस्ता अतिरिक्त जटिलताहरू लामो समय रहँदा हात÷गोडा आदिमा खाटे घाऊको पनि जोखिम रहन्छ । बिस्तारै मिर्गौला र कलेजोको काम गर्ने शक्ति कम हुँदै जान सक्छ । यस्ता समस्या सकेसम्म हुन नदिन सुरूदेखि नै ध्यान पुर्‍याउँनु पर्छ ।

के स्ट्रोक पूर्ण निको हुन्छ ?

स्ट्रोक पूर्णरूपमा ठिक हुन्छ/हुँदैन भन्न अलि जटिल छ । यसको प्रकार, उपचार प्रविधि, उपचार सुरू गरेको समय, बिरामीको उमेर र उसको अन्य शारीरिक समस्या आदिमा भर पर्दछ । यदि स्ट्रोकले मगजको ठूलो भागमा क्षति पु¥याएको छ भने अपेक्षाकृत राम्रो नहुन पनि सक्छ । अरू थप समस्या भएन र केही साता बिरामीलाई बचाउन सकियो भने उसको अवस्थामा क्रमिक सुधार आउने सम्भावना बढ्दै जान्छ । अन्त्यमा बिरामी कुनै सहाराले विस्तारै हिड्न सक्ने भएपछि पूर्णरुपले पहिलेकै जीवनमा फर्किनसक्ने सम्भावना पनि हुन्छ । प्रायः यस्ता बिरामीहरू जीवनभर लौरोको सहाराले हिड्नुपर्ने वा ह्वीलचीयरमै बसी राख्ने वा हिंड्डुल गर्नसक्ने अवस्थामा पुग्छन् ।

यस्ता बिरामीलाई एन्जाइटी/डिप्रेसन जस्ता मानसिक समस्या आउने सम्भावना पनि हुन्छ । तर मनोवल बलियो भएका बिरामीहरू चाहिं अपेक्षाकृत राम्रो भई क्रमशः पुरानो अवस्थामा फर्किने सम्भावना हुन्छ । कतिपय बिरामीहरू चाहिं उठबस गर्न सक्ने नभई ओछ्यानमा नै परिराख्ने अवस्थामा पनि हुनसक्छ । संक्षिप्तमा भन्ने हो भने स्ट्रोकका बिरामी केही हदसम्म लुलो, लंगडो, अपाङ्ग अथवा शारीरिकरुपमा दुर्बल हुने सम्भावना हुन्छ ।

परिवारको सहयोग बिरामीको उपचार भनेको मेडिकल टिम (डाक्टर/नर्स) को प्रयासले मात्र संभव हुँदैन । परिवारका सदस्यहरूको सहयोग पनि त्यत्तिकै आवश्यक पर्छ । आफन्तले रोगको गम्भीरतालाई राम्ररी बुझ्नुपर्छ । चिकित्सक एवं उपचार टोलीसँग राम्ररी छलफल गर्नुपर्छ । एक जना सदस्यले कुरा बुझेर सम्पूर्ण सदस्यलाई बुझाउन सक्नुपर्छ । चिकित्सक टोलीले पनि दिनमा एक/दुई पटक परिवारका कुनै सदस्यलाई उपचारको प्रगति वा खतराबारे स्पष्ट जानकारी दिनुपर्छ । जानकारी दिनु डाक्टरको कर्तव्य हो बिरामी पक्षको अधिकार । उपचारका लागि डाक्टरले दिएका सुझाब पालना गर्नु बिरामी पक्षको कतब्र्य हो ।

उपचार भनेको एउटा सामुहिक कार्य हो । बिरामीलाई उपचार गर्ने एकजना मुख्य डाक्टर भएता पनि अन्य थुप्रै डाक्टर तथा नर्स पर्दा पछाडी हुन्छन् । मुख्य डाक्टरलाई नभेट्दा पनि आत्तिहाल्नु पर्दैन् । डाक्टरहरू आफू मातहतमा भर्ना भएका बिरामीबारे २४ घण्टै सम्पर्कमा हुन्छन् । बिरामीको हौसला बढाउनु, उसको स्याहारमा सहयोग पु¥याउनु, उपचारको प्रविधिक जस्तैः नर्सिङ्ग केयर, फिजियोथेरापी आदिमा सहभागी हुनु आदि परिवारका सदस्यको कर्तव्य हो । त्यस्तै अनावश्यक भीड नगर्नु, मोवाइलमा ठूलो स्वरमा कुरा नगर्नु, ठूलो आवाजले संगित नसुन्नु, अरुलाई ‘डिस्टर्व’ नगर्नु पनि बिरामी पक्षले चिकित्सक एवं उपचार टोलीलाई गर्नसक्ने सहयोग हो । परिवार र चिकित्सक पक्षको संयूक्त प्रयासले बिरामीलाई सहयोग पुग्छ । ‘डाक्टर देउता होइन, तर यमराज पनि होइन’ डाक्टरले बिरामीका लागि शतप्रतिशत मेहेनत गर्छ, प्रयास गर्छ । नतिजा ईश्वरले दिन्छन् ।

 

You Might Also Like