आफूलाई मतदान गर्न नपाउने झापाका तीन चर्चित उम्मेद्वार

दमक । निर्वाचनमा एक भोटको पनि ठूलो महत्व हुन्छ। चुनावमा एक भोटले हारजित भएका धेरै उदाहरण पनि छन्। तर यो निर्वाचनमा झापाका तीन चर्चित उम्मेद्वारले आफैंलाई मतदान गर्न नपाउने भएका छन्।

झापाबाट निर्वाचनमा उम्मद्वारी दिएका एमाले अध्यक्ष केपी तुलनात्मक रुपमा सेफ जोनमा छन्। तर ओलीले आफूलाई मतदान गर्न भने नपाउने भएका छन्। झापा निर्वाचन क्षेत्र नम्बर पाँचबाट उम्मेद्वारी दिएका ओलीले झापा पाँचबाट मतदाता नामावली भक्तपुरमा सारेका छन्। आफूलाई मतदान गर्न नपाएपनि ओलीले आफू निटक भक्तपुर दुईबाट प्रतिनिधिसभा सदस्यमा उम्मेद्वारी दिएका एमाले उम्मेद्वार महेश बस्नेतलाई मतदान गर्नेछन्।

यसैगरी झापा निर्वाचन क्षेत्र नम्बर तीनबाट उम्मेद्वारी दिएका कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले पनि आफूलाई मतदान गर्न पाउने छैनन्। आफ्ना प्रतिस्पर्धी राप्रपा महामन्त्रीलाई वाम गठबन्धनले समर्थन गरेपछि दबाबमा परेको सिटौलाको मतदाता नामावली झापा एकमा पर्छ।

भद्रपुर नगरपालिकाको वडा नम्बर दश निर्वाचन क्षेत्र नम्बर एकमा परेपछि सिटौलाले आफूलाई मतदान गर्न नपाउने भएका हुन्। सिटौलाले झापा क्षेत्र नम्बर एकबाट मतदान गर्नेछन्। सिटौलाले २०५१ सालको उपनिर्वाचनपछि आफैंलाई मतदान गर्ने अवसर पाएका छैनन्।

यसैगरी यसअघिको निर्वाचन क्षेत्र परिवर्तन गरी झापा एकबाट उम्मेद्वारी दिएका वाम गठबन्धनका साझा उम्मेद्वार एवं माओवादी नेता सुरेन्द्र कार्कीले पनि आफूलाई मतदान गर्ने नपाउने अर्का उम्मेद्वार हुन्। कार्कीको मतदाता नामावली काठमाडौं क्षेत्र नम्बर एकमा छ। यसअघि ताप्लेजुङबाट उम्मेद्वार बनेका कार्कीले आफैंलाई मतदान नगरेको यो दोस्रो पटक हो। कार्की पहिलो संविधावनसभामा ताप्लेजुङबाट चुनाव लडेका थिए।

झापा निर्वाचन क्षेत्र नम्बर पाँच बाट उम्मेद्वारी दिएको एमाले अध्यक्ष ओलीलाई कांग्रेस उम्मेद्वार डा. खगेन्द्र अधिकारीले चुनौती दिएका छन्। त्रिचन्द्र क्याम्पसमा प्रध्यापक रहेका अधिकारी चुनाव लड्न राजीनमा दिएर आएका हुन्। यसैगरी झापा तीनबाट उम्मेद्वारी दिएका कांग्रेस नेता सिटौलालाई राप्रपा महामन्त्री राजेन्द्र लिङदेनले चुनौती दिएका छन्।  लिङदेनलाई एमाले र माओवादी केन्द्रको समर्थन रहेको छ। सो क्षेत्रमा वाम गठबन्धनको उम्मेद्वार नभएका कारण वाम गठबन्धनको भोट पनि सिटौलाले पाउन अनुमान गरिएको छ। तर औपचारिक रुपमा भने त्यस्तो कुनै सहमति भएको छैन।

यसैगरी झापा निर्वाचन क्षेत्र नम्बर एकमा दुई बौद्धिक नेताबीच प्रतिस्पर्धा हुँदैछ। यो क्षेत्रमा कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा र वाम गठबन्धनका साझा उम्मेद्वार राम कार्कीबीच प्रतिस्पर्धा हुँदैछ।  दुवै जना बौद्धिक नेताका रुपमा परिचित छन्।  झापामा चर्चित उम्मेद्वार भएका कारण धेरैको चासो झापामा परेको देखिन्छ।

You Might Also Like