सन्दिप लामिछाने म्यान अफ द सिरिज

काठमाडौं । नामिबियामा सम्पन्न आइसिसि विश्व क्रिकेट लिग डिभिजन दुईमा नेपाली बलर सन्दिप लामिछाने म्यान अफ द सिरिज भएका छन्। प्रतियोगितामा सर्वाधिक विकेट लिँदै शीर्ष बलर भएका नेपाली बलर सन्दीप लामिछानेले १७ विकेट लिए।

ओमानका बिलाल खानसँगै सर्वाधिक १७ विकेट लिएका सन्दीप राम्रो इकोनोमीका कारण अगाडि आएका हुन्। सन्दीपले युएई विरुद्ध फाइनलमा १ विकेट मात्र लिएका थिए। उनले लिग चरणमा नामिबिया विरुद्ध ४, ओमान विरुद्ध २, युएई विरुद्ध ३, केन्या विरुद्ध ५ तथा क्यानडा विरुद्ध २ विकेट लिएका थिए।

सन्दीपले प्रतियोगिताभर ५२.२ ओभर बलिङ गर्दा ९ मेडन राख्दै १७६ रन खर्चेका थिए। उनको एभरेज १०.३५ तथा इकोनोमी ३.२३ रह्यो। ओमानका बिलाल खानको एभरेज १०.७६ तथा इकोनोमी ३.५३ थियो।

उनले समूह चरणको अन्तिम खेलमा क्यानडालाई हराउन महत्वपूर्ण योगदान दिएको भन्दै उनलाई म्यान अफ द सिरिज दिएको हो।

कार्यक्रममा उपस्थि एक पत्रकार पिटर डेला पेन्नाका अनुसार युएईका कप्तानले सन्दिप लामिछानेले आइपिएलमा खेल्ने भएकाले मात्र म्यान अफ दी सिरिज पाएको हो मैले १४ विकेट लिएको हो र रन पनि धेरै बनाएको भनेका छन्।

आइसिसिले कुनै पनि ठूला प्रतियोगिताका हरेक म्याचमा दुई टिमबाट गरी तीन जना उत्कृष्ट खेलाडी छान्छ। सबैभन्दा धेरै अंक पाउनेलाई म्यान अफ द म्याचसहित ३ अंक, त्यसपछि दोस्रो हुनेले २ अंक तथा तेस्रो हुनेले १ अंक पाउँछ।

यसरी हरेक प्रतियोगिताको सबै अंक मिलाएर धेरै अंक पाउने खेलाडीलाई म्यान अफ दि सिरिज दिने चलन छ।

यो प्रतियोगितामा लिग चरणमा खेलिएका खेलहरुबाट मात्रै म्यान अफ द सिरिज छानिएको थियो। सन्दिप लामिछाने लिग चरणमा खेलेका ५ खेलमध्ये २ खेलमा म्यान अफ दी म्याच भएर १६ विकेट लिएका थिए।

You Might Also Like