काठमाडौँ, २२ जेठ (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व वातावरणीय संरक्षणमा नेपालको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ ।
विश्व वातावरणीय दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले नेपालले ४५ प्रतिशत वन क्षेत्र राखेर विश्व पर्यावरणीय क्षेत्रमा योगदान पु¥याइरहेको बताउँदै विश्वका सबै देशलाई आफ्नो हैसियतअनुसार योगदान गर्न आह्वान गर्नुभयो । विश्वका केही ठूला र धनी देशले वातावरण संरक्षणका बारेमा नेपाललाई उपदेश दिने गरेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले गाउँमा खाना पकाउँदा दाउरा बाल्ने कार्यभन्दा औद्यौगिक राष्ट्रले गर्ने रसायन प्रदूषण कैयाँ गुणा बढी घातक भएको तर्फ ध्यानाकर्षण गराउनुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, “चेतनाको कमी, विकासको आकांक्षा र असन्तुलित विकासका कारण वातावरण केही बिग्रेको छ, वातावरणीय सन्तुलन बिग्रियो भने असाधारण विनाशकारी सामना गर्नुपर्छ । तसर्थ वातावरणीय सुरक्षित भविष्यका लागि विश्वको सामूहिक प्रयास जरुरी छ ।”
कार्यक्रममा भौतिक तथा यातायातमन्त्री रघुवीर महासेठले आफ्नो मन्त्रालयले आगामी पाँच वर्षभित्र ५० प्रतिशतसम्म विद्युतीय सवारी साधन चलाउने नीति लिएको अवगत गराउँदै सो अभियानमा सघाउन सरोकार भएका सबैमा आग्रह गर्नुभयो । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वातावरण संरक्षणका क्षेत्रमा उल्लेखनीय कार्य गर्न मन्त्रालयले ‘नेपाल स्वच्छ वातावरण महाअभियान, २०७५’ कार्ययोजना शुभारम्भ गरेको बताउँदै यसलाई मुलुकभर प्रभावकारी रुपमा कार्यान्वयन गर्न अन्य मन्त्रालय, प्रदेश र स्थानीय सरकारलगायत सरोकार भएकाहरुसँग समन्वय गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओलीले दिगो विकासका लागि आर्थिक, सामाजिक र वातावरणीय विकास आवश्यक पर्ने र वातावरण संरक्षणका लागि घरघरबाट अभियान शुरु गर्नुपर्ने सुझाव दिनुभयो ।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो महानगरले हरित र सुन्दर शहर बनाउने अभियान अघि बढाएको बताउँदै यसमा सबैको सक्रिय सहयोगको अपेक्षा गर्नुभयो । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले आफ्नो महानगरमा आगामी साउन १ गतेदेखि प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरी कडाइका साथ लागू गरिने जानकारी गराउनुभयो ।
कार्यक्रममा वातावरण संरक्षणका क्षेत्रमा योगदान पु¥याएवापत कीर्तिपुरको जलविनायक सामुदायिक वन उपभोक्ता समूह, दाङको पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्र तथा सञ्चारकर्मीद्वय मुकेश पोखरेल र मनोज पौडेललाई पुरस्कृत गरिएको थियो । (श्रव्य सामग्री उपलब्ध छ)
–––