त्रिभुवन राजपथ सञ्चालन, कुलेखानी सडक अवरुद्ध

हेटौँडा, ३ असार (रासस)-त्रिभुवन राजपथको महाभिर र सातघुम्तीमा गए राति परेको वर्षाले पहिरो जाँदा अवरुद्ध भएको सडक अहिले पहिरो हटाई हेटौँडा–काठमाडौँ तर्फको यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसैगरी, मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने हेटौँडा कुलेखानी सडकअन्तर्गत पर्ने धाखेलको मानेभञ्ज्याङ र सिस्नेरीको सुकौरा ड्याममा गए राति आएको वर्षाले काठमाडौँ–हेटौँडा तर्फको बाटो अवरुद्ध भएको छ ।

पालुङबाट डोजर र प्राविधिकहरु सडक खुलाउन बिहानै त्यसतर्फ पठाइसकिएको र आज अपराह्न सम्ममा यातायात सञ्चालनमा ल्याई सकिने मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जानकारी दिनुभयो ।

पहिरो गई त्यसको सूचना समयमा नै नपाउँदा काठमाडौँबाट हेटौँडातर्फ जाने त्रिभुवन राजपथ र भीमफेदी कुलेखानी सडकखण्डमा सयौँ सवारी आगमन अवरुद्ध रहेको र सडकहरुमा यात्रुहरु अलपत्र भई कठिनाइ भोग्नु परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपराज झाले बताउनुभयो ।
–––

Entertainment
  • No categories

You Might Also Like