आयो अर्को मन दुखाउने खबर: विद्यालय गएका बालक नदीमा डुबेको भेटिए

सल्यान, ९ असार (रासस) ः जिल्लाको त्रिवेणीमा विद्यालय गएका एकजना बालक मृत अवस्थामा भेटिएका छन् । त्रिवेणी गाउँपालिका–२, रिखेबगर निवासी डिल्लीबहादुर बुढाथोकीका साढे ४ वर्षीय छोरा दीपक बुढाथोकी शुक्रबार बेलुकी मृत अवस्थामा भेटिएका हुन् ।

खेत जोतेर फर्किन लागेका स्थानीय रामबहादुर भण्डारीले बेलुकी शारदा नदीमा डुबेको अवस्थामा बालकको शव भेटेपछि प्रहरीलाई खबर गर्नुभएको थियो ।

स्थानीय मेरिगोल्ड बोर्डिङ्बाट पढेर घर फर्किने क्रममा पौडी खेल्न खोज्दा बालकको डुबेर मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । बालकका बुबा हाल वैदेशिक रोजगारीमा रहेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, लुहामले जनाएको छ ।

खोलामा डुबेर एकको मृत्यु
दमक, ९ असार- झापाको बैगुनधुरा र स्यालडाँगी जोड्ने कमल खोलामा डुबेर एकजना युवाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथरको याङवरक–६ का २१ वर्षीय दिलीप गुरागाईं छन् । निर्माणाधीन पक्की पुलको रेखदेखमा खटिएका गुरागाइको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ ।

बालकको डुबेर मृत्यु

नवलपरासी,पूर्वी नवलपरासीको गैंडाकोट–५ मा रहेको गैंडाकोट फन पार्कमा रहेको पोखरीमा आज एक बालकको डुबेर मृत्यु भएको छ ।

गैंडाकोट नगरपालिका नजिकै रहेको गैंडाकोट फन पार्कमा पोखरीमा नुहाउने क्रममा डुब्दा गैंडाकोट–८ का १३ वर्षीय सन्देश सापकोटाको मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक प्रकास सिंखडाले जानकारी दिनुभयो ।

करेण्ट लागेर वृद्धको मृत्यु

फलेवास पर्वत, पर्वत जिल्लाको मोदी गाउँपालिका–२ देउपुरमा करेण्ट लागेर एक वृद्धको मृत्यु भएको छ ।

मोदी–२, देउपुरस्थित सिमखेतका ७५ वर्षीय ऋषिराम शर्माको आज बिहान करेण्ट लागेर घटनास्थलमै मृत्यु भएको हो । तरकारीका लागि थाँक्रो काट्न गएका वृद्धलाई विद्युत्को थ्रीफेज लाइनमार्फत बुटामा विद्युत् प्रवाह भएकाले करेण्ट लागेको प्रहरीले जनाएको छ ।

विद्युत्को तारलाई छोएको बुटामा चढेर हाँगा काट्दा करेण्ट लागेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । मृतक वृद्धको शव परीक्षणका लागि जिल्ला अस्पताल पर्वतमा लगिएको मोदी–२ का वडाध्यक्ष विकास तिमिल्सिनाले जानकारी दिनुभयो ।

You Might Also Like