नौ हजार फलफूलका बिरुवा निःशुल्क

दाङ, २१ असार (रासस)-तुलसीपुर उपमहानगरपालिका कृषि विकास शाखा कार्यालयले किसानलाई विभिन्न जातका फलफूलका नौ हजार बिरुवा निःशुल्क वितरण गरेको छ ।

ढुवानी अनुदान मात्र लिएर किसानलाई बिरुवा निःशुल्क वितरण गरेको हो । बीस हेक्टर जमीनमा कागती, आँप, अनार, लिची र कटहरका बिरुवा उत्पादन गरेर वितरण गरिएको शाखा प्रमुख तिलकबहादुर केसीले जानकारी दिनुभयो ।

कार्यालयले एक हजार ३०० बिरुवा आँप, अमरापाली जातका आँप तीन हजार ५००, अनार एक हजार १००, कागती चार हजार ५००, लिची एक हजार ८००, कटहर एक हजार र अम्बाका ४०० बिरुवा वितरण गरेको हो ।

यस्तै, चालू आर्थिक वर्षमा ५० प्रतिशत अनुदानमा कार्यालयले किसानलाई चार हजार केराका बिरुवा वितरण गरेको छ । रु ५० मूल्य पर्ने प्रतिबोट केरा रु २० मा वितरण गरेको कार्यालयले जनाएको छ । कार्यालयले २५ बोटभन्दा बढी केराका बिरुवा लगाउनेलाई निःशुल्क बिरुवा वितरण गर्ने कार्यक्रम रहेको जनाएको छ । एक सय हेक्टर जमीनमा फलफूल खेतीका लागि तुलसीपुर उपमहानगरपालिको फलफूल खेती कार्यक्रमअन्तर्गत २३ हजार २०० केराका बिरुवा वितरण गर्ने कार्यक्रम रहेको शाखाका प्रमुख केसीले बताउनुभयो ।

You Might Also Like