औद्योगिक क्षेत्रको कामले गति पायो

–शेरबहादुर सिंह
भीमदत्तनगर, २९ असार (रासस)-प्रदेश नं ७ अन्तर्गत कञ्चनपुरको बेदकोट नगरपालिकामा स्थापना हुने दैजी छेला औद्योगिक क्षेत्र निर्माणको कामले गति पाएको छ ।

लामो समयदेखि थाती रहेको औद्योगिक क्षेत्र निर्माणका लागि स्थानीय तह नेतृत्वले सक्रियता देखाएपछि कामले गति पाएको हो । यहाँको निजी क्षेत्रले औसरकारलाई स्थापनाका लागि दबाब दिँदै आएको छ ।

स्थानीय तहको निर्वाचनपछि प्रस्तावित औद्योगिक क्षेत्र निर्माणस्थलमा धेरैपटक सर्वेदेखि पछिल्लो समय सम्बन्धित मन्त्रीसमेतले अनुगमन गरेका छन् । औद्योगिक क्षेत्र स्थापनाको काम तत्काल अगाडि बढाउन खटिएका बेदकोट नगरपालिकाका नगरप्रमुख अशोककुमार चन्दले औद्योगिक क्षेत्र निर्माणको काम अघि बढेको जानकारी दिनुभयो ।

“विभिन्न मन्त्रालयमा स्वीकृत लिनेदेखि प्रक्रिया मिलानका काम सबै सकिएर व्यवसायीसँग उद्योग स्थापनाका लागि आग्रह गरिएको छ ।” नगर प्रमुख चन्दले रासससित भन्नुभयो, “औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड पनि निकै अग्रसर भएको छ ।”

व्यापारी व्यवसायीलाई उद्योगको किसिमसहित आगामी साउन १७ गतेभित्र आवेदन फारम बुझाउन आग्रह गरिएको नगरप्रमुख चन्दको भनाइ छ । उद्योग स्थापनाका लागि सूचना जारी भइसकेको जानकारी दिँदै उहाँले वातावरणीय प्रभाव मूल्याङ्कन र औद्योगिक क्षेत्रको विस्तृत प्रतिवेदनको काम अन्तिम चरणमा रहेको बताउनुभयो ।

“दुवै रिपोर्टको काम सकिनै लाग्यो,” चन्दले भन्नुभयो, “काम सकिएपछि रिपोर्ट उद्योग मन्त्रालयमा पेश गरिनेछ ।” उहाँले औद्योगिक क्षेत्र स्थापनाको काम अब दु्रत गतिमा अघि बढ्ने बताउनुभयो । औद्योगिक क्षेत्र स्थापनाको काम लामो समय वन तथा वातावरण मन्त्रालयमा अड्किएको थियो ।

एक साताअघि मन्त्रालयले औद्योगिक क्षेत्र स्थापनाका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका नाममा २९३ बिघा जग्गा दर्ता गरी वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन गर्न सहमतिसमेत दिएको थियो । उक्त कार्यका लागि गत असार १५ गते वन तथा वातावरण मन्त्रालयमा मन्त्रिस्तरीय निर्णयबाट सहमति प्रदान गरिएको थियो ।

बेदकोट नगरपालिकामा रहेको दैजी छेला औद्योगिक क्षेत्र निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) निर्माणसमेत भइसकेको छ । विसं २०५२ मा जिल्ला वन समन्वय समिति र साविकको दैजी गाविसको निर्णयबमोजिम दैजीका वडा नं ५ र ६ हाल बेतकोट नगरपालिकाको वडा नं २ र ३ को छेला आसपासको क्षेत्रमा औद्योगिक क्षेत्र स्थापना हुनेछ ।

विसं २०५६ असारमा जिल्ला वन समन्वय समितिले छेलामा स्थापना हुने औद्योगिक क्षेत्रलाई आवश्यक जमीन उपलब्ध गराउने सहमति गरेको थियो । छेला औद्योगिक क्षेत्रका लागि २०७१ पुसमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले पूर्व सम्भाव्यता अध्ययन गरेको थियो । दैजी छेला औद्योगिक क्षेत्रभित्र खाद्य, वन तथा कृषि, धातु, प्लाष्टिक, इन्जिनियरिङ र फेब्रिकेटिङ, मिनरल वाटर, कागज, सिमेन्ट, छडलगायतका १०० वटा उद्योग स्थापना गर्न सकिने छ ।

Entertainment
  • No categories

You Might Also Like