फेरी अर्को दुर्घटना, काठमाडौँ आउँदै गरेको बस सुनकोशीमा खस्यो

सिन्धुली, २६ असोज । बिपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–५ रिठ्ठे भिरबाट आज यात्रुबस सुनकोशीमा खसेको छ। सडकबाट सुनकोशी नदीमा बस खस्दा एक जनाको मृत्यु भएको र सात जनाको जीवितै उद्धार गरिएको छ। अहिले उद्धार कार्य जारी रहेको छ।

सिन्धुलीको मरिण गाउँपालिकाबाट काठमाडौँतर्फ जाँदै गरेको सुपर वासुकी यातायातको ना ६ ख ९१२ नं को बस सुनकोशीमा खसेको हो । घटनाको थप विवरण आउन बाँकी रहेको छ। सुनकोशी नदीबाट स्थानीयवासी, प्रहरीको प्रयासमा सात जनालाई उद्धार गरी उपचारका लागि धुलीखेलतर्फ पठाइएको र नदीबाट एउटा शव निकालिएको स्थानीयवासी मीन श्रेष्ठले जानकारी दिनुभयो।

सिन्धुलीको मरिण गाउँपालिकाबाट काठमाडौँतर्फ जाँदै गरेको सो बसमा आठजना सवार रहेको र सात जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिनुभयो। दुर्घटनामा सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका–८ निवासी २९ वर्षीय रवि भण्डारीको मृत्यु भएको उहाँले जानकारी दिनुभयो।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर र तीन जनाको अवस्था सामान्य रहेको जनाइएको छ। उनीहरु सबैको उपचारका लागि धुिलखेल पठाइएको उहाँले जानकारी दिनुभयो । दुर्घटनाको कारण थप विवरण आउन बाँकी रहेको छ।

You Might Also Like