नेवार समुदायको मौलिक पर्व मोहनी नखः सम्पन्न

काठमाडौँ, ७ कात्तिक । नेवार समुदायले नखत्या भ्वय् (भोज) गर्दै आफ्नो सबभन्दा ठूलो चाड मौलिक मोहनी नखः सकाएको छ । मोहनी सिन्ह(टीका)लाई विशेष महत्व दिइने मोहनी नखः काठमाडौँ, ललितपुर, भक्तपुरसहित दोलखा, पाल्पा, पर्सा आदि स्थानलगायत कामका लागि अमेरिका, बेलायत, जापान आदि विभिन्न मुलुकमा बसोबास गर्ने नेवार समुदायले मनाएको हो ।

मोहनी नखःअन्तर्गत अष्टमीका दिन कुलछि (कुलका परिवार सदस्य) भ्वय, नवमीका दिन स्याक्वत्याक्व तथा चालँ हर्षोल्लासका साथ सम्पन्न गरिसकेको नेवार समुदायले दशमीदेखि पूर्णिमासम्म आफ्ना दिदीबहिनी तथा छोरीज्वाइँलाई नखत्या भ्वय (भोज) मा बोलाउनुपर्ने प्रचलन छ । मृत्यु भएका आफ्ना पूर्वज तथा देवदेवीलाई सर्वप्रथम भोज खुवाई शुरु हुने मोहनी पर्व दशमीदेखि पूर्णिमासम्म दिदीबहिनी तथा छोरीज्वाइँलाई भोज खुवाइसकेसँगै यस वर्षको मोहनी समाप्त हुन्छ ।

नेवार बौद्ध समुदायले गुरु मण्डलाश्चरणको विधिबाट बुद्ध, धर्म र संघको आह्वान गरी सकल सत्वप्राणी मात्रको जगतोद्धारको सङ्कल्पका साथ सो पूजा हुन्छ । आगम छेँका देवी हेर्न वा देखाउन नहुने मान्यता रहेको गुह्यतन्त्र अथवा तान्त्रिक विद्याबाट परिष्कृत मान्यताका बीच नेवार समुदायले मोहनी नखः मनाउँछ । बौद्ध परम्पराबाट विकसित नेवार समुदायले बुद्ध, धर्म र सङ्घका साथै बुद्ध चैत्यको प्रतीक ‘ग्वजा‘ हरेक पूजामा प्रयोग गर्छन् भने हिन्दू परम्पराबाट विकास भएको नेवार समुदायले तुलजा भवानीको पूजा तथा स्याक्वत्याक्वका दिन बलि दिने प्रचलन छ । नेवार समुदायका सबै जातजातिमा कुलछि भ्वय, स्याक्वत्याक्व तथा चालँ गर्ने परम्परा छ ।

नेपाल संवत् ४४४ मा नान्यदेवका सन्तान राजा हरिसिंह देवले नेपालमा राज्य गरेपछि भक्तपुरमा तलेजु मन्दिर बनाएर तुलजा भवानीको पूजा गर्ने प्रचलन चलाएको इतिहास छ । राजा महेन्द्र मल्लका पालामा काठमाडौँको हनुमानढोकामा तुलजा भवानीको मन्दिर बनाउन लगाइएको थियो । यस बेलादेखि नेपालमा बलिप्रथा शुरु भएको विश्वास गरिएको छ ।

बौद्ध विद्वान् राजेन्द्रमान बज्राचार्यका अनुसार बज्रयान परम्परानुसार पूजा सङ्कल्प गर्दा बौद्ध परम्पराको शून्यताको भावमा गर्ने प्रचलन रहेको पाइन्छ । नेवार बौद्ध समुदायले गुरु मण्डलाश्चरणको विधिबाट मोहनी पूजा सम्पन्न गर्दै आन्तरिक तथा बाह्य मार अर्थात् काय, वाक र चित्तबाट हुने दश अकुशलादि कर्मबाट मुक्त हुने दर्शन ज्ञान प्राप्त गर्ने उहाँको धारणा छ । साथै अरूलाई समेत सोअनुसारको उपाय सिकाउने बौद्ध परम्परा छ ।

उहाँका अनुसार स्याक्वत्याक्वको अर्थ काटमार होइन । यसको अर्थ जति शिक्षा ग्रहण गरी सिक्न सक्यो त्यो नै जीत हो । त्यसैले नवमीमा स्याक्वत्याक्व (सयेकुक्व त्यात) भनेर देवदेवीको पूजाराधना गरिन्छ । त्यसलाई जति सिक्यो त्यति फाइदा भनी गुरु बज्रसत्वको आह्वानसहित भनिएको ‘सयेकुक्व त्यात’को (जति सिक्यो त्यति फाइदा) अपभ्र्रंश भई स्याक्वत्यक्व भन्ने गरेको उहाँको भनाइ छ ।

अर्का बौद्धविद्वान् यज्ञमानपति बज्राचार्यका अनुसार नेवार समुदायले मनाउँदै आएको मोहनी र दशैँमा धेरै भिन्नता छ । मोहनी भनेको दशैँ होइन भन्ने उहाँ स्पष्ट पार्नुहुन्छ । हिन्दू परम्परामा दशमीको विशेष महत्व छ । दशमीबाट नै दशैँ भएको हो । वर्षभरीका २४ दशमीमा सबैभन्दा ठूलो दशमी भएकाले यसलाई बडादशैँ भनिएको हो । नेवारी परम्परानुसार कायाअष्टमी तथा कुमारीबाट राजाले टीका लगाएको दिन मोहनी शुरु हुने उहाँको भनाइ छ । कायाअष्टमीदेखि नै मालश्रीको धून बजिसक्ने भएकाले त्यो दिनदेखि नै मोहनी शुरु हुन्छ ।

बौद्धअनुसन्धानकर्ता आनन्दमुनि बज्राचार्यका अनुसार बज्रयान बौद्धधर्ममा बुद्धधर्मका साथै गुह्य अर्थात् देवदेवी देखाउन नहुने मान्यता पनि छ । बुद्धधर्मको विकास क्रममा महायान बुद्धधर्म, हीनयान बुद्धधर्म र बज्रयान जन्मेका छन् । बज्रयान बुद्धधर्ममा दीक्षा लिएकाहरुले मात्र बज्रयान बौद्धधर्ममा लीन हुने अवसर पाउँछन् । बज्रयान बुद्धधर्ममा बुद्ध मण्डलभित्र चैत्यको प्रतीक ग्वजाको प्रयोग हुन्छ । मोहनी नखभित्रको गुह्यता अनुुसन्धान तथा अध्ययनको पाटोभित्र पर्छ । रासस

You Might Also Like