नालाका युवाले तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै

बनेपा, १० कात्तिक । बनेपा नगरपालिका–४ उग्रचण्डी नालाका युवाले तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् ।

आफ्नै जमीनमा उत्पादन भएजतिका तरकारी सबै बिक्री हुने र दुःख गरेअनुसार आम्दानी पनि हुने भएकाले यहाँका युवा सो खेतीतर्फ आकर्षित भएका हुन् । बजार नजिक भएका कारण पनि यहाँका युवा मौसमअनुसार तरकारी खेतीगरी आम्दानी गर्दै आइरहेका छन् ।

बनेपा नगरपालिका–४ नालाका सहदेव दाहालले आफूहरूले काउली, गोलभेँडा, आलु, मुला र खुर्सानीलगायत तरकारी उत्पादन तथा विक्री गरी आम्दनी गरिरहेको बताउनुभयो । ‘‘म आफ्नै खेतबारीमा मौसम अनुसारको तरकारीखेती गरी आम्दानी गर्दै आइरहेको छु।’’

दाहालले भन्नुभयो, “दशैंलाई लक्षित काउली र मुला बिक्री गरेर रु तीन लाख जति आम्दानी गरेँ, काउली त अब सकिसक्यो, मुला भने केही बाँकी भएकाले विक्रीका लागि तरकारी सङ्कलन केन्द्रमा ल्याएको हुँ,” उहाँले भन्नुभयो ।फाइदा राम्रो हुने गरेको र यो याममा राम्रै मूल्य पाएको कृषक दाहालले बताउनुभयो । घरका सबै परिवार खेतीमा नै लागेकाले वर्षमा रू ९/१० लाखसम्मको कमाइ हुने उहाँको भनाइ थियो ।

विगत आठ वर्षदेखि तरकारीखेती गर्दै आउनुभएका अर्का युवा मनोज दाहालले पनि मौसमअनुसार समयमै उत्पादन गरी बिक्री गर्न सकेमा वर्षको रू चार/पाँचलाखसम्म कमाइ हुने बताउनुभयो ।

“मौसम अनुसार उत्पादन गर्न सक्यौँं भने कहाँ लगेर बेच्ने हो भन्ने चिन्ता हुँदैन ।” दाहालले भन्नुभयो, ‘‘उत्पादन भएको तरकारी सङ्कलन केन्द्रमा ल्याएपछि बिक्री भइहाल्छ । अझ कतिपय ठेकेदार त गाउँमै आएर पनि तरकारी सङ्कलन गरी लाने गरेका छन् ।” गाउँ/टोलमा आउनेले भने अलि कम मूल्य दिने गरेका कारण आफूले उत्पादन गरेको तरकारी भने सङ्कलन केन्द्रमा नै लगेर बेच्ने गरेको उहाँको भनाइ थियो ।

कहिलेकाँही दुःख गरेर उत्पादन गरेको तरकारीको भनेजति मूल्य नपाउँदा भने दुःख लाग्ने गर्छ । ‘‘हामीले दुःख गरेर उत्पदान गरेका हुन्छौं, बजारमा मनोमानी भाउ हुन्छ, बाध्यताले उनीहरुको भाउमै बेच्नुपर्ने हुन्छ,’’ दाहालले भन्नुभयो । उहाँका अनुसार अहिले आफूहरुले किलोको २० रुपैयाँमा बेचेको मुला बजारमा उपभोक्ताले ४०/४५ रुपैयाँ तिर्नुपर्ने बाध्यता छ ।

तरकारी सङ्कलन गरी खुद्रा पसलमा बिक्री गर्दै आएका व्यापारी पवनकुमार गुप्ताले तरकारी व्यवसायबाट राम्रै आम्दनी हुने गरेको बताउनुभयो । “यहाँ हामी तरकारी सङ्कलन गर्छौं र बजारमा लगेर बेच्छौ, ’’ भारत घर भएको बताउने उहाँले भन्नुभयो, “यही पेशा गर्दै आएको ८/१० वर्ष भयो ।’ ’ किसानले उत्पादन गरेको तरकारी मोल गरेर लगेर बेच्ने अनि आएर र पैसा तिर्ने गरेका कारण कम लगानीमा व्यवसाय गर्न पाएपछि व्यापारी यस्ता व्यवसायमा आकर्षित भएका हुन् । त्यसरी सङ्लन गरिएका तरकारी काठमाडौँको विभिन्न ठाउँमा बिक्री हुँदै आएको छ । रासस

Loading...
dupteswor

You Might Also Like