उपत्यकाबाट २१ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ, १० कात्तिक । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी २१ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

वाग्मती सफाइ महाभियानको २८५ औँ हप्तामा आज बुद्धनगर पुलमुनिको नदी किनारमा सफाइ गरियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत २१ संस्थाका ४६० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो ।

सफाइबाट छ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वाग्मती समितिकी सञ्चालक सदस्य माला खरेलले राससलाई जानकारी दिनुभयो । सफाइमा शहरी विकास मन्त्रालयका सचिव डा रमेशप्रसाद सिंह पनि सहभागी हुनुभएको थियो ।

सफाइपछि सचिव सिंहले तिलगङ्गाबाट बुद्धनगर पुलसम्मको नदीको अनुगमन पनि गर्नुभयो । सभ्यताको स्रोत वाग्मती सफाइ गर्ने अभियानलाई मन्त्रालयले उच्च महत्व दिएको उहाँको भनाइ थियो ।

मुहानदेखिकै वाग्मती सफाइ अभियानमा जुटेको वाग्मती सुन्दरता सरोकार मञ्चले २४६ औँ हप्ताको सफाइ कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित हत्यामोचनघाट क्षेत्रमा गरेको छ । सफाइबाट दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी देवी खरेलले जानकारी दिनुभयो ।

रुद्रमती सफाइको २४० औँ हप्तामा रातोपुल–कालोपुल–सेतोपुल क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा २०० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो । नदी किनारमा रोपिएका बिरुवामा पानी हाली गोडमेल र स्याहार गर्न नजिकका घरधनीलाई अनुरोध गरिएको अभियानकर्मी रोहित गिरीले बताउनुभयो ।

विष्णुमती सफाइको २१२ हप्तामा सहभागी सबै चाडबाड मनाउन उपत्यका बाहिर गएकाले सफाइ गर्न नसकिएको अभियानकर्मी रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । मनोहरा सफाइको ८५ औँ हप्तामा नरेफाँट अघिको नदी किनारमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा जिल्ला समन्वय समिति काठमाडौँकी उपप्रमुख सरिता दाहालसहित ११० भन्दा बढी अभियानकर्मीको सक्रियता रहेको संयोजक चन्द्रप्रसाद दङ्गालले जानकारी दिनुभयो ।

चक्रपथ सफाइको ८१ औँ हप्तामा नयाँ बसपार्क आकाशे पुल वरपरको क्षेत्रमा सफाइ गरियो । त्यस क्षेत्रमा सुर्ती र गुट्खा खाएर खोल सडकमा फाल्नेको सङ्ख्या बढेपछि सातवटा पसलमा बेच्न राखिएको सुर्तीजन्य पदार्थ जफत गरी फालिएको अभियानकर्मी लोकबहादुर टण्डनले सुनाउनुभयो ।

गुट्खा, सुर्तीका खोल र प्लाष्टिकजन्य चिजबिजको बेचबिखनमा प्रतिबन्ध लगाउन अभियानकर्मीले माग गरेका छन् । सफाइबाट आठ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको थियो । सफाइमा ३५० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो । बिजीमल अघिको सडकमा मरेको कुकुर फालेर दुर्गन्ध फैलिएकामा क्लिन नेपाल संस्थालाई जिम्मा लगाइएको जनाइएको छ ।

काठमाडौँ महानगरपालिका–३१ स्थित आलोकनगर सफाइको ८१ औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । आलोकनगर सफाइ सकी अभियानकर्मीको समूह वाग्मती सफाइ महाभियानको सफाइमा बुद्धनगर पुगेको संयोजक प्रमिला पौडेलले बताउनुभयो ।
चक्रपथ बाफल खण्डको ६३ औँ हप्तामा स्युचाटार पुलबाट सोल्टी दोबाटोसम्म सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा १७५ भन्दा बढी अभियानकर्मीको सक्रियता रहेको सफाइ संयोजक ताराबहादुर कुँवरले जानकारी दिनुभयो । रासस

You Might Also Like