जिम्बाबेसँग बंगलादेश १५१ रनले पराजित

सिल्हेट, बंगलादेश । जिम्बाबे र बंगलादेशबीच सिल्हेटमा खेलिएको पहिलो टेस्ट क्रिकेटमा जिम्बाबेले बंगलादेशलाई एक सय ५१ रनले पराजित गरेको छ। पाँच वर्षभित्र जिम्बाबेको यो पहिलो जित हो।

जिम्बाबेका तर्फबाट पहिलो पटक टेस्ट खेल्दै गरेका स्पिनर ब्रेन्डन माभुताले २१ रन दिएर चार विकेट लिएका थिए भने सिकन्दर राजाले तीन विकेट लिए । बंगलादेशको दोस्रो इनिङ चौथो दिनमा एक सय ६९ रनमा समेटिएको थियो।

बंगलादेशका इमरुल कायेसले ४३ रनको योगदान दिएका थिए। दुई टेस्टको यस शृङ्खलामा जिम्बाबे १–० ले अगाडि भएको छ।बंगलादेशले पहिलो इनिङमा एक सय ४३ रन बनाएको थियो। जिम्बाबेले भने पहिलो इनिङमा दुई सय ८२ रन बनाई एक सय ३९ रनको अग्रता लिएको थियो।

दोस्रो इनिङमा एक सय ८१ रन बनाएको जिम्बाबेले बंगलादेशलाई जितका लागि तीन सय २१ रनको लक्ष्य दिएको थियो। दोस्रो टेस्ट नोभेम्बर ११ मा ढाकामा खेलिनेछ।

You Might Also Like