पर्यटकलाई लोभ्याउँदै डहरे देउराली

पोखरा, १६ मङ्सिर । समुद्री सतहबाट दुई हजार २५४ मिटरको उचाइमा रहेको डहरे देउरालीबाट हिमाली तथा पहाडी दृश्यका साथै स्याङजा, पर्वत र कास्कीका विभिन्न स्थान सजिलै देख्न सकिन्छ । स्याङजा र पर्वतको सिमानामा पर्ने यस ठाउँमा पुग्न गुराँसै गुराँसले ढकमक्क ढाकिएको जङ्गल पार गर्दै उकालो लाग्दा यहाँका मनोरम दृश्यका कारण जो कोहीले पनि थकाइलाई बिर्सन्छन् ।

अन्नपूर्ण, धवलागिरिलगायत हिमशृङ्खलासहित बाग्लुङबजार, पर्वतको सदरमुकाम कुस्माबजार, कार्कीनेटा, स्याङ्जा, पर्वत र कास्कीको सङ्गमस्थल पञ्चासे, आरुचौर, रापाकोट तथा कास्कीकै पुम्दीभुम्दीस्थित विश्व शान्ति स्तुप, पोखराका केही भागको अवलोकन गर्न पाइनुु यस स्थानको विशेषता हो ।

पर्यटकको सुविधालाई दृष्टिगत गरी डहरे देउराली नजीकैसम्म सवारीसाधन पुग्ने बाटो निर्माण गरिएको छ । हिँड्न सक्ने व्यक्तिका लागि भने तालपोखरी, सिरुवारी, पञ्चमुल, घण्टे देउरालीलगायत स्थानबाट पदयात्रा गर्दा छुट्टै आनन्दको अनुभूति हुने पञ्चमूल–पोखरा सम्पर्क समाजका सल्लाहकार गणेशप्रसाद ढकालले बताउनुभयो । उहाँका अनुसार छोटो पदयात्रासहित डहरे देउराली पुग्ने हो भने तालपोखरीबाट एक घण्टा, घण्टे देउरालीबाट साढे एक घण्टा लाग्दछ ।

त्यस्तै नेपालकै पहिलो होमस्टे गाउँ सिरुवारीबाट दुई घण्टा र पञ्चमूलबाट तीन घण्टा पदयात्रा गर्दै यहाँ आइपुगिन्छ । केही समय जङ्गलको बीचबाट हिँडेर पुगिने डहरे देउरालीको पैताला भनेर चिनिने देउरालीमा एउटा ठूलो रुखको फेदमा ढुङ्गाकै देवीको मूर्तिको आकृति छ । त्यहाँबाट केही समयको हिँडाइपछि पदयात्रीहरू परम्परागत शैलीका मन्दिर रहेको ठाउँमा पुग्छन् । डहरे देउरालीको छातीका रुपमा लिइने यस स्थलमा सन्यासीका लागि आवास गृहसमेत बनाइएको छ । यहाँ विभिन्न चाडपर्वका बेला भक्तजनको घुइँचो लाग्ने गरेको मोक्षद्वारी बाल सिद्ध योग आश्रम सञ्चालक समितिका कोषाध्यक्ष चन्द्रप्रसाद पौडेलले बताउनुभयो ।

बालाचतुर्दशीका दिन यहाँ ठूलो मेला लाग्ने गरेको जानकारी दिँदै उहाँले त्यस अवसरमा स्थानीय हस्तकलाका सामान, कृषि पेशामा प्रयोग हुने औजार, डोका, नाम्लाका साथै स्थानीयस्तरमा उत्पादित फलफूलको अत्यधिक व्यापार हुने बताउनुभयो । डहरे देउरालीको शिर र सँगै रहेको अर्को डाँडा ९बीचमा लगभग ५०० मिटर दूरी रहेको०लाई जोड्ने गरी बालाचतुर्दशीका दिन तोरण टाँग्ने प्रचलन छ । तोरण तार्नका लागि बाजागाजासहित स्याङ्जा र पर्वतका विभिन्न ठाउँबाट भक्तजन आउने गरेको कोषाध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

चैते दशैँ र विजयादशमीका समयमा पनि उक्त स्थानमा अत्यधिक भक्तजन आउने गरेको स्थानीयवासीले बताए । उक्त देवीको दर्शन गरेमा मनोकाङ्क्षा सिद्ध हुने विश्वासका साथ सामान्य एवम् भाकल पूजाका लागि स्याङ्जा, कास्की, पर्वतलगायत स्थानबाट ठूलो सङ्ख्यामा दर्शनार्थी पुग्ने गरेको पाइन्छ । यस क्षेत्रको धार्मिक महत्वलाई उजागर गर्ने लक्ष्यका साथ २०४३ सालमा योगी नरहरिनाथको सक्रियतामा धान्याञ्चल महायज्ञ गरिएको २०३२ सालदेखि उक्त स्थानको संरक्षण एवम् पूजाआजा गर्दै आउनुभएका पशुपत्यानन्द गिरीले जानकारी दिनुभयो ।

धान्याञ्चलका क्रममा मुक्तिनाथबाट अग्निज्वाला ल्याइएको जानकारी दिँदै उहाँले उक्त अग्निज्वाला अहिले पनि बलिरहेको छ भन्नुभयो । धान्याञ्चलका क्रममा सङ्कलित सहयोगबाट गुठीका लागि झण्डै ४० रोपनी जमीन खरीद गरिएको थियो । जग्गा खरीद भए पनि खेती गर्ने मानिसको अभावमा उक्त जग्गा अहिले भने प्रयोगमा आउन नसकेको कोषाध्यक्ष पौडेलको भनाइ थियो । घनाजङ्गलका साथै यहाँ विभिन्न प्रजातिका वनस्पति एवम् जडीबुटी पाइने स्थानीयवासी बताउँछन् । यहाँ पाँचऔले, हर्रो, बर्रो, सतुुवाजस्ता महत्चपूर्ण जडीबुटीका साथै चितुवा, भालुजस्ता विभिन्न प्रजातिका जङ्गली जनावर पाइन्छ । विभिन्न ५० भन्दा बढी प्रजातिका चराचुरुङ्गीको बासस्थान रहेको यस जङ्गलमा पैँयु, सल्लो, ओखर, खर्सु, उत्तिसजस्ता महत्वपूर्ण काठसमेत पाइन्छ । रासस

Entertainment
  • No categories

You Might Also Like