सोलुखुम्बु, २१ पुस । नेपाल वायुसेवा निगमको फाप्लु–विराटनगर उडान तालिका रद्द गरिएको छ ।

फाप्लुदेखि विराटनगर जाने यात्रु अभाव भएकाले तालिका रद्द गरिएको निगमले जनाएको छ । गत कात्तिक ९ गतेदेखि प्रत्येक हप्ताको शुक्रबारका लागि सो उडान तालिका राखिएको थियो । विमानले उडान भर्न तयार भए पनि यात्रु नपाएको भन्दै तालिका रद्द गरेको निगमको फाप्लुका इन्चार्ज गणेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार वायुसेवा निगमले यही पुस २४ गते ८ तारिखदेखि लागू हुने गरी उडान तालिका रद्द गरेको हो । अब यात्रु भए पनि उडान नहुने इन्चार्ज श्रेष्ठले बताउनुभयो । सोलुखुम्बुका नागरिक भने सल्लेरी विराटनगर सिधा सडक सञ्जाल जोडिएकाले सडक मार्गहुँदै जाने गरेका छन् । रासस