एजेन्सी । सामान्यतया आँखीभौं आँखाको सुरक्षाको लागि हो । तर, यो व्यक्तिको सुन्दरतासंग पनि जोडिएको छ । अनुहारको सुन्दरताको लागि आँखीभौं महत्वपूर्ण हुन्छ । त्यसैले सुन्दर आँखीभौंको लागि महिला पुरुष दुवै थ्रेडिङ्ग गर्ने गर्छन् ।

अहिलेको फेशन ट्रेन्डमा लामो बाक्लो आँखीभौंलाई राम्रो मानिएको छ । त्यसैले लामो बाक्लो आँखीभौंको लागि महिलाहरु पेन्सिलले कोरेर आँखीभौंको आकार बढाउने, विभिन्न केमिकल युक्त सौन्दर्य सामग्री प्रयोग गर्ने गर्छन्।

आँखीभौंलाई सामान्य घरेलु तरिकाबाट नै लामो र बाक्लो बनाउन सकिन्छ । यो विधिले प्राकृतिक रुपमा नै आँखीभौं सुन्दर र आकर्षक बन्छन् । यो निकै सजिलो, सस्तो र जोखिम रहित विधि हो । यस विधिमा हामीले सधै भान्सामा प्रयोग गरिने प्याजको प्रयोग गरिन्छ।

सुरुमा एउटा प्याज लिन सकिन्छ । उक्त प्याजको बोक्रा फालेर जसरि तरकारीको लागि काटिन्छ, त्यसरी नै सानो सानो टुक्रामा काट्नुपर्छ । सानो सानो टुक्रा बनाइएको उक्त प्याजलाई मिक्सरमा राखेर पेस्ट बनाउनुपर्छ ।

अब उक्त प्याजको पेस्टलाई निचोरेर एउटा भाँडोमा त्यसको रस छानेर राख्नुपर्छ। उक्त रसमा एक चम्चा नरिवलको तेल पनि मिलाउनुपर्छ । राम्रोसंग मिलाइसकेपछि कपास या कुनै सफा सुतिको कपडाको सहायताले आफ्नो आँखीभौंमा लगाउनुपर्छ।

हरेक राती सुत्नुभन्दा अगाडी यो प्याज र नरिवलको तेलको मिक्स लगाउनुपर्छ । बिहान उठिसकेपछि सफा पानीले धुनुपर्छ । प्याजमा हुने तत्वले आखिभौं उमार्ने, बढाउने काम गर्छ । नरिवलको तेलले आँखीभौंलाई चिल्लो र कालो बनाइदिन्छ।