एजेन्सी । महिला होस् या पुरुष सुन्दर व्यक्तित्वको लागि सुन्दर कपालको महत्व हुन्छ । बढ्दो वातावरण प्रदुषण, व्यस्त जीवनशैली, मानसिक चिन्ता, केमिकल प्रयोग गरिएका स्याम्पु, तेल, कन्डिसनर आदिले गर्दा अहिले महिला पुरुष दुवैमा कपाल झर्ने, टुक्रिने, सेतो हुने, रुखो हुने, चायाँ पर्ने समस्या बढिरहेको छ।

व्यस्त जीवनको केही मिनेट समय निकाल्न सक्ने हो भने रुखो भएको कपाल पनि चमकदार र लहराउने बनाउन सकिन्छ। यसको लागि महँगो सामग्री पनि आवश्यक हुँदैन । हामीले प्याज भान्सामा हरेकदिन जसो प्रयोग गर्ने गर्छौं । प्याज काट्दा प्याजको बाहिरि भाग फाल्ने गरिन्छ।

त्यो फोहोरमा फालिने प्याजको बाहिरि भागले नै कपाललाई चमकदार बनाइदिन्छ । यसको लागि प्याजको बोक्रालाई नुहाउने भन्दा अघिल्लो दिनमा रातभर पानीमा भिजाएर राख्नुपर्छ।

नुहाउने दिनमा कपालमा तोरीको तेल लगाउनुपर्छ । बजारमा पाइने अरु तेलभन्दा कपालको लागि तोरीको तेल राम्रो मानिन्छ । सम्भव भएसम्म तोरीको तेलमा भिटामिन इ मिलाएर लगाउँदा राम्रो हुन्छ । भिटामिन इ क्याप्सुलमा हुन्छ। यसलाई काटेर तेलमा राम्रोसंग मिलाएपछि कपालमा जरा जरामा लगाएर मसाज गर्नुपर्छ । भिटामिन इ क्याप्सुल बजारमा सजिलोसंग पाउन सकिन्छ । यो धेरै महँगो पनि हुँदैन।

राम्रोसंग तेल लगाइसकेपछि कम्तीमा दुईघण्टा कपाल यत्तिकै राख्नुपर्छ । त्यसपछि कपाललाई स्याम्पुले धुन सकिन्छ । कपालमा स्याम्पु लगाएर पखाल्दा अघिल्लो दिन प्याजको बोक्रा भिजाएको पानीले पखाल्नुपर्छ । यो विधि हरेक हप्ता दुई पटक गर्नुपर्छ । यसरि नुहाउन थालेपछि कपालमा देखिने सबै समस्याहरु बिस्तारै हट्दै जान्छन् । कपाल बाक्लो, लामो, चमकदार, चायाँ रहित सफा, नरम हुन्छ ।