धनुषा, ११ माघ । जन्ती बोकेको बसमा करेन्ट लाग्दा ७ जनाको मृत्यु भएको छ । यसअघि ९ स्थानीय वासीले ९ जनाको ज्यान गएको बताएपनि ७ जनाको मात्रै शव फेला परेको हो।

सबैला नगरपालिकाअन्तर्गत पर्ने बल्टिया कोठियामा ११ हजार भोल्ट विद्युत् प्रवाह भइरहेको तारमा ना५ख १७५२ नंको जन्ती बोकेको बसले छुँदा ७ जन्तीको मृत्यु भएको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिनुभयो ।

सिन्धुलीको दुधौली नगरपालिकास्थित जितपुर टोलबाट धनुषाको बल्टिया कोठियातर्फ जन्ती बोकेर आउँदै गरेको सो बस दुर्घटनामा परेको हो । बसमा सवार अन्य जन्ती गम्भीर घाइते भएका छन्।

घाइतेलाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगिएको छ । बसभित्र करीब ४० जन्ती सवार रहेको बताइएको छ ।