rice-harvest

पर्वत, ११ कात्तिक : कुस्मा नगरपालिका–९ कटुवाचौपारीका कृषक हरि अधिकारीलाई अहिले हाइब्रिड जातको धान लगाएकामा पछुतो भएकोे छ । थोरै जमीनमा पनि धेरै उत्पादन हुने आशामा वर्णशङ्कर जातको धान लगाउनुभएका उहाँको धानका बालामा कालो पोके नामक ढुसीको प्रकोप फैलिएको छ ।

उहाँले भन्नुभयो,“धेरै फल्छ भनेर छिमेकीका अरूले झै मैले पनि अघिल्लो वर्षदेखि नै हाइब्रिड जातको बीउ लगाउँदै आएको थिएँ तर अहिले धानको बालामा कालो पोके मात्र छ ।” कुटवाचौपारीका हरिजस्तै हाइब्रिड जातको धान लगाउँदै आएका जिल्लाका धेरै कृषक निराश छन् ।

धान थन्क्याउने बेला हुनै लाग्दा यस्तो प्रकोप बढेपछि समस्या भएको फलेवास नगरपालिकाका कृषक विष्णुप्रसाद उपाध्यायले बताउनुभयो । जिल्लाका विभिन्न स्थानका कृषकले धानमा सङ््क्रमण देखिएको भन्दै जानकारी गराएकाले कालो पोकोको सङ्क्रमण जिल्लाभर नै रहेको हुनसक्ने उहाँको भनाइ थियो ।

उक्त नगरपालिकाको कटुवाचौपारी, वितलव, पकुवा, चुवा, आर्थरका साथै फलेवास नगरपालिकाको मुडिकुवा, देवीस्थान, शङ्करपोखरी जलजला गाउँपालिकाको मल्लाज, खनियाघाट, लेकफाँट मोदी गाउँपालिकाको तिलाहार, डिमुवा, गिजानलगायत अन्य गाउँपालिकामा पनि कालो पोकेको सङ्क्रमण देखिएको छ ।

कृषि प्राविधिकका अनुसार यस वर्ष सबैजसो जातका धानमा कालो पोकेको सङ्क्रमण देखिए पनि यसबाट बढी असर परेकोे धानको जात चाँही वर्णशङ्कर हो । कृषि ज्ञान केन्द्रका प्रमुख वासुदेव रेग्मीले आफूले कृषकको खेतमै गएर कालो पोकेको प्रकोपबारे अवलोकन गरेको बताउनुभयो । “कृषकलाई मैले पटकपटक हाइब्रिड जातको पछाडि दगुर्नु राम्रो होइन, यहाँको वातावरणले त्यो जातलाई असर गर्छ भन्दै आएको थिएँ ।” उहाँले भन्नुभयो, “हाइब्रिडमध्येको वर्णशङ्कर जातमा सङ्क्रमण बढी देखिएको छ ।

हाइब्रिड जातको धानको लागि आवश्यक पर्ने माटोको गुण, तापक्रम र अन्य वातावरण पर्वत जिल्लामा नभएको बताउँदै उहाँले आधुनिक तरिकाले स्थानीय बीउलाई नै मुख्य बालीका रूपमा लिन सुझाउनुभयो । हाइब्रिड जातले केही समय राम्रै उत्पादन भएको जस्तो देखिए पनि त्यसका लागि चाहिने वातावरण नमिल्दा कृषकलाई ठूलो मार पर्ने प्रमुख रेग्मीको भनाइ थियो ।

प्राय युएस ३१२, एआरआइ जेडइ ६४४४, राधा डीवाइलगायत उन्नत जातमा पनि कालो पोकेको सङ्क्रमण देखिएको उक्त कार्यालयले तथ्याङ्कमा उल्लेख छ । स्थानीय रूपमा पाइने जेठो बुढो, पहेँले, एक्ले, गुडुरा, कनजिरा, विरम्फुलेलगायत जातमा भने यस्तो समस्या देखिएको छैन ।

प्राविधिकका अनुसार स्थानीय हावापानी, माटो र तापमान सहन नसक्ने भएकाले उन्नत जातको धानमा यो रोग बढी मात्रामा लाग्ने गरेको छ । रात र दिनको तापक्रममा धेरै फरक हुने, पसाउने बेलामा वर्षा भइरहने र रासायनिक मलको बढी प्रयोगलगायत कारण यस्तो समस्या देखिने गरेको छ । कालो पोकेबाट सङ्क्रमित धान र पराल दुवै विषाक्त हुने भएकाले यस्तो धानको चामल खाएमा ‘फुड पोइजन’, झाडाबान्ता, पेट दुख्नेजस्ता समस्या हुनाका साथै पराल, ढुटो र कनिका खुवाएका पशुमा पनि पेटसम्बन्धी समस्या देखिने पशु चिकित्सक विमल पौडेलले बताउनुभयो । (रासस)