dr-dharmakanta-baskota-tu-tribhuwan-university

–प्रकाश सिलवाल काठमाडौँ, १८ कात्तिक : त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा डा धर्मकान्त बाँस्कोटाले व्यवस्थापनमा पारदर्शिता र निष्पक्षता अपनाउँदै शैक्षिक गुणस्तर मापनका लागि स्पष्ट मादपण्ड तर्जुमा गर्ने सङ्कल्प गर्नुभएको छ ।

आर्थिक अनियमितता, दलीय राजनीतीकरण र आन्तरिक किचलोले वार्षिक पात्रोसमेत प्रभावित हुँदै आएको त्रिविलाई पुनःजीवन दिने सन्दर्भमा आफूले सम्पूर्ण जानकारी लिएपछि स्पष्ट कार्ययोजनाका साथ आफ्नो विवेकले भ्याएसम्म राम्रो काम गर्ने उपकुलपति डा बाँस्कोटाको भनाइ छ ।

नेपाल मेडिकल काउन्सिलको अध्यक्ष हुँदा त्यस क्षेत्रका सुधारमा भूमिका खेल्नुभएका डा बाँस्कोटाले कीर्तिपुरस्थित त्रिवि उपकुलपतिको कार्यालयमा १९औँ उपकुलपतिका रुपमा आज पदबहालीपछि रासससँग कुरा गर्दै निष्पक्षता, सामूहिक कार्य, अनुशासन, जवाफदेहिता र कर्तव्यपरायणता आफ्नो कार्यशैली भएकाले पहिला आफूले पालना गरी अरुलाई पालन गराउने जनाउनुभयो ।

उहाँले बहालीकै क्रममा पदाधिकारी, विभिन्न सङ्कायमा डीन र विभागीय प्रमुखलाई इमान्दार भएर काम गरी त्रिविको छवि माथि उठाउन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले आइतबार ‘सर्च कमिटी’ को सिफारिसमध्येबाट डा बाँस्कोटालाई सो पदमा नियुक्त गर्नुभएको थियो । नाक, कान र घाँटी विशेषज्ञ झापा निवासी डा बाँस्कोटा त्रिवि शिक्षण अस्पतालमा सो विषयमा पूर्व विभागीय प्रमुख हुनुहुन्छ ।

“त्रिविको भौतिक र प्राज्ञिक सम्पत्तिको सदुपयोग कसरी गर्न सकिन्छ भन्नेमा ‘यार्ड स्टिक’ मापदण्डका आधारमा काम गर्नेछु । मापदण्ड र कानूनी आधारभन्दा बाहिरका काम भए कानूनी दायरामा पर्छ । दलगत भागबण्डा हुँदैन”, डा बाँस्कोटाले भन्नुभयो, “मेरा लागि जो जुनसुकै आस्थामा होस्, उसको काम र परिणाम चाहिन्छ ।”

व्यवस्थापनका क्षेत्रमा ‘यार्ड स्टिक’ एक विश्वव्यापी रणनीतिक मापदण्डको आधार हो । यसले व्यवस्थापन र कार्यकारीमा रहेका व्यक्तिलाई परामर्श दिई परिणामलाई ध्यानमा राख्नेछ । उहाँले हरेक महिना विभिन्न डीन र विभागीय प्रमुखसँग समस्या र समाधानका लागि बैठक गरिने जानकारी दिनुभयो ।

उपकुलपति बाँस्कोटाले मन, धन र कर्मले प्रतिबद्ध भई नेतृत्वको प्रमुख काम भिजन सिर्जना गरी स्रोत जुटाउने र त्रिविलाई विश्वमा चिनाउने दायित्व निर्वाह गर्न आफूले भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले त्रिविमा भौतिक पूर्वाधार निर्माणमा समस्या रहेको उल्लेख गर्दै प्राध्यापनको वातावरण सिर्जना गर्दै आवश्यकताअनुसार नीतिनियम संशोधन गरी शैक्षिक पात्रो नियमित गर्ने र पाठ्यक्रम सुधार गर्ने कार्ययोजनालाई मार्गचित्र बनाएर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।रासस

शिक्षाध्यक्ष प्रा डा सुधा त्रिपाठीले विगतभन्दा फरक ढङ्गले नेतृत्व दिएर निरन्तरताको क्रमभङ्ग गर्नुपर्ने आवश्यकता औँल्याउँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । त्रिविका उपकुलपति डा तीर्थराज खनियाँको कार्यकाल गत भदौ ५ गते सकिएपछि शिक्षाध्यक्ष डा त्रिपाठीलाई निमित्त दिइएको थियो । सर्च कमिटीले बाँस्कोटासहित डा भगवान कोइराला र डा चन्द्रमणि पौडेललाई सिफारिस गरेको थियो ।

विश्वविद्यालय आफ्नै ऐनबाट सञ्चालित भएकाले उपकुलपतिले शपथग्रहण लिने व्यवस्था नभएकाले डा बाँस्कोटाले आज पत्र बुझेपछि पदबहाली गर्नुभएको हो । उहाँलाई शिक्षाध्यक्ष डा त्रिपाठी, रजिष्ट्रार डिल्लीराम उप्रेती, त्रिविका प्राध्यापक सङ्घका सभापति प्रा डा वसन्त ढकाल र त्रिवि कर्मचारी सङ्घ केन्द्रीय कार्यलय एकाइ सभापति चेतनाथ न्यौपाने, विभिन्न सङ्कायका डीन र विभागीय प्रमुखले स्वागत गर्नुभएको थियो ।

विसं २०३६ वैशाख २६ गते सहायक प्रशिक्षकबाट त्रिवि सेवामा प्रवेश गर्नुभएका डा बाँस्कोटा विसं २०६६ देखि प्राध्यापकमा बढुवा हुनुभएको हो । त्रिवि ऐन २०४९ अनुसार त्रिवि उपकुलपतिको पदावधि चार वर्षको रहने व्यवस्था छ । मुलुकको जेठो विश्वविद्यालय त्रिविले उच्चशिक्षाको ८० प्रतिशत विद्यार्थीको हिस्सा ओगट्दै आएको छ ।

तीन विश्वविद्यालयमा चाँडै नियुक्ति हुने

उपकुलपति रिक्त रहेका पोखरा विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयका लागि सिफारिस गर्न गठित सर्च कमिटीको बैठक मङ्गलबारदेखि बस्ने भएको छ । कमिटीका अध्यक्ष एवं शिक्षामन्त्री गिरिराजमणि पोखरेलको निजी सचिवालयका अनुसार नियुक्ति सिफारिस गर्न आन्तरिक सूची ९रोष्टर० तयारीका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यही कात्तिक ९ गते सात दिनको समय दिई व्यक्तिगत विवरण पठाउन सूचना प्रकाशन गरेकामा विवरण प्राप्त भइसकेकाले बैठक बस्न लागेको हो ।

उपकुलपति नियुक्तिका लागि यसरी सूचना गरिएको यो पहिलोपटक हो । कमिटीले कुलपति एवं प्रधानमन्त्रीलाई प्रत्येक विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गर्नेछ ।