khulla manch

काठमाडौँ, मङ्सिर ८ गते । शनिबार बिहानै टुँडिखेलस्थित खरीको बोटमुनि जम्मा भएका साहित्यकारहरूमाझ गायक वीरप्रसाद भन्सालीले सुनाउनुभयो, जनकवि दुर्गालाल श्रेष्ठको टुँडिखेल अतिक्रमणसम्बन्धी गीत ।

‘मुक्त टुँडिखेल’ नागरिक अभियानको समर्थन गर्न देशका साहित्यिक व्यक्तित्वहरू टुँडिखेलमा भेला भएका थिए । यो साहित्यिक जमघटमा स्रष्टाहरूले गीत, कविता, व्यङ्ग्यमार्फत टुँडिखेल अतिक्रमणको विरोध गरे । कविहरू श्रवण मुकारुङ, विप्लव प्रतीक, प्रभा भट्टराई, डा. रामप्रसाद ज्ञवालीलगायत नयाँ र पुराना पुस्ताका स्रष्टाहरूले सिर्जनामार्फत टुँडिखेललाई खुला बनाउन सरकारलाई आग्रह गर्नुभयो ।

साहित्यिक जमघट त्यही रुखको फेदमा गरिएको थियो, जहाँ असन इटुम्बहालका नेवारले फागु पूर्णिमाका बेला गुरुमापालाई राँगाको मासु र भात चढाउँछन् । स्थानीयका संस्कृति, परम्परासँग जोडिएका धेरै मूर्त अमूर्त सम्पदाको साइनो टुँडिखेलसँग छ । तर, पछिल्लो समय यसको व्यापक अतिक्रमणपछि ती संस्कृति र परम्परामाथि चुनौती आइलागेको अनुभव यहाँका स्थानीयले गरेका छन् । ‘मुक्त टुँडिखेल’ अभियानका संयोजक विजय श्रेष्ठ भन्नुहुन्छ, “हाम्रो संस्कृति, परम्परा र वातावरणमाथि चुनौती आइलागेपछि हामीले नै उठ्नुपरेको छ ।”

Loading...

सहरमा टुँडिखेलजस्तो खुला स्थान जोगाउन लाग्नुपर्नेमा सरकारी निकायले नै विभिन्न नाममा आफैँ संरचना बनाउने र बनाउन लगाएकोमा स्थानीय मात्र होइन, स्रष्टाहरू पनि आक्रोशित भए । “धेरै क्रान्ति सुरुआतको मञ्च टुँडिखेलको विजोग अवस्थाले प्रजातन्त्रलाई नै गिज्याइरहेको छ । नागरिक र सरकार सबै जागेर यसको संरक्षण गर्नुपर्छ,” उन्मुक्त पुस्ता नामक साहित्यिक अभियानका कवि मुक्तान थेबाले भन्नुभयो । बृहत् टुँडिखेलको अतिक्रमण रोक्न बौद्धिक दबाब सिर्जना गर्नका लागि साहित्यिक जमघट आयोजना गरिएको मुक्त टुँडिखेल अभियानका संयोजक विजय श्रेष्ठले बताउनुभयो ।

‘मुक्त टुँडिखेल’ नागरिक अभियानले तीन महिना टुँडिखेलमा विभिन्न दबाबमूलक कार्यक्रम गर्ने जनाएको छ । यो बृहत्तर टुँडिखेलको गौरवमय इतिहास र सौन्दर्य फिर्ता ल्याउने अभियान भएको सम्पदा अभियन्ता आलोक तुलाधरको भनाइ छ । उहाँका अनुसार टुँडिखेलमा बनेका सम्पूर्ण संरचना हटाउनुपर्ने नागरिक अभियानको माग भए पनि रत्नपार्क र सैनिक मञ्चको बीचमा रहेको खुलामञ्चको सम्पूर्ण सामग्री र संरचना हटाउन दबाब दिनु अभियानको तत्कालीन माग रहेको बताउनुभयो ।

इतिहासको विभिन्न कालखण्डको क्रान्ति उद्घोष गर्ने थलोसमेत रहेको टुँडिखेलस्थित खुलामञ्च अहिले अतिक्रमणले कुरूप बनेको छ । महानगरपालिकाले त्यहाँ बसपार्क सञ्चालन गर्ने अनुमति दिएको छ । अस्थायी रूपमा सञ्चालन गरिएको भनिए पनि गएको दशैँको बिदामा बसपार्क ढलान गरिएको छ । यसको स्थानीयले विरोध गर्दै आइरहेका छन् ।

त्यस्तै शौचालयको नाममा अनधिकृत व्यापारिक संरचना र गतिविधि सञ्चालन गर्दा सहरी खुला स्थलको सार्वजनिक उपभोगमा बाधा पुगेको सहरी योजनाकार राकेश महर्जन बताउनुहुन्छ । अहिले खुलामञ्चमा बसपार्क, पसल, पार्किङ, भवन, टहराजस्ता संरचनाहरूले कुरूप मात्र बनाएको छैन, चाहिएको बेला नागरिकले प्रयोग गर्न पाएका छैनन् ।

सहरी वातावरण, संस्कृति, विपद् व्यवस्थापनका लागि खुला स्थानलाई खुला स्थानकै रूपमा संरक्षण गर्नुपर्ने यो नागरिक अभियानले माग गरेको छ । लिच्छवि कालदेखि नै ठूलो चौरका रूपमा टुँडिखेल संरक्षित रहेको विभिन्न प्रमाण भेटिन्छन् ।

त्यतिबेलादेखि नै स्थानीयको कुलदेवता, जात्रापर्वसँग सम्बन्धित विभिन्न सम्पदा पनि टुँडिखेलमा रहँदै आएको छ । जङ्गबहादुर राणाले विश्वयुद्धमा जाने गोर्खाली सेनालाई परेड खेलाएको, चन्द्रशमशेरले सतीप्रथा र दासप्रथा अन्त्यको घोषणा गरेको, १९९० सालको भुइँचालो पीडितलाई राहत दिने भाषण पनि जुद्धशमशेरले यहीँ गरेको ऐतिहासिक तथ्यहरू छन् । त्यसपछिका विभिन्न क्रान्ति र आन्दोलनको उद्घोष पनि टुँडिखेलमा हुँदै आएका छन् ।

पहिलेको बृहत्तर टुँडिखेल रानीपोखरीदेखि दशरथ रङ्गशालासम्म रहेको स्थानीय पाकाहरू सुनाउँछन् । हाल दशरथ रङ्गशाला रहेको स्थानमा विसं २०१३ सम्म पनि पोखरी रहेको अभियन्ता आलोक तुलाधर बताउनुहुन्छ । विसं २०१३ सालदेखि २०५५ सालसम्म विभिन्न चरणमा दशरथ रङ्गशाला निर्माण गरियो । यसपछि बृहत् टुँडिखेलको क्षेत्रफल खुम्चियो । पञ्चायत कालमा नै रत्नपार्क, सैनिक मञ्च, सैनिक मुख्यालयका विभिन्न भवनलगायत संरचना बनेपछि टुँडिखेलको सार्वजनिक प्रयोग खुम्चिँदै गएको जानकारहरू बताउँछन् ।

Loading...
Loading...