Tribhuwan International Airport Kathmandu ticket check

काठमाडौँ, मङ्सिर २७ गते । त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलअन्तर्गत प्रस्थान कक्षको प्रवेशद्वार ‘गेट–ए’ बाहिर र आगमन कक्ष बाहिर परिसरमा लागेको सर्वसाधारणको बाक्लो भीड देख्दा लाग्छ यहाँ कुनै जात्रा चल्दैछ ।

सवारी साधन गुड्ने सडक नै ढाकिने गरी प्रत्येक दिन लाग्ने यो अनौठो भीडले नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको अस्तव्यस्ततालाई झल्काउँछ । प्रि–पेड ट्याक्सी सेवाका नाममा काउन्टर स्थापना गरी बसेका ट्याक्सी तथा हरियो नम्बर प्लेट सवारी चालकले यात्रुलाई तानातान गरेको देखिन्छ ।

नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा बिहीवार विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनअन्तर्गत प्रस्थान र आगमन कक्षका अतिरिक्त यहाँको सुरक्षा अवस्था, सरसफाइ, अध्यागमन सेवा, नयाँ प्रविधिको प्रयोग र सुधारका सम्बन्धमा स्थलगत अनुगमनका क्रममा यस्तो अवस्था देखिएको हो ।

विभेदको सुरुवात

वैदेशिक रोजगारमा जाने नेपालीमाथि अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थानकक्षबाटै विभेद गरिएको प्रष्ट हुन्छ । यहाँ चारवटा गेट (प्रवेशद्वार) छन् । तीमध्ये ‘ए’ बाट मात्र श्रम स्वीकृतिप्राप्त कामदारलाई प्रवेश अनुमति भएकाले गेटबाहिर प्रत्येक दिन बाक्लो भीड लाग्ने गरेको हो । विमानस्थलको चारवटा प्रवेशद्वारमध्ये दुईटा वैदेशिक रोजगारीमा जाने नेपालीलाई छुट्याउँदा भीड स्वतः हट्ने देखिन्छ । तर श्रम स्वीकृतिको समस्या देखाउँदै यो व्यवस्था हटाउनेमा प्रहरी, विमानस्थल कर्मचारी र श्रम कार्यालय सकारात्मक देखिँदैनन् ।

त्यस्तै प्रत्येक गेटमा एकजना सिपाहीले यात्रुको ‘अनुहार र टिकट’ हेरी प्रवेशको अनुमति दिन्छन् । यो प्राथमिक चरणको सामान्य सुरक्षा जाँच हो महानगरीय प्रहरी त्रिभुवन विमानस्थल सुरक्षा गणका प्रमुख प्रहरी नायब महानिरीक्षक सूर्यप्रसाद उपाध्यायले भन्नुभयो,‘‘त्यसपछि तीन स्थानमा सुरक्षा जाँच हुन्छ । ’’ यात्रुको लगेज, ब्याग तथा झोलालगायतका सामग्री ‘बोर्डिङ पास’ बनाउनु पहिला एकपटक र पास बनाइसकेपछि दोस्रोपटक गरी दुईपटक एक्सरे मेसिनबाट जाँच हुन्छ, त्यसपछिमात्र सुरक्षा ट्याग लगाई लोड गर्न पठाइन्छ ।

परीक्षणको काइदा

त्यस्तै यात्रुलाई पनि सुरक्षाकर्मीले बोर्डिङ पास बनाउन पूर्व र पास बनाई अध्यागमन स्वीकृत गरिसकेपछि पुनः वाकथ्रो मेसिन जडित गेटबाट र शरीर खानतलासी गरी सुरक्षा जाँच गरिन्छ । विमानस्थल प्रहरी प्रमुख उपाध्याय सुरक्षा व्यवस्थामा कुनै कमी कमजोरी नभएको बताउनुहुन्छ । ‘हामीसँंग बडी–एक्सरे मेसिन छैन, त्यसको विकल्पको रूपमा वाकथ्रो मेसिन र हातैले शरीर छामेर जाँच गर्ने कार्य भइरहेको छ’ उहाँले थप्नुभयो, ‘‘अत्याधुनिक प्रविधिमैत्री सुरक्षा व्यवस्थासँगै अनावश्यक भीड हटाउन भैरहवा विमानस्थल सञ्चालनमा आउनैपर्छ । ’’

झोला र लगेजलगायतका सामग्री चेकजाँच गर्ने एक्स–रे मेसिन राख्न समस्या छ । प्रस्थानकक्षमा हाल चारवटा मेसिनबाट काम भइरहेको छ भने दुईटा सञ्चालनको तयारीमा छन् । एकैसाथ छवटा एक्सरे मेसिन सञ्चालनमा आउँदा झोला तथा लगेज लगायतका सामग्री चेकिङमा हुने ढिलासुस्ती हट्ने अपेक्षा गरिएको छ ।

ढिलासुस्तीको कुरै नगरौँ

विमानस्थलको आगमन तथा प्रस्थान कक्षअन्तर्गत अध्यागमन सेवामा निकै ढिलासुस्ती हुने गरेको छ । अध्यागमनमा करिब एकघण्टा लाम बस्नुपरेको गुनासो यात्रुले नै गरेका हुन् । प्रस्थान कक्षमा होस् कि आगमन कक्षमा लाइन लागेर अध्यागमन सेवा लिन बाध्य छन् यात्रु ।

विभागका निर्देशक रामचन्द्र तिवारीले आगमन प्रवेशाज्ञा लिनेका कारण ढिलो हुने गरेको स्वीकार्नुभयो । यसमा सुधार गर्न अनलाइन सेवा सुरु हुँदैछ, एक–डेढ महिनाभित्रमा अध्यागमनमा देखिएका सबै समस्या हट्छन् । उहाँले अध्यागमन शुल्कमा सहजीकरणका साथै दक्ष जनशक्ति र सर्भिस काउन्टर थप्ने कार्य भइरहेको जानकारी दिनुभयो ।

यसै महिना (सन् २०१९ डिसेम्बर) भित्र ‘एडभान्स प्यासेन्जर इमिगे्रसन सिस्टम’
(एपीआईएस) सेवा सुरु गर्ने दाबी गरे पनि कामको गति देख्दा त्यस्तो अवस्था देखिँदैन । विभागले अध्यागमन सेवा कक्ष भने सफा, चिटिक्क र आकर्षक बनाएको छ ।

स्तरोन्नति अति जरुरी

अन्तर्राष्ट्रिय हवाई सेवा थपिने क्रमसँंगै यात्रुको चापका कारण विमानस्थल साँघुरो बन्दै गएको छ । विमानस्थल स्तरोन्नति कार्य भइरहेको छ । अन्तर्राष्ट्रिय विमानस्थल प्रवक्ता तेजप्रसाद पौडेलका अनुसार, तीन सय मिटर रन–वे थपिँदैछ भने दुईटा पार्किङ–वे निर्माण भइरहेका छन् ।

वाइड बडी प्लेन पार्किङका लागि नौवटा पार्किङ सञ्चालनमा छन् । थप दुईटाका लागि निर्माण भएसँगै रन–वे तथा पार्किङ नपाएर प्लेन आकाशमै होल्ड बस्नुपर्ने बाध्यता हट्नेछ । तर बडी स्क्यानर मेसिन राख्नेमा भने विमानस्थल व्यवस्थापनले चासो देखाएको छैन । प्रत्येक दिन आन्तरिक करिब ११० र बाह्य ५० भन्दा माथि गरी १६० उडान हुने गर्छन् । अन्तर्राष्ट्रिय उडान थप्ने हो र सरकारले घोषणा गरेअनुरूप एक वर्षमा २० लाखभन्दा बढी पर्यटक भिœयाउने हो भने विमानस्थलमा ‘जाम’ हुने देखिन्छ ।

नाम मात्रको बुटिक

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुटिकका रूपमा सजाउने भने पनि फोहोर देख्दा बाहिर र भित्रको अवस्था समान जस्तै लाग्छ । प्रस्थान कक्षमा त्यस्तो कलात्मक तथा आकर्षक सजावट छैन । तर आगमन कक्षको भित्रीतर्फको मुख्य प्रवेशद्वारमा पित्तलको गाग्रीसहितका गमला राखिएका छन् ।

विमानस्थलको भ¥याङ, सिलिङ, पैदलमार्ग र विश्रामस्थल बुटिक बन्न सकेका छैनन् । यात्रु बस्ने कुर्सीसमेत बुटिक नभई सामान्य जस्तै छन् । शौचालयमा तातो पानीको व्यवस्था भए पनि टिस्यु पेपर र हातको चिसो हटाउन प्रयोग हुने मेसिनको अभाव देखिन्छ ।

Source: Gorkha Patra online