korna-vir

काठमाडौँ, चैत १ गते । विश्व स्वास्थ्य सङ्गठनले विश्वभर कोरोना फैलिएका देशको सङ्ख्या १२३ नाघेको जनाएको छ । हालसम्म एक लाख ३२ हजार ५६७ जना सङ्क्रमित भेटिएका छन् र चार हजार ९४७ जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमित भएकामध्ये ७० हजारभन्दा बढी निको भएर घर फर्केका छन् । अझै पाँच हजारभन्दा बढी सङ्क्रमित उच्च जोखिममा छन् ।

चीन उन्मुक्तितिर, इरान र इटाली सङ्कटमा

पछिल्लो समय सबैभन्दा बढी चीनका नागरिक निको भएर फर्केका छन् । कोरोना फैलिएको स्थान बुहानमा पुगेर चीनका राष्ट्रपति सी चिनफिङले चीन कोरोना सङ्कटबाट माथि उठेको सन्देश दिनुभएको छ । सो क्रममा चीनका स्वास्थ्यकर्मीले लगाएको मास्क खोलेर सङ्क्रमण टाढिँदै गएकोमा खुसी व्यक्त गरेका थिए ।

हालसम्म ८० हजार ९८१ जनामा सङ्क्रमण भेटिएको छ, जसमध्ये तीन हजार ९१७ ले सङ्क्रमणका कारण ज्यान गुमाएका थिए । पछिल्लो समय जम्मा २१ वटा मात्र नयाँ सङ्क्रमित भेटिनुले चीन कोरोना सङ्कटबाट उम्कँदै गएको देखाउँछ ।

बाँकी देशमध्ये इरान र इटालीमा भने सङ्क्रमणको सङ्कट बढ्दो छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार इटालीमा १५ हजार ११३ सङ्क्रमित भेटिएका छन्, जसमध्ये एक हजार १६ को ज्यान गएको छ । इरानमा सङ्कटकाल नै घोषणा गरेर घरघरमै आइसोलेसन वार्ड बनाइएको छ । त्यहाँ १० हजार ७५ मा कोरोनाको सङ्क्रमण फेलापरेको छ, जसमध्ये ४२९ ले ज्यान गुमाएका छन् ।

दक्षिण कोरियामा भने सात हजार ९७९ सङ्क्रमित रहेका छन्, जसमध्ये ७१ को मृत्यु भइसकेको छ । कोरियाको तुलनामा इटालीमा दस गुणाले मृत्युदर बढेको तथ्यले बताउँछ । इरानमा चार हजार ७४७ मध्ये १२४ जनाले ज्यान गुमाएका छन् । इटालीमा चार हजार ६३६ मध्ये १९७ को ज्यान कोरोनाले लिएको छ । यी तीन देशमध्ये इटालीमा बढी मृत्युदर देखिएको छ ।

पछिल्लो समय स्पेनमा सङ्क्रमित हुने र मृत्युको सङ्ख्या बढ्दैछ । सङ्क्रमित धेरै भएको कोरियाभन्दा बढी ८७ को मृत्यु भएको छ । स्पेनमा तीन हजार १४८ सङ्क्रमित छन् । त्यसपछि फ्रान्स, जर्मनी र अमेरिकामा सङ्क्रमित र मृत्युदर बढ्दो क्रममा रहेको छ ।

थप सहयोगको आह्वान

कोरोना रोकथामका लागि विश्व स्वास्थ्य सङ्गठनले थप सहयोगको आह्वान गरेको छ । उसले रणनीतिक तयारी गर्न मात्र ४४० मिलियन डलर लाग्ने भन्दै थप सहयोगको आह्वान गरेको हो ।

विश्व आर्थिक मञ्च र अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्ससँग मिलेर काम गरिरहेको जानकारी दिँदै आठवटा सिद्धान्तका आधारमा विभिन्न देशको पूर्व तयारीमा सङ्गठन क्रियाशील रहेको जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले संरक्षणकारी उपकरण ५७ देशलाई उपलब्ध गराएको र थप २८ देशका लागि पठाउने तयारी गरिरहेको जनाएको छ । बाँकी १२० देशमा उसले ल्याबका उपकरण सहयोग गरेको छ ।

कोभिड–१९ नयाँ भाइरस भएकाले यस बारेमा अध्ययन गरेर सुरक्षित हुने नयाँ उपाय अपनाउँदै प्रभाव न्यूनीकरण गर्नुपर्नेमा जोड दिइएको छ । कोरोना रोक्न सकिने भाइरस रहेकाले हरेक देशले आफ्नै स्तरमा जनस्वास्थ्यमा मापन गर्दै ठूलो समस्याबाट बच्न सकिने औँल्याएको छ ।

चारवटा महत्वपूर्ण उपाय अपनाउन विश्व स्वास्थ्य सङ्गठनले आग्रह गरेको छ । पहिलोमा पूर्व तयारीसँगै लड्ने तयारी, दोस्रोमा सङ्क्रमण पत्ता लगाउने, सुरक्षित पार्ने र उपचार गर्ने, तेस्रोमा कोरोना घटाउने र यसलाई नियन्त्रणमा राख्ने तथा चौथोमा खोपको आविष्कार र सुधार गर्ने उपाय औँल्याएको छ । – गोरखापत्र अनलाइन