buspark

काठमाडौँ, चैत ८ गते । कोरोना भाइरस (कोभिड–१९) को त्रासले काठमाडौँ उपत्यकाबाट बाहिर जानेको सङ्ख्या एक्कासि बढेको छ । शुक्रबार करिब डेढ लाख जना उपत्यका बाहिर गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यात्रुले भाइरसबाट बच्नका लागि अपनाउनुपर्ने सावधानीबिना यात्रा गरेका छन् ।

जिल्ला फर्किनेको भीडले नयाँ बसपार्क, कलङ्की, कोटेश्वर, गौशाला बल्खुलगायतका बसस्टेसनमा दशैँको जस्तै चहलपहल देखिएको छ । बसपार्कमा यात्रुको चाप बढेको छ । लामो दूरीका बसहरूमा टिकट लिनेहरूको लामो लाइन छ । नयाँ बसपार्कमा शुक्रबार लाइन व्यवस्थित गर्न प्रहरीलाई हम्मेहम्मे परेको थियो । शनिबार उपत्यकाबाट बाहिर जाने बस सबै बुक भइसकेको नयाँ बसपार्कले जनाएको छ ।

उपत्यकाबाट बाहिरिने सवारी र सवारी साधनको सङ्ख्या निक्कै बढेको छ । शुक्रबार ६१ हजार चार सय सवारी बाहिरिएका छन् । गएको बुधबार र बिहीबारभन्दा शुक्रबार दोब्बरले यात्रुको चाप बढेको छ । शुक्रबार अनियन्त्रित रूपमै यात्रुको चाप बढेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो ।

लामो दूरीको बसमा एकैदिनमा टिकट पाइएको छैन । बुधबार र बिहीबार झन्डै तीन लाख यात्रु बाहिरिएको महासङ्घको दाबी छ । सिटौला भन्नुहुन्छ “एक्कासि अनियन्त्रित तरिकाले यात्रुको चाप बढ्यो, यो आपत्कालीन अवस्था हो, यात्रुले पनि बुझ्नु प¥यो, दशैँको टीका भेटाउन जाने जस्तो गर्नुभएन । ”

कोरोनाबाट बच्ने सावधानी भने सवारीसाधनमा अपनाइएको छैन । सिटमा मात्र होइन उभिएरै यात्रा गराइएको छ । टिकट काउन्टरमा कोचाकोच लाइनमा राखिएको छ । एक्कासि चाप बढेकाले सावधानी अपनाउन पनि नसकिएको तर बसमा सावधानीका उपाय अपनाउन लगाइने महासचिव सिटौलाको भनाइ छ ।

सरकारले अति आवश्यक कामबाहेक घर बाहिर ननिस्कन र २५ जनाभन्दा बढी जम्मा हुन रोक लगाई एसईईको परीक्षा स्थगित गरी विद्यालय, विश्वविद्यालयको चैत मसान्तसम्म बिदा दिएपछि उपत्यकाबाट बाहिरिनेको सङ्ख्या एक्कासि बढेको हो । यातायात व्यवस्था विभागले सिटभन्दा बढी यात्रु नचढाउन गरेको निर्देशनको बेवास्ता भएको छ ।

बढी भाडा लिनेलाई कारबाही

तोकिएभन्दा बढी भाडा लिएको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । काठमाडौँ बाहिर जाने यात्रुसँग तोकिएभन्दा बढी भाडा लिएको आरोपमा बारा घर भई बल्खु बस्ने मुकेशप्रसाद साहलगायत ११ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

बाहिर जाने यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिइरहेको सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । जथाभावी भाडा उठाउनेलाई नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

भीड कम गर्न ट्राफिक प्रहरी सक्रिय

सङ्क्रमणबाट बच्न महानगरिय ट्राफिक प्रहरी महाशाखाले विशेष सेवा सुरु गरेको छ । महाशाखाले यात्रुमाथि हुने जोखिम मध्यनजर गर्दै उपत्यकाका प्रमुख बसपार्क एवं भीडभाड हुने स्थानमा भीड कम गराउन प्लेकार्डसहितको ट्राफिक प्रहरी टोली शुक्रबारदेखि खटाइएको छ ।

महाशाखाका अनुसार विशेष टोलीले सिट क्षमता अनुसारमात्र यात्रु राख्न, यात्रुलाई कोचिएर यात्रा नगर्न, सधैँ मास्क लगाएर यात्रा गर्न, भीडभाड गरी नबस्न विशेष अनुरोध गर्नेछ । महाशाखा तथा मातहतका ट्राफिक कार्यालयबाट उपत्यकाको ८६ स्थानमा २०० भन्दा बढी ट्राफिक प्रहरी परिचालन गरी यो विशेष अभियान सञ्चालन गरिरहेको महाशाखा प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

सार्वजनिक सवारी साधनलाई कोरोना भाइरस सङ्क्रमणमुक्त गर्ने गरी स्यानिटाइजर छर्केर मात्रै सञ्चालन गरे÷नगरेको तथा सिट क्षमताभन्दा बढी यात्रु राखे÷नराखेको अनुगमन शुक्रबारदेखि तीव्र पारेको महाशाखाले जनाएको छ । महाशाखाका मातहतका ट्राफिक कार्यालयहरूमा पनि आज बिहानैदेखि साबुन–पानीले हात धुने व्यवस्था मिलाउन निर्देशन गरिसकेको महाशाखाले जनाएको छ ।via gorkhapatra online