legs

बारा, भदौ ९ गते । बारामा कोरोनाको कारणले थप दुई जनाको मृत्यु भएको छ । योसँगै बारामा कोरोनाका कारणले १३ जनाको मृत्यु भइसकेको छ । जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर–४ मल्हनीटोल बस्ने ५९ पुरुष तथा बिश्रामपुर गाउँपालिका वडा नम्बर–५ औरयाटोलका ७२ बर्षे अर्को पुरुषको कोरोनाको कारणले मृत्यु भएको हो ।

पीसीआर रिर्पोट पोजिटिभ आएपछि उहाँहरुलाई पर्साको नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालमा उपचारका क्रममा मंगलवार बिहान छ बजे र अर्काको ११ बजे मृत्यु भएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो ।

मृत्यु भएको यादव र साह लामो समयदेखि उहाँहरु विभिन्न रोगले ग्रस्त रहेकाले पहिलादेखि बिभिन्न अस्पतालहरुमा उपचार गराउदै आएकोमा पीसीआर रिर्पोट पोजेटिभ आएपछि नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालमा उपचार भई रहेको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताउनुभयो ।

यता उपचारको क्रममा नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालमा कोरोनाबाट मृत्युको शवव्यवस्थापनका लागि आवश्यक प्रक्रिया पुरा गर्न जिल्ला सुरक्षा प्रमुखहरुसहितको बिपत व्यवस्थापन समिति बैठक जारी रहेको प्रमुख जिल्ला अधिकारी पण्डितले बताउनुभयो ।