bus park

काठमाडौँ, भदौ १९ गते । आगामी असोज १ देखि लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने भनिए पनि व्यवसायी भने आश्वस्त हुन सकेका छैनन् । स्पष्ट निर्णय नभएको भन्दै व्यवसायीले सञ्चालनमा अनिच्छा देखाएका हुन् ।

कोभिड–१९ सङ्क्रमित दैनिक बढ्दै गएकाले यसै भन्न नसकिने अवस्था नरहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । यातायात व्यवस्था विभागले पनि कोरोना प्रभावको हालको अवस्था हेर्दा सञ्चालन हुनसक्छ नै भन्न नसकिने जनाएको छ ।

विभागमा महानिर्देशक गोगनबहादुर हमालले भन्नुभयो, “अहिले विभाग पनि पूर्ण आइसोलेसनमा छ । असोज १ बाट खुला गर्ने त भनिएको छ । कोरोनाको प्रभाव बढ्दै गयो भने त के खुल्ला र ?” तर यातायात व्यवसायीले भने सरकार गम्भीर नभएको आरोप लगाएका छन् । महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँर भन्नुहुन्छ, “पहिला पनि सञ्चालन गर्ने भनेर दुईपटक सम्म सरकारले भनेको हामीले गाडी मर्मत गरेर तयारी गरेकै हो तर सञ्चालन भएन । अहिले पनि सञ्चालन हुन्छ भन्ने के ग्यारेन्टी ? यसरी पटकपटक गाडी मर्मत गर्दै थन्काउँदै गर्नसक्ने अवस्थामा हामी छैनौँ ।”

करिब छ महिना बन्द भएका लामो तथा मध्यम दूरीका सार्वजनिक सवारी साधनलाई सरकारले अहिलेसम्म कुनै राहत नदिएको व्यवासायीले गुनासो गरेका छन् । सार्वजनिक यातायातलाई पहिला अति प्रभावित क्षेत्रमा राखिएको तर पछि मध्यम प्रभावितमा राखेर राहत तथा सुविधाबाट वञ्चित गर्न खोजिएको व्यवसायीको भनाइ छ ।

स्वाँरका अनुसार सरकारले मध्यम प्रभावित भनिदिएपछि बैङ्कले कर्जा तथा ऋणको किस्तामा कुनै सुविधा दिँदैनन् । स्वाँर भन्नुहुन्छ, “अहिलेसम्म कुनै निकायबाट हुनै राहत पाएका छैनौँ । बैङ्कले कर्जाको पुनर्तालिका गर्नसमेत मानेका छैनन् । सरकारले गरेको घोषणा, सहमति र मौद्रिक नीतिले व्यवस्था गरेका कुरा पनि अहिलेसम्म कार्यान्वयन भएको छैन ।”

गाडी सञ्चालन भएको अवस्थामा अपनाउनुपर्ने सुरक्षा मापदण्डबारेमा व्यवसायीले कुनै तयारी थालेका छैनन् । मास्क तथा सेनिटाइजर प्रयोगको कुरा सामान्य भयो तर यात्रुको व्यवस्थापन कसरी गर्ने सबै सिटमा यात्रु राख्न पाइने-नपाइने, बीचबाट यात्रु चढाउन पाइने-नपाइने कुनै कुराको टुङ्गो नभएको महासङ्घले जनाएको छ ।
सामाजिक दूरी कायम गर्न तत्कालका लागि सरकारले ५० प्रतिशत भाडा वृद्धि गरिएको थियो । यातायात मजदुरको एक लाख रुपियाँको कोरोना बीमामा सरकारले ५० र यातायात व्यवसायीले ५० प्रतिशत अनुदान गर्ने सहमति छ ।

यातायात श्रमिकको कोरोनाका कारण मृत्यु भएमा आश्रित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनका निम्ति सरकारका तर्फबाट कोष स्थापनाका लागि विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पहल गर्ने सहमति भएको थियो । यातायात मजदुरलाई स्वास्थ्य उपकरणको व्यवस्था व्यवसायीले र यात्रुको व्यवस्था स्वयंले गर्नुपर्ने सहमति विभागसँग भएको थियो । सहमति कार्यान्वयन नभएको उपाध्यक्ष स्वाँरले बताउनुभयो । पाँच महिना लामो बन्दाबन्दीमा ७० अर्ब रुपियाँ बराबरको नोक्सान भएको व्यवसायी बताउँछन् ।

धेरै पार्टपुर्जा फेर्नुपर्छ

– शैलेन्द्रकुमार रजाली, मेकानिकल इन्जिनियर

लामो समयसम्म गाडी नचलाई राखेपछि त्यसको पूर्ण मर्मत गर्नुपर्ने हुन्छ । नयाँ गाडी छन् भने त्यति नोक्सान हुँदैन तर पुराना भए धेरै चिज फेर्नुपर्ने हुन्छ । सातवटा पार्टस्मा मुख्य असर भएको हुन्छ । ब्याट्री फेर्नैपर्छ । खुल्ला बाटो वा सडकमा राखिएको गाडीको टायर मक्किन्छ । बेयरिङ खराब हुन्छ । इमर्जेन्सी ब्रेक, हेन्ड ब्रेक पूरै काम नलाग्ने हुन्छ । गाडीमा जतिवटा टायर छन् त्यतिवटा इमर्जेन्सी ब्रेक फेर्नुपर्छ ।

हबहरू जोइन्टमा खिया लागेर जाम भएको हुन्छ । मोबिलसम्बन्धी सबै कुरा फेर्नुपर्छ । इन्जिन, ब्रेक, हाइलिड, गियर ओयल, स्टेरिङ ओयलको अवस्था हेरेर परिवर्तन गर्नुपर्ने हुन्छ । ओयल फिल्टर, एयर फिल्टर, मोबिल फिल्टर सफा गरेर चल्ने अवस्था नभए परिवर्तन गर्नुपर्छ । एयर सिस्टम जाम हुन्छ, त्यो पनि परिवर्तन गर्नुपर्छ । लिभ स्पिरिङ पट्टाहरू खिया लागेर बसेको हुन्छ, त्यसको अवस्था हेरी परिवर्तन गर्नुपर्ने हुनसक्छ । यसरी राखिरहँदा धेरै कुराको नोक्सानी हुन्छ । बडीमा पनि आवाज आउन थालेको हुन्छ, पूरा मर्मत गर्नुपर्छ । टिन तथा फलाममा खिया लाग्ने, कलर खुइलिने त स्वभाविकै हो । यति लामो समय राखेपछि मर्मत नगरी चलाउने सम्भावना त हुँदैहुँदैन ।