lok sewa tayari

स्तरीय पर्यटन

१. नेपालको समष्टिगत आर्थिक विकासमा पर्यटन क्षेत्रको योगदानबारे चर्चा गर्नुहोस् । पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको मापदण्डमा पु-याउन कुन–कुन क्षेत्रमा ध्यान दिन जरुरी छ ? उल्लेख गर्नुहोस् ।

 नेपालको समष्टिगत आर्थिक विकासमा पर्यटन क्षेत्र उच्च सम्भावना बोकेको क्षेत्र हो । नेपालको प्राकृतिक एवम् साँस्कृतिक सम्पदा र विविधताका कारण पर्यटन नेपालको तुलनात्मक लाभको क्षेत्र हो । नेपालको संविधानले राष्ट्रिय अर्थतन्त्रको महŒवपूर्ण आधारका रूपमा पर्यटन क्षेत्रको विकास गर्ने नीति लिएको छ । राष्ट्रिय पर्यटन रणनीति योजना (२०१६–२०२६) कार्यान्वयनमा छ । नेपालको अर्थतन्त्रको प्रमुख संवाहकका रूपमा रहेको पर्यटन क्षेत्रको योगदान निम्नअनुसार रहेको छ ः

विदेशी मुद्रा आर्जनमा सहयोग,
रोजगारीका अवसरको सिर्जना,
गरिबी निवारण,
जनताको जीवनस्तरमा सुधार,
प्राकृतिक तथा साँस्कृतिक सम्पदाको विकास,
स्थानीय कला–कौशल र सीपमा विकास,
अन्तर्राष्ट्रिय सम्पर्कमा वृद्धि,
जनचेतनामा अभिवृद्धि,
जनशक्ति विकासमा योगदान,
राष्ट्रिय प्रतिष्ठामा अभिवृद्धि ।

नेपालको कुल गार्हस्थ उत्पादनमा करिब तीन प्रतिशत योगदान रहेको पर्यटन क्षेत्रलाई विश्व बजार र खासगरी दुई छिमेकी मुलुकको ठूलो जनसङ्ख्याबाट अधिकतम लाभ प्राप्त गर्नेगरी यसको विकास गर्नुपर्छ ।

अन्तर्राष्ट्रियस्तरको मापदण्डमा पु-याउन ध्यान दिनुपर्ने क्षेत्र ः

क. निजी क्षेत्रको प्रोत्साहन :
निजी क्षेत्र अर्थतन्त्रको अगुवामात्र होइन, यो रोजगारी सिर्जनाकर्ता पनि हो । त्यसैले यसलाई सरकारले सहज, सहयोग एवम् उत्प्रेरित गर्नुपर्छ । निजी क्षेत्रमैत्री करका दर र कानुन, आयात निर्यातमा सहज, लगानीमा सहुलियत तथा सहकार्य गर्नुपर्छ । निजी क्षेत्रको प्रवद्र्धनमै पर्यटनमात्र होइन, हरेक क्षेत्र फस्टाउने हुँदा निजी क्षेत्रको विकासमा सरकारले ठूलो भूमिका खेल्नुपर्ने देखिन्छ ।
ख. पूर्वाधार विकास :
सडक यातायात, केबलकार, सञ्चार विकास, पुल तथा विमानस्थल निर्माणलगायतका पर्याप्त भौतिक पूर्वाधार विकासले पर्यटन विकासमा बहुआयामिक महŒव राख्छ । यसमा सरकारले निजी क्षेत्रको समेत संलग्नताबाट विकास गर्नुपर्छ ।
ग. सुरक्षित र भरपर्दो हवाई सेवा ;
विमानस्थलको नियमित मर्मत, विकास, विस्तार, पहाडी तथा हिमाली क्षेत्रमा नियमित एवम् सुरक्षित उडानको व्यवस्था, अन्तर्राष्ट्रिय विमानस्थलको तीव्रत्तर विकास तथा विस्तार गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै क्षेत्रमा सुरक्षित र भरपर्दो हवाई सेवा दिनुपर्छ । यसका लागि पनि निजी क्षेत्रसँग सहकार्य गर्दै सहयोग लिनु र दिनुपर्छ ।
घ. सशक्त आर्थिक कूटनीति :
विदेशस्थित नेपाली कूटनीतिक नियोगको क्षमता विकास गर्दै नेपालका सबै पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्ने, गैरआवासीय नेपालीसँग समन्वय तथा सहकार्य बढाउने, पर्यटन पूर्वाधारमा वैदेशिक लगानी आकर्षित गर्ने, विदेशस्थित नेपाली कूटनीतिक नियोगले यस कार्यमा सक्रिय र सार्थक भूमिका निर्वाह गर्ने, यस कार्यमा परराष्ट्र मन्त्रालय, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्डलगायतका निकायबीच कार्यगत समन्वय बढाउनुपर्छ ।
ङ. नयाँ गन्तव्यको खोजी, विकास र प्रचार :
नेपालको हिमाल, पहाड र तराईमा अनेक आकर्षक नयाँ गन्तव्य क्षेत्रहरू छन्, ती क्षेत्रको पहिचान, विकास, प्रचार प्रसार गर्नुपर्छ । पुराना गन्तव्यको प्रवद्र्धन पनि त्यत्तिकै आवश्यक देखिन्छ ।
च. सम्पदाको संरक्षण :
नेपालमा धार्मिक, साँस्कृतिक, ऐतिहासिक, प्राकृतिक सम्पदा प्रशस्त छन् । यस्ता सम्पदाको विकास गर्नुपर्छ । जैविक विविधताको संरक्षण एवम् उपयोग गर्दै जानुपर्छ ।
छ. स्तरीय होटल निर्माण :
नेपालको पर्यटनलाई अन्तर्राष्ट्रियस्तरको मापदण्डमा पु¥याउन अन्तर्राष्ट्रियस्तरकै होटल तथा रिसोर्ट खोल्नुपर्छ, यसबाट मात्र धेरै पैसा खर्च गर्ने, धेरै दिन नेपालमा बस्ने स्तरीय पर्यटक ल्याउन सकिन्छ । नेपालका सबै सम्भाव्य पर्यटकीय क्षेत्रमा यस्ता स्तरीय पूर्वाधार निर्माण गर्नुपर्छ । ग्रामीण क्षेत्रमा सञ्चालित हालको होमस्टेको सेवालाई थप गुणस्तरीय बनाउनुपर्छ । स्तरीय होटल तथा रिसोर्ट निर्माणकार्यमा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न नीति, कानुन, प्रक्रिया, पद्धति, आचरण, व्यवहारमा सुधार ल्याउँदै सबै क्षेत्रमा सहजीकरणको वातावरण बनाउनुपर्छ ।
ज. खुला र स्वतन्त्र मनोरञ्जन :
नेपालमा आउने कुल पर्यटकमध्ये करिब ६५ प्रतिशत पर्यटक मनोरञ्जन गर्न आएको पाइन्छ । पर्यटकलाई भरपूर मनोरञ्जन गराएमात्र अरू पर्यटक आउने हुन् । त्यसकारण सभ्यप्रकारले पर्यटकको इच्छा, चाहनाबमोजिमका सबै सेवा उपलब्ध गराउन खुला, स्वतन्त्र एवम् हस्तक्षेपमुक्त वातावरणमा मनोरञ्जन दिन सक्नुपर्छ । त्यसैले नेपालका सबै पर्यटकीय क्षेत्रलाई पूर्ण मनोरञ्जनयुक्त बनाउनुपर्छ । त्यहीबमोजिमका पूर्वाधार तथा जनशक्ति विकास गर्नुपर्ने देखिन्छ ।
झ. पदयात्रा एवम् आरोहणमा सहजीकरण :
पर्वतारोहण तथा पदयात्रामा नेपालको पर्यटकीय सम्भावना ठूलो छ । यसमा शुल्क कम लिने, बाटोमा पर्याप्त सुविधा विस्तार गर्ने, सञ्चार सम्पर्क विकास गर्ने, उद्धार तथा राहत टोली तयार गर्नेजस्ता कार्य गरी यसको थप विकास गर्नुपर्ने देखिन्छ ।
ञ. सशक्त अनुगमन र मूल्याङ्कन प्रणाली ;
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्डलगायतका नियामक निकायबीच कार्यगत समन्वय बढाउने, नियमित अनुगमन तथा सहजीकरण गर्दै समग्र पर्यटन कार्यक्रमको मूल्याङ्कन गरेर थप सुधार गर्नु पर्ने देखिन्छ ।
अन्त्यमा, पर्यटन नेपालको अर्थतन्त्रको मेरुदण्ड हो । त्यसैले यसको विकास गर्नुपर्छ । यसका लागि पर्यटकीय पूर्वाधारको विकास गर्दै निजी क्षेत्रसँग समन्वय र सहकार्य गर्नुपर्छ । स्वदेशी तथा विदेशी लगानी बढाउनुपर्छ । तबमात्र नेपालको पर्यटन क्षेत्र अन्तर्राष्ट्रियस्तरको मापदण्डमा आधारित हुने आशा गर्न सकिन्छ ।

२. नेपालमा के–कस्ता पदमा नियुक्ति हुनुअघि संसदीय सुनुवाइ हुने व्यवस्था छ ? उल्लेख गर्नुहोस् ।

 नेपालको संविधानको धारा २९२ अनुसार नेपालमा संवैधानिक परिषद्को सिफारिसमा नियुक्त हुने देहायबमोजिमको पदमा नियुक्ति हुनुअघि संसदीय सुनुवाइ हुने व्यवस्था छ ः
क. प्रधान न्यायाधीशको पद,
ख. सर्वाेच्च अदालतका न्यायाधीशको पद,
ग. न्याय परिषद्का सदस्यको पद,
घ. संवैधानिक निकायको प्रमुख तथा पदाधिकारीको पद,
ङ. राजदूतको पद,
संसदीय सुनुवाइका लागि सङ्घीय संसद्का दुवै सदनका सदस्य रहनेगरी १५ सदस्यीय एक संयुक्त समिति गठन गरिने व्यवस्था छ ।

३. नेपालमा पतिपत्नीले के–कस्तो अवस्थामा सम्बन्धविच्छेद गर्न सक्ने व्यवस्था छ ? उल्लेख गर्नुहोस् ।

 २०७५ साल भदौ १ गतेदेखि प्रारम्भ भएको मुलुकी देवानी (संहिता) ऐन–२०७४ ले पतिपत्नीले सम्बन्धविच्छेद गर्न सक्ने अवस्था व्यवस्था गरेको छ, जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ः

पतिले सम्बन्धविच्छेद गर्न सक्ने :

पतिले देहायका कुनै अवस्थामा पत्नीको मञ्जुरी नभए पनि सम्बन्धविच्छेद गर्न सक्ने :
(क) कानुनबमोजिम अंश लिई वा मानो छुट्टिई पतिपत्नी भिन्न बसेको अवस्थामा बाहेक पत्नीले पतिको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा,
(ख) पत्नीले पतिलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा,
(ग) पत्नीले पतिको अङ्गभङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा,
(घ) पत्नीले अन्य पुरुषसँग यौनसम्बन्ध राखेको ठहरेमा ।
पत्नीले सम्बन्धविच्छेद गर्न सक्ने :
पत्नीले देहायका कुनै अवस्थामा पतिको मञ्जुरी नभए पनि सम्बन्धविच्छेद गर्न सक्ने :
(क) कानुनबमोजिम अंश लिई वा मानो छुट्टिई पतिपत्नी भिन्न बसेको अवस्थामा बाहेक पतिले पत्नीको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा,
(ख) पतिले पत्नीलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा,
(ग) पतिले पत्नीको अङ्गभङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा,
(घ) पतिले अर्को विवाह गरेमा,
(ङ) पतिले अन्य महिलासँग यौनसम्बन्ध राखेको ठहरेमा,
(च) पतिले पत्नीलाई जबरजस्ती करणी गरेको ठहरेमा ।

४. नेपालमा नेपाली सेनाको प्रधानसेनापति कसरी नियुक्ति हुने व्यवस्था छ ?

 नेपाली सेनाको प्रमुख हुने प्रधानसेनापतिको नियुक्ति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गर्ने र निजलाई राष्ट्रपतिले शपथ गराउने तथा दज्र्यानी चिह्न प्रदान गर्ने व्यवस्था छ । प्रधानसेनापति बिदामा बसेको वा अन्य कुनै कारणले सो पद रिक्त हुन आएको अवस्थामा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले तोकेको नेपाली सेनाको वरिष्ठ अधिकृतले कायममुकायम भई प्रधानसेनापतिको कार्यभार सम्हाल्ने व्यवस्था छ । प्रधानसेनापतिको पदावधि तीन वर्षको हुने र निज ६१ वर्षको उमेरसम्म आफ्नो पदमा बहाल रहने व्यवस्था छ । तर, नेपाल सरकारले आवश्यक सम्झेमा सो अवधि पूरा हुनुअगावै सफाइको मौका दिई प्रधानसेनापतिलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अवकाश दिन सक्ने व्यवस्था छ । प्रधानसेनापति नेपाल सरकारप्रति उत्तरदायी हुने र नेपाल सरकारले दिएको निर्देशन तथा प्रचलित कानुनको अधीनमा रही नेपाली सेनाको व्यवस्थापन गर्नु प्रधानसेनापतिको काम र कर्तव्य हुने व्यवस्था छ । प्रधानसेनापतिले प्रत्येक वर्ष वैशाख महिनाभित्र नेपाली सेनाको व्यवस्थापनसम्बन्धी वार्षिक प्रतिवेदन नेपाल सरकारसमक्ष प्रस्तुत गर्ने र त्यसरी प्राप्त प्रतिवेदन नेपाल सरकारले व्यवस्थापिका संसद्मा प्रस्तुत गरी राज्य व्यवस्था समितिमा छलफल गराउने व्यवस्था सैनिक ऐन–२०६३ मा छ ।

५. श्रम ऐन–२०७४ ले श्रमिकप्रति रोजगारदाताको के–कस्तो कर्तव्य हुने व्यवस्था गरेको छ ?

 व्यवसायजन्य सुरक्षा र स्वास्थ्यका सम्बन्धमा रोजगारदाताको श्रमिकप्रति देहायबमोजिमको कर्तव्य हुने व्यवस्था श्रम ऐन–२०७४ ले गरेको छ :
(क) कार्यस्थलमा सुरक्षा र स्वास्थ्यसम्बन्धी उचित प्रबन्ध गरी काम गर्ने सुरक्षित वातावरण बनाउने,
(ख) कार्यस्थलमा रासायनिक, भौतिक, जैविक पदार्थ तथा उपकरणको प्रयोग, सञ्चालन, सञ्चय र परिवहन गर्दा सुरक्षा र स्वास्थ्यमा प्रतिकूल असर नपर्ने व्यवस्था मिलाउने,
(ग) श्रमिकलाई आवश्यकताअनुसार सुरक्षा र स्वास्थ्यसम्बन्धी आवश्यक सूचना, जानकारी र तालिम प्रदान गर्ने,
(घ) श्रमिकलाई उपकरण र कामसँग सम्बन्धित रासायनिक, भौतिक, जैविक पदार्थको प्रयोग र सञ्चालनका सम्बन्धमा आवश्यक तालिम र जानकारी उपयुक्त भाषामा दिने,
(ङ) कार्यस्थलमा सुरक्षित रूपमा प्रवेश गर्ने तथा निस्कने समुचित व्यवस्था गर्ने,
(च) श्रमिकलाई आवश्यकताअनुसार व्यक्तिगत सुरक्षा साधन उपलब्ध गराउने,
(छ) तोकिएबमोजिमको अन्य व्यवस्था गर्ने ।

६. नेपाल प्रहरीको काम, कर्तव्य र अधिकार के–के हुन् ? उल्लेख गर्नुहोस् ।

 नेपालप्रहरीको काम, कर्तव्य र अधिकार निम्न छन् :
– मुलुकमा शान्ति सुरक्षा कायम गर्ने,
– सर्वसाधारण जनतासँग शिष्ट व्यवहार गर्ने,
– महिला तथा बालबालिकासँग पूरा इज्जत र नम्रतासाथ व्यवहार गर्ने,
– मानवअधिकारको संरक्षण सम्बद्र्धन गर्ने, गराउने,
– सामाजिक सद्भाव बिथोल्ने, सुरक्षा प्रतिकूल, गैरकानुनी एवम् गम्भीर आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने,
– नेपाल सरकारको आदेश र निर्देशनको पालना गर्ने,
– शान्ति र व्यवस्थालाई असर पार्नेखालको खबर सङ्कलन गर्ने र माथिल्लो अधिकारीलाई जानकारी गराउने,
-gorkhapatra online