pilot

काठमाडौँ। “अरुहरुले जे सकिँदैन भन्छन्, हामी त्यो सकिन्छ, हुन्छ, गर्न सकिन्छ भन्ने ठान्छाैँ । काम गर्न नचाहनेले मात्रै यस्ता तर्क गर्छन् । अगाडि बढ्न चाहनेले कहिल्यै सकिँदैन, हुँदैन, सम्भव छैन भन्दैन । नेपालमा काम गर्नुपरेपछि यस्ता तर्क गर्नेहरु भने धेरै भेटिन्छन्’’ कुराकानीको शुरुआत नै यसरी भयो ।
पाइलटहरुको एउटा परिवार । शुरुमा पिता अनि तीनभाइ छोरा पनि बुबालाई पछ्याउँदै पाइलट । संसारमा यस्तो संयोग पनि कमै जुर्छ होला । तेस्रो पुस्तालाई समेत सोही पेशामा लगाउने सोच छ त्यो परिवारको छ ।
यो पाइलट परिवारले झण्डै ६५ हजार घण्टा विमान उडाएको रेकर्ड बनाएको छ । त्यही रेकर्ड बनाएको परिवारको दोस्रो पुस्ताको जेठो सदस्य हुनुहुन्छ सुवास रिजाल ।
नेपालको राष्ट्रिय झण्डा बोकेर उड्ने नेपाल वायुसेवा निगम आफैमा गर्विलो विरासत बोकेको संस्था हो । काठमाडौँको नयाँ सडकको ढोकैमा आकाश भैरवको प्रतिमा शिरमा राखेर ठडिएको यो संस्थाले राजनीतिक उतारचढाव धेरै भोग्यो । सोही संस्थाले दिएको नाम र कामसँग नङमासु जसरी जोडिएको छ रिजाल परिवार ।

धनकुटाबाट विराटनगर हुँदै काठमाडौँ आइपुगेको रिजाल परिवारले बनाएको प्रतिष्ठा धेरैका लागि लोभलाग्दो पनि छ । पिता गंगाप्रसाद रिजाल निगमका वरिष्ठ पाइलट हुनुहुन्थ्यो । उहाँ लामो समय सेवा गरेर हाल अवकाश जीवनमा रमाइरहनु भएको छ । उहाँका तीन भाइ छोरा नै पाइलट हुनुहुन्छ । अहिले त उहाँहरु पनि वरिष्ठ भइसक्नुभयो ।

कुनै समय थाइ एयरलाइन्ससँग जोडिएर आउँथ्यो, निगमको नाम । शाही नेपाल वायुसेवा निगमबाट शुरु भएको यात्रा नेपाल वायुसेवासम्म आइपुग्दा झनै खस्किएको छ । झनै खुम्चिएको छ भन्दा अन्यथा हुँदैन होला । विदेशी एयरलाइन्सको धमाधमको कमाइका अघिल्तिर निगमको गन्तव्य भने सीमित छ । सीमित मात्र होइन झन खुम्चिँदै गएको छ ।

देशभित्रै निजी वायुसेवा प्रदायकले दैनिक दर्जनौँ उडान भर्दा, निगमका जहाज घाम पानी थापेर विमानस्थलमा ग्राउण्डेड हुन बाध्य छन् । आन्तरिक उडानका लागि ल्याइएका चिनियाँ जहाज उड्न सक्छ, सम्भव छ भन्नेहरुका कुरा सायदै सुनिन्छ । पछिल्लो पटक त निगमले ती जहाज व्यवस्थापन गरिदिन सरकारलाई आग्रह गरिसकेको छ । अन्तर्राष्ट्रिय उडानमा रहेका दुई न्यारोबडी र दुई वाइडबडीका पनि आ–आफनै कहानी छन् । निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारले आँट गरेर जहाज नल्याएको भए आज निगम विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ्मा मात्रै सीमित हुन्थ्यो भनेर टिप्पणी गर्नेहरु पनि उत्तिकै छन् ।

निगमलाई धेरै अगाडि बढाउन सकिन्छ, यहाँ त हुँदैन, सकिदैन भन्ने मान्यताले काम गरेको छ । जसले हुँदैन र सकिँदैन भन्छन् उनीहरुलाई नै निगमको खास जिम्मेवारी दिइएको आरोप पनि लाग्ने गरेको छ ।
नेपालको हवाई उड्डयन व्यवसाय रु. ९५ अर्बभन्दा माथिको छ जसमा नेपालमा स्थापित सबै वायुसेवाहरुको कुल हिस्सा रु. २० देखि २५ अर्ब मात्र छ । हामी सबैले कसैको पनि कुभलो नचिताई स्वस्थ प्रतिस्पर्धा गरेरै अघि बढ्दा सम्वृद्धि हासिल गर्न सकिने सकारात्मक मत पनि छ ।

निगमका वरिष्ठ पाइलट रहनुभएका सुवास भन्नुहुन्छ “उच्च व्यवस्थापनमा रहेकाहरुले जे कुरा सम्भव छैन भनिरहनुभएको छ, त्यो कुरा हामी सम्भव छ भनेर देखाउन सक्छौँ । हामीमा आँट छ, गर्ने ल्याकत पनि छ ।” सबैतिर बन्द भएको उडान तत्कालीन अवस्थामा सुगतरत्न कंसाकार महाप्रबन्धक भएको समयमा शुरु भएको थियो । सुवासको बुझाइमा सन् २०१६ देखि २०१८ को बीचमा झण्डै ४० गन्तव्यमा उडान शुरु भएको थियो । सो समयमा सुवास निगमको अपरेशन डाइरेक्टर हुनुहुन्थ्यो । त्यसपछि झनै गन्तव्य थपिनुपर्ने थियो । नयाँ नयाँ जहाज पनि थपिनुपर्ने थियो ।

अवस्था भने ठिक विपरीत भएर गएको छ । आन्तरिक उडानका लागि भनेर ल्याइएका चिनियाँ जहाज घाम तापेर, बर्षा सहेर बसेको छ । भएका दुई वटा ट्वीनअटर जहाजले कुन कुन गन्तव्यमा उडान भरोस् । निजी विमान कम्पनीले धमाधम उडान भरिरहँदा निगमका जहाज भने पखेटा काटिएको चरा जस्तै रहन किन बाध्य भयो त ? सुवासको टिप्पणी छ “यो पनि सकिँदैन, त्यो पनि सकिँदैन, हुँदैन भन्ने मान्यताले निगममा घर गरेको छ । यो प्रवृत्तिलाई बदलेर, सकिन्छ, हुन्छ, गर्न सकिन्छ भन्ने मान्यता स्थापित गरिए सबै कुरा सम्भव छ । हामी सम्भव बनाउन सक्छौँ ।”

“जहाज उडाउने भनियो, पाइलट छैन भनिन्छ, इन्जिनियर छैन भनिन्छ, अर्कोलाई दोष लगाउन थालिन्छ तर म यो काम गर्छु, यसरी सम्भव छ भनेर कोही कसैले पनि तयारी गरेको देखिएन । बरु राम्रा काम गरेकालाई हिलो छ्याप्ने काम गरियो”, वरिष्ठ क्याप्टेन सुवास भन्नुहुन्छ “जसलाई संस्थाको भन्दा अन्यत्रैको माया छ भने कसरी निगम उँभो लाग्छ ।”
गुनासै गुनासाका पोका मात्रै होइन, हामीसँग निगमलाई अगाडि बढाउने मास्टर प्लान पनि छ । खुम्चिएर बसेको निगमलाई फुकाउने, व्यावसायिक कार्ययोजनाका साथ अगाडि बढ्ने सोच पनि छ । विगतमा अगाडि बढाइएका सकारात्मक कार्ययोजना पूरा गर्ने हो भने निगमले चोला फेर्न धैरै पर्खनुपर्ने छैन ।

सुवासको भनाइ छ “जे हुँदैन, सम्भव छैन भनिन्छ त्यो काम सम्भव छ, गर्न सकिन्छ । निगम पनि अन्य व्यावसायिक निजी कम्पनीभन्दा अब्बल बनाउन सकिन्छ । प्रतिस्पर्धी बनाउन सकिन्छ ।” हुन पनि हो । काम गर्दाभन्दा नगर्दा नै फाइदा भएपछि किन मानिसले दुःख गरोस् ? अहिले निगममा भएको पनि त्यही हो । सायद यसैले हुनसक्छ उहाँको आक्रोशपूर्ण अभिव्यक्ति देखिन्छ बेलाबखतमा ।

कोरोनाको विपदमा उद्धार गर्नुपर्दा निगमको जहाज चाहिएको छ । स्वास्थ्य सामग्री ल्याउनुपरेको छ, जहाज त फेरि पनि निगमको नै चाहिन्छ तर निगमलाई व्यावसायिक बनाअाैं भन्ने सन्दर्भ कहीँ कतैबाट आयो भने, कोही जिम्मेवारी लिन तयार नभएको उहाँको गुनासो छ । किनकी त्यहाँ जवाफदेही हुनुपर्छ । निगम बनाउँछु भनेर आएका एकाधबाहेक अधिकांशसँग जवाफदेहिता छैन भन्ने आफूले देखेको सुवासको भनाइ छ ।

‘आपत विपदको समयमा काम लाग्ने भनेकै आफ्नाहरु हुन्’ नेपाली समाजमा यो भनाइ लोकप्रिय छ । कुनै पनि सार्वजनिक संस्था स्थापना गर्नुको पछाडि पनि यही सामाजिक चरित्रले काम गरेको छ तर निगमलाई आम जनताको संस्था बनाउनेतर्फ कोही कसैले सोचेका छैनन् जस्तो देखिनु आफैमा दुःखद छ ।

निगमका दुई वाइडबडी जहाजमध्ये एउटालाई जानी बुझीकनै बिरामी बनाइएको छ । बिरामी निगम सुधार्न ठूलै पापड पेल्नुपर्ने बताउने सुवासलाई शुरुमा आमाले छोरो डाक्टर बनोस् भन्ने चाहनुभएको थियो । बुबा पाइलट भइहाल्नुभयो अब छोरो डाक्टर बनोस् भन्ने भए पनि परिस्थितिले पाइलट नै बनाइदियो । पिता गंगाप्रसादका तीन भाइ छोरा नै पाइलट बन्नुभयो ।

बनारसमा आइएस्सी सकेपछि सुवास पाइलट पढ्न अमेरिका जानुभयो । यो सन् १९८८ मा उहाँ त्यहाँ पुगेर करिब १० महिनामा १०–१२ हजार अमेरिकी डलर खर्च गरेर अध्ययन गर्नुभयो र व्यावसायिक पाइलट बनेर फर्किनुभयो । उहाँले नेपाल फर्केपछि जहाज उडाउने सपना बोकेर आउनुभएको थियो तर त्यति नै बेला भने निगमसँग पर्याप्त जहाज थिएनन् । त्यसमाथि सरकारी संस्थान भएकाले सजिलै जागिर पाउने कुरा पनि थिएन ।

जहाज उडाउन नपाएपछि केही समय शिक्षक भएको स्मरण गर्नुहुन्छ, सुवास । बेरोजगार पाइलट भनेर पहिलो अन्तरवार्ता दिने पनि मै थिएँ, शुरुआती दिनहरुको स्मरण उहाँ यसरी गर्नुहुन्छ ।
संयोगले तत्कालीन प्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठसँग भेट्ने अवसर मिल्यो । मरिचमानले विस्तारमा सुवासहरुको कुरा सुन्नुभयो । उहाँलाई भेटेको केही समय लगत्तै सुवासलाई रोजगारीको खबर आयो ।

नेपाल एयरलाइन्सका पाइलट सुवासले ट्वीनअटर, बोइङ हुँदै अहिले एयरबस ३२० उडाइरहनुभएको छ । उहाँले आफनै पितासँग एउटै ककपिटमा बसेर पनि जहाज उडाउनुभएको छ । सन् १९६७ मा पाइलट बन्नुभएको गंगाप्रसाद, सन् २००३ मा अवकाश हुनुभएको हो ।

कुनै बेला बाबु छोराले जहाज हाँक्ने सुवासका दाजुभाइ पनि बेला बेलामा त्यस्तै संयोग मिलेर आएको हुन्छ । भाइ श्रवणसँगै सुवास एअरबस ३२० उडाउनुहुन्छ । अहिले भाइ एअरबस ३३० मा हुनुहुन्छ भने सुवास ३२० मा प्रशिक्षक पाइलट हुनुहुन्छ । केही वर्ष पहिले तीनै जना दाजुभाइ एअरबस ३२० उडाउनुहुन्थ्यो ।

क्याप्टेन गंगाप्रसादका तीन भाइ छोरा, तिनै जना पाइलट । बुबाले झण्डै १८ हजार घण्टाभन्दा बढी उडाउनुभयो । सुवास भन्नुहुन्छ “मेरो नै २१ हजार घण्टा माथि पुग्यो । भाइहरुको १८– १८ हजार घण्टा माथि पुग्यो । यसबाट प्रष्ट हुन्छ हाम्रो परिवारको मात्रै ६५ हजार घण्टाभन्दा माथि जहाज उडाएको छ ।”

विभिन्न क्षेत्रमा नयाँ रेकर्ड कायम भएका छन् । चारैजना एउटै एयरलाइन्स राष्ट्रिय ध्वजाबाहकमा काम गरेको पनि विरलै पाइन्छ । एउटै संस्थामा लामो समयसम्म आबद्ध भएर बसेको पनि लामो नै भएको छ ।

“पिताजी ८० पुग्नुभएको छैन । म ५३ वर्ष भएँ । भाइहरु मभन्दा चार वर्ष कान्छा छन् ।” सुवासले पारिवारिक पृष्ठभूमि बताउनुभयो । माइला सुदीप पनि केही पहिले निगमको पाइलट हुनुहुन्थ्यो । अहिले उहाँ संयुक्त राष्ट्रसङ्घमा कार्यरत हुनुहुन्छ ।

विराटनगर–४ बरगाछी स्थायी ठेगाना भएपनि रिजाल परिवार काठमाडौंँमा नै बस्यो । सुवासमात्रै विराटनगरमै जन्मनुभएको हो । सुदीप र श्रवण काठमाडौंमै जन्मनुभयो । सुवासले भानुभक्त र ल्याब्रेटरी स्कुल पढ्नुभएको हो ।
सुदीप र श्रवण सिद्धार्थ वनस्थलीमा पढ्नुभयो । खासमा सुदीप र श्रवण पाइलट बन्न खोज्नुभएको थिएन तर पछि उहाँहरु पनि अन्तिममा पाइलट बन्न पुग्नुभयो । सुदीप–श्रवणले इन्जिनियरिङ पढ्नुभएको हो । त्यसमा पनि सुदीपको सफ्टवेयरमा इन्जिनियरिङ हो । श्रवणको इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिङ विषय थियो ।

इन्जिनियरिङ सकेर दुबै जना नेपाल फर्केर जागिरको खोजी शुरु भयो । तर केही गर्दा पनि पाउन सकिएन । काम गर्ने ठाँउ नै पाउन सकिएन । के गर्ने त भन्ने जिज्ञासाका बीचमा दुबै जनाले पाइलट पढ्ने निधो भयो । पाइलट कोर्सका लागि अमेरिका जानुभयो ।

बाबु र जेठा छोरा जतिबेला सँगै जहाज उडाउनुहुन्थ्यो भने माइला र कान्छा भने पाइलट कोर्स पढ्दै हुनुहुन्थ्यो । सन् १९९७ मा पाइलट कोर्स सकेर आउँदा निगममा नै जागिर खुलेको थियो । बाबु र तीन भाइ छोरा सबै निगमको नै जागिरे पाइलट हुनुभयो ।

सुवास र श्रवण अनुभवी पाइलटका रुपमा स्थापित हुनुहुन्छ । दाजुभाइ नै एकै पटक ककपिटमा रहँदा कस्तो अनुभव हुँदोरहेछ त ? “अरुजस्तै सामान्य” सुवासको छोटो उत्तर थियो । झण्डै अढाई सय हाराहारी उडानमा दाजुभाइ सँगै हुनुहुन्छ । प्रायः एकैसाथ उडेका छौँ । दाजुसँगै एउटै ककपिटमा धेरै उडान भरेका सुदीपले भने बुबासँग जहाज उडाउन पाएको अनुभव छैन ।
उहाँलाई बेला बेलामा मलाई त्यो सौभाग्य भने मिलेन भन्ने लाग्छ । एउटै ककपिटमा रहँदा दाजुभाइको नाता कि एउटा व्यावसायिक पाइलटको सम्बन्ध ? कुन बढी देखिन्छ ? हाम्रो अर्को जिज्ञासा थियो सुवाससँग । उहाँले भन्नुभयो “दाजुभाइभन्दा पनि साथी जस्तो लाग्छ मलाई । उडेपछि हामी साथीभाइ ।” श्रवणको पनि उस्तै भनाइ छ “ककपिटमा बस्दा दाजुभाइ भन्ने जस्तो नै हुँदैन ।”

नेपालका अधिकांश विमानस्थलमा उडान भरेको अनुभव छ, सुवाससँग । यस्तै अनुभवको खानी नै छ श्रवणसँग पनि । रुम्जाटारबाट काठमाडौँका लागि उडेको ट्वीनअटर जहाजको एकापट्टिको इन्जिन उड्नेवित्तिकै बन्द भयो । जहाजलाई नियन्त्रण गर्नुको विकल्प थिएन उहाँसँग । रुम्जाटारै फर्किन पनि सकिएन । काठमाडौँ सजिलै अवतरण गराउनु ठूलो चुनौती थियो तर बन्द भएको इन्जिन दस मिनेट पछाडि स्टार्ट भयो र सङ्कट टर्यो ।

उहाँहरुसँगको कुराकानी सुन्दा लाग्छ कि हवाई उडान आफैमा जोखिमपूर्ण हो । त्यो नेपालमा मात्रै नभई संसारभर नै उस्तै हो । मात्रै जोखिम नियन्त्रण गर्ने उपाय खोज्नुपर्छ ।
“उडान मार्ग परिवर्तन गर्दै खराब मौसमलाई चिर्ने हो । आकाशमा समस्या हुन्छ नै अमेरिकाको अलास्कामा यहाँको भन्दा बढी जोखिम छ तर पनि उडान त भइरहन्छ” सुवासको भनाइ छ ।
एयरबस उडाउने १२ जना पाइलटमा वरिष्ठमध्ये एक हुनुहुन्छ सुवास । अफगानिस्तानबाट नेपालीको उद्धारका लागि भएको उडानमा सुवास र श्रवण नै जानुभएको थियो । त्यहाँ अवतरण गरेको केही समयमै विमानस्थलको एक भागमा बम विष्फोट भएको थियो । यस्ता दर्जनौँ उदाहरण छन् उहाँहरुसँग ।
सन् १९९९ डिसेम्बर २४ मा इन्डियन एयरलाइन्सको एयरबस ए–३०० अपरहणमा परेको थियो । त्यसपछि नेपाल वायुसेवा निगमको जहाज नै काबुलका लागि सोझो उडान भरेको थियो । रिजाल दाजुभाइले पटक पटक आफनो ऐतिहासिक दायित्व पूरा गर्नुभएको छ ।

विगतमा अपरशेन डाइरेक्टर भएर ४० गन्तव्यमा नेपाली ध्वजाबाहक जहाज पु¥याउने श्रेय सुवासको नाममा छ । व्यावसायिक हितका लागि काम गर्दा निगमको हित नचिताउनेहरुले दुःख दिए पनि त्यसको परवाह नगर्ने स्वभाव छ मेरो, सुवास स्पष्ट भन्नुहुन्छ ।

निगममा पटक पटक प्रमुख व्यवस्थापक परिवर्तन भए । पूर्व सचिव सुशील घिमिरे दोहो¥याएर अध्यक्ष बन्नुभयो । मदन खरेल पनि दोहो¥यार कमान सम्हाल्न पुग्नुभयो तर अवस्था जहाँको त्यहीँ छ । उहाँहरु दुवै जना कार्यकाल नै पूरा नगरी राजीनामा दिएर हिँड्नुभयो । निगमलाई बचाउन सफलता प्राप्त होस् भनी धेरैले दिएको आशीर्वाद, बधाई र सफलताका शुभकामनाहरु फेरि अधुरै रहेको गुनासो उत्तिकै छ । यो नियति दोहोरिरहँदा नेपालको राष्ट्रिय ध्वजावाहकलाई माया गर्नेहरु पटक पटक मर्माहत हुनुपरेको बताउनुहुन्छ वरिष्ठ क्याप्टेन सुवास ।

आँट गरेर ल्याएको अन्तर्राष्ट्रिय उडान गर्ने चारवटा जहाजको भरमा निगमको साख कति दिन जोगिएला ? धेरैको जिज्ञासा छ । वरिष्ठ क्याप्टेन सुवासको भनाइ छ– मौजुदा अवस्थालाई परिवर्तन गर्न आँट चाहिन्छ । त्यस्तो आँटका लागि प्लान चाहिन्छ । टिम पनि चाहिन्छ । विद्यमान व्यवस्थापनले त्यो काम गर्न सक्दैन ।
नयाँ सोचका साथ काम गर्नैपर्छ । निजी सेवा प्रदायकले गर्न सक्छ भने निगमले किन गर्न सक्दैन ?

तपाईले जिम्मेवारी पाए निगमलाई सुधार गर्न सक्नुहुन्छ ? हाम्रो यो प्रश्नको उत्तरमा सुवास धेरै आशावादी देखिनुभयो । भन्नुभयो “निगमलाई धेरै सुधार गर्न सकिन्छ । छ महिनामा परिणाम दिन सकिन्छ । निगमभित्रका तमाम विकृति पनि हटाउन सकिन्छ । दर्जनभन्दा बढी जहाज पनि किन्न सकिन्छ । गन्तव्य पनि विस्तार गर्न सकिन्छ । नसकिने भन्ने केही पनि छैन । सबै सम्भव छ । गर्न सकिन्छ ।”

त्यो काम हामी गर्न सक्छौँ । कुराकानीको बिट मार्दै वरिष्ठ क्याप्टेन सुवासले भन्नुभयो “एउटा इतिहास बनेको परिवारको एउटा सदस्य भएकाले पनि मेरो रगतमा नै निगम छ । निगम डुबेको होइन, निगम फैलिएको हेर्ने धोको छ । किनकी मेरो परिवारको रगत पसिना नै यसका लागि बगेको छ । मेरा लागि यसको विकास र विस्तारभन्दा अरु कुनै स्वार्थ छैन ।”-Gorkhapatra online