china in 100 years

सय वर्षअघि चीनका महान् नेता माओत्सेतुङलगायत नेताले ५० जना सदस्यसहित स्थापना गरेको चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) आज विश्वको सबैभन्दा ठूलो राजनीतिक सङ्गठन बनेको छ । अहिले यस पार्टीमा नौ करोड ५० लाखभन्दा बढी सदस्य आबद्ध छन् । सन् १९२१ जुलाई १ मा स्थापना गरिएको यही पार्टीको झण्डामुनि गोलबन्द भएर चीनले अभूतपूर्व प्रगति गर्दै नयाँ चीन बनेको छ । चीन सरकारले जुलाई १ देखि पार्टी स्थापनाको शताब्दीऔँ वर्षगाँठ विविध कार्यक्रम आयोजना गरी मनाइरहेको छ ।

जुलाई १ मा राजधानी बेइजिङमा भव्य समारोहको आयोजना गरियो । पार्टीका ७० हजारभन्दा बढी सदस्य भेला भएको समारोहमा महासचिव, राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले ऐतिहासिक सम्बोधन गर्दै चीनले समृद्ध समाज निर्माणको चरण पार गरेको घोषणा गर्नुभयो । सबैको मिहिनेत तथा सङ्घर्षपश्चात् चीनले खुसियालीयुक्त समाज निर्माण पूरा गरेको बताउँदै सीले चीन अब समाजवादी आधुनिक शक्तिशाली मुलुकको रूपमा अगाडि बढिरहेको बत(ाउनुभयो ।

उहाँले चिनियाँ कम्युनिस्ट पार्टी नभएमा नयाँ चीनको स्थापना र राष्ट्रको पुनरूत्थान असम्भव भएको बताउँदै पार्टीको नेतृत्वमा सबै अडिग रहनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘‘चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व चिनियाँ विशेषतायुक्त समाजवादको आवश्यकता हो, चिनियाँ विशेषतायुक्त परिपाटी देशको जग र जीवनरक्त हो ।’’

जुलाई ६ मा चीनले विश्वभरिका राजनीतिक पार्टीहरूको सम्मेलन आयोजना गरी सबैसित मित्रता बढाउने र सहकार्य गर्ने सन्देश दियो । चीन सबैसित मिलेर शान्ति, मेलमिलाप, प्रगति र विकासको पक्षमा छ । गफ गरेर होइन असल काम गरेमात्र मुलुक बनाउन सकिन्छ भन्ने चिनियाँ मान्यता छ । चीन सरकारले देश र जनताको सुरक्षा, शान्ति, विकास र स्वाभिमानलाई उच्च प्राथमिकता दिएको छ ।

क्रान्ति गरेर सीपीसीले सत्ता लिएको हो । पार्टी तथा जनसङ्घर्षको नेतृत्व गरेका अध्यक्ष माओले सन् १९४९ को अक्टोबर १ मा तियानमेन चोकबाट जनगणतन्त्र चीनको घोषणा गर्नुभएको थियो । एउटा लामो गृहयुद्धपछि ७२ वर्षअघि यो पार्टी सत्तामा पुगेको हो । सन् १८४० को अफिम युद्धपछि चीन विस्तारै अर्धऔपनिवेशिक र अर्ध सामन्तवादी समाजमा रूपान्तरण भएको थियो । सन् १९१२ मा जननेता सन यात्सेनको नेतृत्वमा चीनमा राजतन्त्र पतन भई गणतन्त्र आयो तर समस्या समाधान भएन । गृहयुद्धले मुलुक चरम गरिबी र अभावमा रुमल्लियो । आन्तरिक र बाह्य दुवै रूपमा कमजोर भयो । माओको नेतृत्वमा क्रान्ति सफल भएपछि मात्र चीनले नयाँ गति लिएको हो । तर पनि आर्थिक क्षेत्र कमजोर थियो । माओको निधनपछि सन् १९८० को अन्त्यतिर पूर्वी युरोपमा रुमानियाबाट कम्युनिस्ट शासनको पतन सुरु भयो । त्यहाँका कम्युनिस्ट शासक निकोलाई चाउचेस्कुको दुःखद बहिर्गमन भयो । पूर्वी जर्मनीका कम्युनिस्ट शासक एरिक होनेकर सत्ता छोड्न बाध्य हुनुप¥यो । त्यही समय बर्लिनको पर्खाल ढलेर जर्मनी एकीकरण भयो ।

पोल्याण्ड, अल्बानिया, चेकोस्लोभाकिया, हङ्गेरी, युगोस्लाभियामा कम्युनिस्ट शासन ढल्दै गयो । ७४ वर्ष लामो कम्युनिस्ट शासन चलेको सोभियत सङ्घ १५ टुक्रा भयो । चीनमा पनि तियानमेन चोकमा सानो विद्रोह भयो । यी घटनाले चीनको कम्युनिस्ट शासन पनि कमजोर हुने आकलन गरिएको थियो ।

अन्तर्राष्ट्रिय परिस्थिति प्रतिकूल बनेको यो बेला उदारवादी नेता देङ सियाओ पिङ विचारलाई आत्मसात् गर्दै चीनले आफूलाई समयानुकूल रूपान्तरण ग¥यो । जसले गर्दा आज चीनमा कम्युनिस्ट शासन सफल भयो । पश्चिमी लोकतन्त्र र पुँजीवादको विकल्प बन्न सक्यो । सय वर्षसम्म विवाद र विभाजनरहित सबल पार्टी नेतृत्वकै कारण आज सीपीसीले यो सफलता हासिल गरेको हो ।

माओले सन्् १९४९ मा क्रान्ति सम्पन्न गरेपछि देङको उदय नहुँदासम्म चीनमा धेरै उतारचढाव भए । देङको उदयपछि सम्हालिएको चीनमा अहिले पार्टी र सरकारको नौ वर्षदेखि नेतृत्व गरिरहनुभएका ६९ वर्षीय सीले मुलुकलाई अग्रगति दिनुभएको छ । उहाँ माओपछिकै शक्तिशाली नेता बन्नुभएको छ । उहाँले संविधान संशोधनमार्फत् दुई कार्यकाल मात्र राष्ट्रपति बन्न पाउने व्यवस्थामा परिवर्तन गर्नुभएको छ । सीले आफ्नै नेतृत्वमा चीनलाई विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बनाउनुका साथै सैन्य र प्रविधिमा पनि अभूतपूर्व विकास गर्दै विश्वको महाशक्ति बनाउने लक्ष्य लिनुभएको छ ।

सय वर्षअघि गरिबी र चरम अभावमा पिल्सिएको चीन आज विश्वको दोस्रो आर्थिक शक्तिका रूपमा उदय भएको छ । भ्रष्टाचारविरुद्धको आक्रामक कारबाही र बीआरआई जस्तो महìवाकाङ्क्षी योजनाले सीलाई थप बलियो बनाएको छ ।

पार्टीमा यसअघि ‘माओ विचारधारा’ र ‘देङ सिद्धान्त’ मात्र अभ्यासमा थिए । अब भने पार्टी विधान र महाधिवेशनले औपचारिक मान्यता दिएको ‘सी विचारधारा’ तेस्रो सिद्धान्तको रूपमा अस्तित्वमा आएको छ । यो चिनियाँ कम्युनिस्ट पार्टीको जीवनमा तेस्रो सिद्धान्तको रूपमा रहनेछ । क्रान्ति सम्पन्न भएपछिको चीनलाई माओ युग, देङ युग र सी युग गरी तीन भागमा विभाजन गरिएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको इतिहासमा यी तीनै नेताका आ–आफ्ना योगदान छन् । माओले चीनमा कम्युनिस्ट सत्ता स्थापना गर्नुभयो । नयाँ जनवादी क्रान्ति, जनयुद्धको सैन्य रणनीति, संयुक्त मोर्चाको आवधारणा, संयुक्त जनवादी अधिनायकत्व र तेस्रो विश्वको सिद्धान्तजस्ता अवधारणा माओले क्रान्तिकालमा प्रतिपादन गर्नुभयो । त्यस्तै चिनियाँ समाजको छलाङमय समाजवादीकरण, निरन्तर क्रान्ति र सांस्कृतिक क्रान्ति जस्ता अवधारणा उहाँले क्रान्तिपछि विकास गरेका अवधारणा थिए ।

अर्का नेता देङले सांस्कृतिक क्रान्तिपछिको चीनलाई सम्हाल्नुभयो । उहाँले चिनियाँ समाज र अर्थतन्त्रको ढाँचालाई नयाँ मोड दिनुभयो । कृषि कम्युनको अन्त्य र जमिनको निजीकरण, निजी स्वामित्वलाई मान्यता, चिनियाँ विशेषतासहितको समाजवादका लागि बजार अर्थतन्त्रमा आधारित समाजवादको पक्षपोषण, सैन्य क्षमताको सामरिक अभिवृद्धि, वैदेशिक पुँजी र प्रविधिका लागि खुलापन, अर्थतन्त्रको भूमण्डलीकरण, राष्ट्रिय उद्योगहरूको विविधीकरण र उत्पादकत्व वृद्धि आदि उहाँका सुधारलाई सघाउने मुख्य नीति हुन् । चीनको वर्तमान सफलताको जग देङ नीतिका कारण सम्भव भएको हो ।

माओ र देङको पृष्ठभूमिमा सीले भने आफ्नो शासनकालमा नयाँ नारा महान् चीनको सपना दिनुभएको छ । उहाँले सन् २०५० सम्म चीनलाई संसारकै सबैभन्दा सभ्य, भव्य र समुन्नत समाजवादी राष्ट्र बनाउने र विश्वको नेतृत्व गर्ने महìवाकाङ्क्षा लिनुभएको छ । उहाँको भ्रष्टाचारविरुद्ध सख्त कारबाहीको नीति छ । सीको महìवाकाङ्क्षी परियोजना बीआरआई चीनको सीमा नाघेर छिमेक हुँदै विश्वभरि फैलिँदैछ । उहाँको निष्कर्ष के छ भने कम्युनिस्ट पार्टी रहेन भने चीन राष्ट्र नै रहने छैन, समाजवाद पनि रहने छैन ।

उहाँले महाशक्ति बन्ने यात्रालाई सहज बनाउन हङकङ र मकाउपछि ताइवानलाई चीन मूल भूमिमा फर्किन बाध्य बनाउने रणनीति अख्तियार गर्नुभएको छ । चिनियाँ विशेषता भएको समाजवादलाई नयाँ विश्व प्रणालीका रूपमा विकास गर्ने सीको योजना छ । चीनले पछिल्लो ४० वर्षको अवधिमा ७० करोड मानिसलाई गरिबीबाट मुक्त गरेको छ । सन् १९५२ मा चीनको कुल गार्हस्थ उत्पादन ६७ अर्ब ९१ करोड युआन थियो भने सन् २०२० मा २०० गुणा बढेर १५ खर्ब ९० अर्ब युआन पुगेको छ ।

जलविद्युत् क्षेत्रमा नयाँ फड्को मारेको चीनले पार्टीको शतवार्षिक अवसर पारेर १६ हजार मेगावाट विश्वको दोस्रो ठूलो जलविद्यत् आयोजना सञ्चालमा ल्याएको छ भने विश्वको सबैभन्दा अग्लो स्थान तिब्बतको ल्हासामा बुलेट रेल गुडाएको छ ।

रेड टुरिजम

सन् १९२१ को जुलाई १ मा चिनियाँ कम्युनिस्ट पार्टीको जन्म भयो । हुनान प्रान्तमा जन्मिएका महान् नेता माओले २७ वर्षको उमेरमा पार्टी स्थापना गर्नुभयो । पार्टी स्थापनाको छ वर्षपछि जनमुक्ति सेनाको गठन भयो । जनमुक्ति सेनाले जापान र तत्कालीन चीनका शासक च्याङ काइसेकका दुवै फौजसँग युद्ध लड्यो । दोस्रो विश्व युद्ध अघिसम्म जापानी र च्याङ दुवै फौजसँग लडेको जनमुक्ति सेनाले दोस्रो विश्वयुद्धपछि निर्णायक युद्ध ग¥यो । चार वर्षपछि सन् १९४९ अक्टोबर १ मा अहिलेको चीन कब्जा ग¥यो ।

बेइजिङको तियानमेन चोकमा पुगेर माओले जनवादी गणतन्त्र चीन स्थापना भएको घोषणा गर्नुभयो । कुनै बेलाको जर्जर गरिब मुलुक अहिले विश्वको दोस्रो ठूलो अर्थतन्त्रको भएको छ । चीन अमेरिकासँग टक्कर गर्ने स्तरको भएको छ । जमिनदेखि अन्तरिक्षसम्म आफ्नो प्रभाव विस्तार गर्न सफल भएको छ ।

यही ऐतिहासिहक घटनाक्रम र यससँग जोडिएका ऐतिहासिक पात्र, परिवेश, स्थानहरूको समग्र यात्रा प्याकेज नै चीनले विकास गरेको रेड टुरिजम हो । चीनका नयाँ पुस्तालाई पार्टीको इतिहास पर्यटनको माध्यमबाट चिनाउन यो प्याकेज सुरु भएको छ । पार्टीको शताब्दीऔँ वर्षगाँठमा यसको प्रवद्र्धन व्यापक भएको छ ।

माओको जन्म भएको हुनान प्रान्तको जन्मस्थान साओस्यान, चिनियाँ कम्युनिस्ट पार्टीको पहिलो अधिवेशन भएको नान्हु ताल, चीनका उदारवादी नेता देङ जन्मेको सिचुवान प्रान्तको ग्वाङएन रेड टुरिजमका गन्तव्यहरूमा पर्छन् ।

चिनियाँ जनमुक्ति सेनाले यात्रा गरेका लामा–लामा रुटहरू पनि रेड टुरिजमअन्तर्गत पर्छन् । लोकप्रिय रेड टुरिजमका सहरी गन्तव्यहरूमा बेइजिङ, नान्जिङ र साङघाई र स्पटहरूमा तियानमेन चोक, चिनियाँ राष्ट्रिय सङ्ग्रहालय, चिनियाँ कम्युनिस्ट पार्टीको प्रथम महाधिवेशनको स्मृतिगृह रहेका छन् ।

पर्यटकहरूलाई भुलाउन चिनियाँ सेनाले जापानी र च्याङ काइसेकका सेनासँग गरेको भिडन्त देखाउने नाटक, चित्रकलादेखि विभिन्न उपहार सामग्रीहरू समेत राखिएका छन् । धेरै स्पटमा बेच्नका लागि रातै रङका स्ट्रबेरीहरू राखिएको ब्लुमबर्ग क्विकटेकले भिडियो सामग्रीमार्फत देखाएको छ ।

चीनमा १०० उत्कृष्ट रेड टुरिजम रुट बनाइएको छ । यसअन्तर्गत २०० भन्दा बढी स्पट छन् । जसमध्ये ३९ स्पट मात्रै ठूला र दोस्रो तहका सहरमा छन् । अरू सबै स–सना गाउँ तथा सहरमा छन् । रेड टुरिजमको मुख्य सिजन जुन र जुलाई महिना हुन् ।

चीनमा रेड टुरिजमले सन् २०२० मा एक खर्ब ५४ अर्ब ५० करोड युआनको योगदान गरेको छ ।

मिडियाको दृष्टिमा चीन

चीनले सय वर्षको अवधिमा गरेको प्रगति र एकता विश्वकै लागि अनुकरणीय छ । चीनविरुद्धको प्रचारमा कुनै दम छैन ।
ग्लोबल टाइम्स

चिनियाँ कम्युनिस्ट पार्टीको १००औँ वर्षगाँठ भव्य रूपमा मनाइरहँदा राष्ट्रपति सी चीनफिङलाई केन्द्रबिन्दुमा राखिएको छ । सीलाई माओपछिकै शाक्तिशाली नेताका रूपमा प्रस्तुत गरिएको छ ।
सीएनएन

चिनियाँ नेतृत्वले विदेशी धम्की र चेतावनीसामु नझुक्ने आक्रामक नीतिसहित आफ्नो गन्तव्यमा लम्किने सन्देश प्रवाह गरेको छ ।
बीबीसी

चीन सरकारले सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिक समारोहमार्फत विश्वसामु आफ्नो शक्ति प्रदर्शन गरेको छ ।
रोयटर्स

चिनियाँ कम्युनिस्ट पार्टीले चीनको विकासलाई आफ्नो उपलब्धिका रूपमा चित्रित गर्दै जनताको पक्षमा काम गर्ने प्रतिबद्धता जनाएको छ ।
टाइम्स अफ इन्डिया

शब्दचित्रमा चीन
नाम : जनवादी गणतन्त्र चीन
क्षेत्रफल : ९६ लाख वर्ग किमि
जनसङ्ख्या : एक अर्ब ४१ करोड
धर्म : बौद्ध, इसाई, मुस्लिम, ताओ
औसत आयु : महिला ७८, पुरुष ७५ वर्ष
प्रतिव्यक्ति आय : १० हजार ५०० डलर