16.1 C
Kathmandu
Thursday, June 30, 2022
Homeएउटा पुरानो हिरोको कथा

एउटा पुरानो हिरोको कथा

-->

ताप्लेजुङ सदरमुकाम फुङलिङको उत्तरपट्टि विपरित दिशामा खोकलिङ भन्ने गाउँ छ । तमोर नदीले फुङलिङ र खोकलिङलाई वारिपारि बनाउँछ । फुङलिङको पाटोभन्दा खोकलिङ धेरै भिरालो भूबनोट, ६० डिग्रीभन्दा बढी भूढलोट भएको क्षेत्र हो । खोकलिङको झण्डै शीर्षस्थानमा जन्मेका, हुर्केका अम्बिका सावासँग यस लेखकको चार दशक भन्दा बढीको चिनजान हो ।

२०२५/२६ सालतिरको प्रसंग, नन्दकुमार प्रसाइँ भानु पब्लिक हाइस्कुलका प्रधानाध्यापक भएर आएपछि ताप्लेजुङको राजनीतिक मानचित्रमा एक किसिमको तिलस्मी परिवर्तन आउन थाल्यो । २०१८ सालमा सूर्यमान गुरुङको नेतृत्वमा भएको नेपाली काँग्रेसले जिल्लामा गरेको सशस्त्र विद्रोहलाई तत्कालीन शाही शासनले निर्मतापूर्वक दमन गरेपछि उत्पन्न भएको सामाजिक सन्त्रास चिर्न र राजनीतिलाई सामाजिक वर्गीय मुद्दामा उतार्न उनको आगमन एउटा आँधीबेरी नै बन्यो– खासगरी वामपन्थी राजनीतिको निम्ति ।

puranohiro

त्यसो त जिल्लामा वाम राजनीति २०१४/१५ सालतिरै प्रवेश भइसकेको थियो । बनारसमा अध्ययन गरेका र त्यहीं पुष्पलालसँग सम्पर्क भई फर्किएका व्यक्तिहरूले नै जिल्लामा वाम राजनीतिको प्रवेश गराएका हुन् ।

२०१५ साल फागुनमा दिवाकर खतिवडा, तुङ्गप्रसाद दाहाल, नन्दराम भट्टराई, यज्ञनिधि बराल, कृष्णप्रसाद दाहाल, गङ्गाप्रसाद दाहाल, प्रजापति काफ्ले, नरध्वज थापा, यमकान्त भट्टराई, लक्ष्मी अधिकारी, पोष्टबहादुर कार्कीसमेतको एक कमिटि बनेको त्यस कमिटिका सहभागीहरू नै बताउँछन् । सक्षम नेतृत्व र समन्वय अभावमा त्यसबेलाका स्थानीय वामपन्थी नेताहरु त्यसै सुस्ताइरहेका थिए, कतिपयले जिल्लै छाडिसकेका थिए ।

२०१७ सालमा राजा महेन्द्रले संसदीय प्रजातन्त्र विघटन गरेर सत्ता हत्याएपछि चलाएको दमनको श्रृंखलामा शाही शासन इतरका प्रजातान्त्रिक र वामपन्थी दुवै राजनीतिक शक्ति र राजनीति परेका थिए । २०१८ सालको विद्रोहपछि त त्यस शासनले श्रीविलास पराजुली जस्ता शान्तिपूर्ण राजनीतिका अनुयायीलाई समेत सहन नसकेर उनको निर्ममतापूर्वक हत्या गर्न समेत संकोच मानेन । न्यायशास्त्रले भन्थ्यो, यो मानवविरोधी जगन्य अपराध हो । राज्य आतंक अब दैनिक जीवन बनिसकेको थियो । केही दिन मानिस तर्सिए, दुई कदमपछि हटे तर इतिहासको पाङ्ग्रा पछि सार्न सकिँदैनथ्यो ।

पुनर्जागरण अवश्यम्भावी थियो र त्यो २०२५/२६ सालतिर सुरु भयो । यसै कालखण्डमा २०१८ सालका विद्रोहका नायक– सूर्यमान गुरुङ पनि आम माफी पाएर जिल्ला फर्किए, यद्यपि राजनीतिक लो प्रोफाइलमा रहेर । यही कालखण्डमा हामीजस्ता स्कुलका स्कुले विद्यार्थी शिक्षक मात्र नभएर अम्बिका सावा समेत वामपन्थी राजनीतिमा होमिए ।

अम्बिका सावा आफैमा संभ्रान्त थिए– ‘सुब्बा’ उनी जो थिए । राजाको निर्दलीय पञ्चायतले उनलाई जिल्ला पञ्चायतको सभापतिसमेत बनाइसकेको थियो । राजाका केन्द्रीयस्तरका लाउके र आसेपासे पनि उनलाई सम्पर्क गर्न घरसम्मै पुग्दथे । उनको मानमनितो ठूलो थियो । शाही शासनइतर राजनीतिमा लाग्नु उनीजस्तो ‘स्थापित व्यक्तित्व’ को निम्ति कम जोखिमपूर्ण काम थिएन । त्यसमाथि उनले वामपन्थी राजनीति नै रोजे । आखिर किन ?

आफ्नो वरिपरि उनी देख्थे, “साना किसानहरुको विराट समुदाय छ, हरेकजसो किसान उस्तै उस्तै अवस्थामा बाँचेका छन् तथापि उनीहरुबीच बहुआयामिक सम्बन्ध छैन । आफूले धान्दै आएको उत्पादन सम्बन्धले आफैं एकअर्कामा पारस्परिक सम्पर्कमा आउनुभन्दा अलगथलग छन् । यस अलगावलाई सञ्चारको साधनको दुरुहले झनै बोझिलो बनाएको छ । शिक्षा पहुँचबाहिर छ । गरिबीको मार त भन्नै परेन । धरानदेखि तोक्मेडाँडासम्म पन्ध्र दिन लगाएर बडेमाको दुईमनको ढाकर बोक्ने भरियाहरुको लस्कर छ ।

गिठ्ठा, भ्याकुर र कन्दमूलमा जीवन गुजार्ने मानिसहरुको ठूलै पंक्ति छ । झुत्रोझाम्रो छ । झुग्गी झोपडीमा समेत आश्रय लिन नपाउने मानिसहरुको संख्या उत्तिकै छ । औषधोमुलो झाक्रीको झारफुकमा सिमित छ । प्रशासन उसको व्यथा र संवेदनाप्रति सम्वेदनहीन छ । उत्पादनको क्षेत्र भनेको श्रमविभाजनको कुनै गुन्जायस नभएको सानो खेतीबारी हो, त्यो विज्ञान र प्रविधिको प्रयोग गर्न अपर्याप्त छ । अर्को शब्दमा त्यस खेतीबारीमा विकासको बहुआयममिकता, ज्ञानको विविधता र सामाजिक संसर्गको फाइदाको ढोकै बन्द भएको छ । हरेकजसो किसान परिवार करिबकरिब आत्मनिर्भर छ, उपभोगको अधिकांश भाग आफंै उत्पादन गर्दछ, आफ्नो जीवन निर्वाहको उपार्जनको धेरैजसो भाग समाजसँगको संसर्गबाट होइन, प्रकृतिसँगको आदानप्रदानबाट गर्छ ।

यहाँको यथार्थ भन्नु नै सानो खेतीबारी हो, त्यहाँ एउटा किसान र उसको परिवार बस्छ । सँगै सन्धिसर्पण जोडिएको अर्को सानो खेतीबारी छ, त्यसमा बसोबास गर्ने अर्को किसान र उसको परिवार छ । यस्तै किसानहरुको समूह मिलेर गाउँ बनेको छ, यस्तै गाउँ बनेर जिल्ला बनेको छ । यस्तै समान हैसियतका अंगहरु मिलेर राष्ट्र बनेको छ ।” -माक्र्सलिखित लुइस बोनापार्टको अठारौं ब्रुमेयरबाट ।

किसानहरुको यस अवस्थाको प्रभाव अर्को अर्थमा पनि छ । “…त्यस्ता किसानमा जबसम्म यस्तो एउटा स्थानीय सम्बन्धमात्रै बन्छ, जसमा उनीहरुको निजात्मक तथा आ–आफ्नै ढर्राको स्वार्थको कारणले गर्दा साझा स्वार्थ सिर्जना गर्न रोकावट पैदा हुन्छ, त्यतिबेलासम्म उनीहरुले आफ्नै छुट्टै वर्ग बनाउँदैनन् । उनीहरु आफ्नो वर्गीय स्वार्थलाई आफ्नै नाममा, चाहे त्यो संसदको माध्यममा होस् या विधि विधानको माध्यममा, उठाएर जोड्न सक्दैनन् उनीहरु परस्परमा एकअर्काको प्रतिनिधित्व पनि गर्न सक्दैनन् ।

उनीहरुको अरु कसैले प्रतिनिधित्व गरिदिनुपर्छ । त्यस्ता “प्रतिनिधि” उनीहरुका सेवक नभएर मालिकका रुपमा देखा पर्दछन् । ती आफूमा असीमित सरकारी सत्ता भएको ठानेर उनीहरुमाथि नै हुकुम छाटँ्छन् । उनीहरु आफूलाई ती विचरा किसानलाई घामपानीबाट जोगाउन माथिबाट छाता ओढाइदिएर ओत दिने औकात भएका मालिक ठान्छन् । साना किसानहरुको राजनीतिक प्रभाव त्यस्तो कार्यकारी सत्ता जन्माउन सोझै सहायक हुन्छ, जुन सत्ताको निरंकुश संकल्पको बलिवेदीमा आफ्नो साझा सम्बृद्धिको बलि चढाउनुपर्ने हुन्छ ।” -माक्र्सलिखित लुइस बोनापार्टको अठारौं ब्रुमेयरबाटै ।

अम्बिका सावाले ती तीनै कुरा देखेका थिए– मुक्तिको जायज कामना गर्ने तर वर्गीयरुपमा असंगठित किसान, उनीहरुका “प्रतिनिधि” र त्यस आधारमा बनेको निरंकुश शाही सत्ता । यो देखेर उनी दिक्दार थिए । उनी जनमुक्तिको विकल्पको खोजीमा भौतारी रहेका थिए । त्यस्तो विकल्प वामपन्थले दिन्थ्यो र माक्र्सवाद र माक्र्सवादी समाजवादले दिन्थ्यो ।

शाही सत्ता “क्रान्तिकारी किसानको होइन, रुढिबादी किसानको प्रतिनिधित्व गर्दथ्यो । त्यसले आफ्ना निजी आर्थिक अवस्थाभन्दा माथि उठेर दबाब दिने किसानको होइन आफ्नो सानो खेतबारीमा रमाउने किसानको प्रतिनिधित्व गर्दथ्यो, आफुमा अन्तरनिहित ऊर्जाको कारणले सहरसँग मिलेर पुरानो सत्तालाई उखेल्न चाहने ग्रामीण आवादीको होइन, त्यसको विपरित पुरानै शासन व्यवस्थासँग जडवत् टाँसिन चाहने र शाहीसत्ताको भुतले आफु र आफ्नो सानो कोठेबारीलाई जोगाइदेओस् भन्ने आकांक्षा राख्ने ग्रामिण आवादीको प्रतिनिधित्व गर्दथ्यो, त्यसले किसानको बुद्धिमत्ताको होइन अन्धविश्वासको, आफ्नो विवेकपूर्ण मूल्यांकनको होइन पुर्वाग्रहको, भविष्यको होइन अतितको प्रतिनिधित्व गर्दथ्यो ।” -माक्र्सलिखित लुइस बोनापार्टको अठारौं ब्रुमेयरबाटै ।

त्यस सत्ताले स्थानीय साहु महाजनलाई त आफ्नो वक्षस्थलमा राखेकै थियो । ऊसँग आफ्नो रक्षा कवचको निम्ति नोकरशाहीतन्त्रको एक विराट र विकासशील सञ्जाल छँदै थियो । बाहिरी दुनियाबाट अभयदान पाउन उ उनीहरुको लोलोपोतो लाउन खप्पिस मात्र थिएन, आफ्नो निरंकुश सत्तालाई स्थानीय हावापानी माटो सुहाउँदो भनेर आफै पगरी गुँथेर धुम्रावरणमा राख्न पनि सक्थ्यो ।

अम्बिका सावा किसानहरुको उक्त हालत र सत्ताको त्यो विद्रुप स्वरुप देखेर बेचैन थिए र उनी उनीहरुको क्रान्तिकारी जागरणको पक्षमा थिए । सत्ताको बारेमा त त्यो न उनको नीतिशास्त्र अनुरुप नै थियो, न उनको न्यायशास्त्रले नै त्यसलाई जायजै ठह¥याउँथ्यो । बस, माक्र्सवादी वामपन्थले उनको बेचैन मत्थर बनाउँथ्यो ।

२०२७ सालमा मोहनचन्द्र अधिकारीको टोली ‘क्रान्तिकारी वामपन्थ’ को सम्भावनाको सर्वेक्षण गर्दै भूमिगत रुपमा ताप्लेजुङ्ग आइपुग्यो र सावाकै घरमा डेराडण्डा जमायो । सावाले त्यस टोलीको खुव खातिरदारी गरे, मिठो मसिनो ख्वाए र उनीहरुको विकल्प ध्यानपूर्वक सुने । उनीहरुको क्रान्तिकारी स्पिरिटलाई सलाम ठोके र गुम्न थाले, “अँ भाइ ! उनीहरुमा दम छ, मिसनप्रति निष्ठा छ ।”
अन्ततः झापा विद्रोह विष्फोट भयो र त्यो “चिनगारी” यत्रतत्र फैलियो । उनी फेरि गम्न थाले, “अँ भाइ ! भन्न त भन्थे उनीहरु जे भन्थे त्यही गरी देखाइदिए, कथनी र करनीमा कुनै कुटनीति छैन उनीहरुको।”

उनमा झापाली रुझान कसिँदै जान थाल्यो । उनका गतिविधि र झुकावबाट वाकिफ स्थानीय सत्ताले उनलाई २०२८ सालको उत्तरार्धतिर एक निर्जन ठाउँ घुन्सामा लामै समयसम्म निर्वासनमा राखिदियो । प्रहरी पहरामा उनी र काजी श्रेष्ठलाई त्यता लग्दै गर्दा लेखकले आफ्नै घर अगाडि उनलाई एक स्वाभिमान नायकको रुपमा देखेको हो ।

जिल्लामा झापा विद्रोहका सम्पर्क सुत्र थिए कृष्ण गिरी । जो सावाको घरमुनिको मोती हाइस्कुलमा अध्यापन गर्थे । यो मोती स्कुल सावाकै मानसपुत्र भने हुन्छ जहाँ यो लेखक पनि सहअध्यापन गर्दथ्यो । गिरी एक थान दस्तावेज सुटुक्क अम्बिकाकहाँ पु¥याउँथे, अम्बिका त्यसलाई रातभरि पढ्थे । भोलिपल्ट स्कुल झर्थे र भावुक र गम्भीर मुद्रामा भन्थे, “केटाहरुले गर्लान् जस्तो छ ।”

त्यस आन्दोलनप्रति सहानुभूति राख्दै उनी खुसुक्क भनिरहेका हुन्थे, “…सँग सतर्क रहनु है ।” उनले आफ्नो जीवनभर क्रान्तिकारी वामपन्थको समर्थन गरे र त्यसको अनुसरण गर्ने कोशिश गरे ।

उनको यस राजनीतिक परिवर्तनले सिद्धान्तसँगको ओठेभक्तिमा होइन कि निजात्मक जीवनमै ठूलो परिवर्तन ल्याइदियो । आखिर बुद्धले पनि आफ्नो विश्वासको खोजीमा राजसिंहासन नै छोडिदिए । सावाले त्यति त गर्नु परेन । परन्तु यो सम्भ्रान्त सुब्बा भिरपाखा जान्थ्यो, दाउरा घाँस काट्थ्यो, आफै मरिकुच्च भारी बोकेर फर्किन्थ्यो र गाई भैसीलाइ घाँस पराल गर्दथ्यो, आफै दुध दुहुन्थ्यो, आफै चिया खाना तयार गरेर परिवार र पाहुनालाई बाँड्थ्यो । खेतीवारीमा निस्कन्थ्यो र आफै हलोकोदालो गर्दथ्यो । उ अक्सर भावुक रहन्थ्यो र जीवनबाट सिद्धान्त र निष्ठा संप्रेषण गर्दथ्यो । यस्तो थियो हाम्रो जमानाको नायकको दैनिकी ।

उनले आफ्नै जीवनमा राजाको हुकुमी शासनको अन्त्य देखे । संसदीय प्रजातन्त्र अनुभव गरे । त्यसो त आफ्नै घरमा लुकेर क्रान्तिकारी वामपन्थको रणनीतिक योजनाको बेलीविस्तार लगाउने मोहनचन्द्र अधिकारीलाई सत्रवर्षको कारावासपछि संसदमा देखे, उनको पार्टीले सरकारै हाकेको पनि देखे र आफंै मन्त्री भए । फेरि पनि उनको ध्यान आफ्नै वरिपरिको परिवेशमा थियो । उनी जाँच्न चाहन्थे त्यसले के परिवर्तन ल्यायो त ? त्यसले “राज्यको भ्रम–जालोलाई च्यातेर एकथरी किसानलाई त मुक्त ग¥यो” र सतही रुपमा भए पनि उनीहरुलाई क्रान्तिकरण ग¥यो । स्कुलका शिक्षक, विद्यार्थी र दलीय स्वतन्त्रताभित्रका राजनैतिक कार्यकर्ताहरुसँगको त्यस्ता मुक्त किसानहरुको हातेमालो देखेर उनी फुरुङ्ग हुन्थे र उत्साहित हुन्थे । तर जनमुक्तिको दुसाध्य काम अझै बाँकी थियो, यात्रा धेरै लामो थियो । त्यसमाथि राजनीतिको बुर्जुवाकरण भएको देख्दा उनी मुरमुरिन्थे पनि । वामपन्थीहरुको निम्ति अन्तर्राष्ट्रिय परिस्थिति त्यति अनुकुल थिएन । भुराजनीतिका आफ्नै दवाव थिए, सोभियतसंघको विघटन पछि त वामपन्थ रक्षात्मक बनी सकेको थियो । बुर्जुवाहरु चतुर थिए र राजालाई सम्वैधानिक बनाएपछि तिनीहरु ठान्दथे, राज्य तिनीहरुको विर्ता हो ।
माओवादीहरु किसानहरुमा आएको क्रान्तिकरणको उपयोग गर्दै ‘‘जनयुद्ध’’मा उत्रिए । स्थापित वामपन्थ सत्ताको अतिरञ्जनामा अलमलिन पुग्यो । राजतन्त्र क्रमश ‘‘संवैधानिकता’’ भन्दा माथिको भूमिकाको दाउमा थियो । अन्ततः राजाले राज्य विप्लवबाट निरंकुश राजतन्त्र पुनर्जीवित गरी छाडे । परन्तु यतिबेलासम्मको सामाजिक राजनीतिक सन्तुलनले निरंकुश राजतन्त्रलाई धान्ने आधार दिँदैनथ्यो र अन्ततः ऐतिहासिक जनआन्दोलनको बलमा राजतन्त्र स्वयम् गल्र्यामगुर्लुम्म ढल्न पुग्यो, तासको घर ढलेझैं । त्यस जनक्रान्तिको समायोजनमा अम्बिका सावाको प्रत्यक्ष भरथेग पनि थियो । यसरी अम्बिका सावाले राजतन्त्रको पतन पनि आफ्नै नजर अगाडि देखे । तर, उनले जनक्रान्ति खासगरी गणतन्त्रको संरचना र व्यवस्थापन भने देख्न पाएनन् । सम्भवतः उनी परलोकमा पनि त्यसको संगतिपूर्ण निष्पतिमा ढुक्क होलान् र त्यसको निम्ति राजनैतिक नेतृत्वको बूता र विवेकमा आलोचनात्मक विश्वास राखेका होलान् ।
म बेजिङमै थिए, ऊ दिन मैले उनको परलोक भएको खबर पाए । त्यो खबर मेरा लागि बिजुलीको झट्का जस्तो भयो । म हत्प्रद भए । यति खेरसम्म मैले आफ्नो एक हितैषी अभिभावक गुमाइसकेको थिएँ । वाम आन्दोलनको एक सहयात्री अब यस इहलोकमा थिएनन् । राजनीतिलाई निजात्मक लाभ र मान प्रतिष्ठाको निम्ति होइन वृहत्तर सामाजिक मिसनमा प्रतिबद्ध एक गतिशील, हाम्रो जमानाको नायक पञ्चभूतमा बिलाइसकेको थियो । वियोगमा तमोर सुस्ताइरहेको थियो र मेवाखोला आँसु बगाइरहेको थियो । संक्रमणकालमा अक्सर देखापर्ने चुनौती, सामाजिक अस्थिरता र अशान्तिका झलकहरुका अगाडि सम्झिरहँदा उनी जोन लेननमा कतै प्रतिध्वनित भइरहेका थिए,

कल्प त, सबै मानिस जिइरहेका होउन् शान्तिमा
तिमी भनौला, म स्वप्नद्रष्टा हुँ,
तर, म मात्रै एक्लो हुँइन
आशा छ, कुनै दिन तिमी हामीसँगै सामेल हुनेछौ
अनि दुनियाँ एक ढिक्को हुनेछ ।

फेरि आफैलाई थमथमाए ‘‘धन्दा नमान, हामी धेरै, र हामी पछि पनि अरु धेरै तिम्रो सपनाको अनुसरण गर्ने छौ । तिम्रो प्रयाणमा हाम्रो यही श्रद्धा सुमन छ । कमरेड सावा ! अलविदा ।’’

मौसम:

budhanilkantha-temple

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

0
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यस्तता र दौडधूपमा समय बित्नेछ, उता व्ययभार बढ्ने दिन भएकाले तालसाँचो र राखनधरनमा सतर्कता...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -